सभा–समारोहमा कतै नधाउने, अन्तर्वार्ता दिएर सस्तो लोकप्रियता नखोज्ने, चाप्लुसी गर्न नजान्ने, खह्रो मिजासका साहित्यिक महारथी थिए वासुदेव शर्मा लुइँटेल। हाल उनी हाम्रा माझ छैनन्। २०६३ भाद्र २५ गते उनी दिवंगत भएका हुन्।
‘भूतको भिनाजू’ डरलाग्दो अड्बा·े नामका स्रष्टा वासुदेव माड्साहेबले थुप्रै साहित्यिक मित्रहरूलाई पनि नाम जुराइदिएका छन्। अनौठो स्वाभावका अड्बा·ेजस्तो व्यवहार गरेर पनि मनमा पाप नसोच्ने उनको स्वभाव र व्यवहारले गर्दा उनलाई कसैले दुश्मन सोचेर व्यवहार गरेको देखिँदैन। भूतको भिनाजू आफैं भएर पनि २००६ सालमा नै ‘भूत छैन’ भनी पुस्तक प्रकाशित गर्ने उनले थुप्रै नाउँमा चिठी चपेटा लेखेका छन्।…बाट के–के सिकेका, भोगेका सन्दर्भ व्यक्त गरेका छन्। …बाटको बाँकी कुरा निर्भिकतापूर्वक पोखेका छन्। व्यक्तिगत चिठी लेखेर व्यवहारका खरा कुराहरू आफ्ना मान्छेहरूलाई भनेका छन् र आफूसँग बाँकी रहेका चिठीपत्र, टुक्रा–टाक्री, लेख–रचना निमन्त्रणा, टिपन, चिनारी, सोरसार गरी पुस्तक छपाएका छन्।
नैकापे काकाका नामले पनि प्रख्यात उनले कौवा प्रकाशन, सङ्ग्रह प्रकाशन, हाम्रो प्रकाशन, भैरव प्रकाशन, ढु·ा अड्डा प्रकाशन, नयाँ नैकाप भन्ज्या· प्रकाशन र तेत्तीस पुतली प्रकाशनबाट मात्र पुस्तकहरू प्रकाशित गराएका छैनन् अपितु आर्थिक रूपले कमजोर लेखकहरूका पुस्तक प्रकाशित गर्नेदेखि साहित्यिक सङ्घसंस्थालाई आर्थिक सहयोग जुटाइदिएर सहयोग गरेका छन्। पण्डित सोमनाथ सिग्द्यालजस्ता विद्वान् साहित्यकार, बालकृष्ण समजस्ता साहित्यकार, गोरखापत्र छापाखानाको पण्डित पद र मदन पुरस्कार गुठीजस्ता साहित्यिक संस्थाबाट नै साहित्यिक क्षेत्रमा प्रवेश गर्न प्रेरणा पाएको सन्दर्भ उनी सुनाउने गर्थे। उनले भैरव–वासुदेव छात्रवृत्ति, जानकी–नन्दी गाउँसेवा छात्रवृत्ति, वासुदेव शान्ति विद्यावारिधि विद्यावृत्ति र वासुदेव लुइँटेलजस्ता पुरस्कार र वृत्तिहरू स्थापना गरेको देखिन्छ। २१ वर्षसम्म शिक्षणसेवा गरेर, ४७ वर्षसम्म जागिरे भएर पनि विभिन्न ढङ्गको साहित्यिक सेवा पुर्याएर गएको देखिन्छ। प्रकाशक र सम्पादकमा पनि नाम चलाएका उनको फोटो खिच्ने र टेप गर्ने, जीवनी साहित्य र हास्यब्यङ्ग्य लेखन गर्ने रुचि र अम्मल देखेर सबैजसो छक्क पर्ने गर्छन्।
वि.सं. २००४ सालतिर सैय्यादान को लिन्छ ? भन्ने लेख गोरखापत्रमा छपाएर हास्यव्यङ्ग्य साहित्यमा उनले प्रवेश गरेका थिए। व्यक्तिगत चिठी नामको पुस्तकमा उनले भाइको नाममा छोरालाई यसरी आफ्नो भनाइ पोखेका छन्– ‘भाइ ⁄ मैले आफ्नो निम्ति जे गर्नुपर्ने धर्मकर्म, काजकिरिया सब गरिसकेको छु। त्यसमा तिमीले थपथाप गर्नै पर्दैन, म बाँचुन्जेल मात्र होइन म मरेपपछि पनि। म बिरामी हुँदाचाहिँ दुईवटा कुरा विचार गर्नू। मलाई लागेको रोग निको नहुने खालको रहेछ भने कुनै पनि औषधि नगर्नू। औषधि गर्दा निको हुन्छ तर सद्दे भएर पनि कुनै काम कुराको निम्ति लायक हुन्न भने पनि औषधि गर्नुपर्दैन। बाँचेको प्रमाण मात्र देखाउनु मलाई मन छैन।’
वासुदेव शर्मा लुइँटेलको जन्म वि.सं. १९७४ भदौ २३ गते ढु·ाअड्डा, काठमाडौंमा भएको थियो। दुईटै श्रीमती जानकी र शान्तिले छाडेर गए तापनि आफ्नो जीवन उत्सर्गहरू बाँड्न सिपालु उनले छोरा–बुहारीका साथै छोरीहरू, नाति–नातिनीहरूबाट माया र हेरचाह जीवनकालमा पाएको देखिन्छ। वि.सं. १९९७ सालको शारदामा आमा कविता सर्वप्रथम प्रकाशित गराएर साहित्यमा देखा परेका उनका मौलिक कृतिहरूमा भूत छैन, चिठी चपेटा, भीमसेनपाती, जय नेपाल, …बाट, काकाको कुरा, कुराउनी, व्यक्तिगत चिठी प्रकाशित छन्। उनले लेखेका धेरै कुराहरू अति उपयोगी दृष्टान्तहरू हुन्। जस्तै– खाँदा होस हराउने चीजबीज नखाऊ, लाउँदा भड्किलो देखिने गरेर केही पनि नलाऊ, काम गर्दा इमानदारी मेहनतका साथ गर्ने गर, ज्याला लिँदा चलनचल्तीअनुसार लेऊ आदि।
तीनधारा पाठशालामा अध्ययन गरेका उनले नेपाली भाषा प्रकाशिनी समिति, गोरखापत्र छापाखाना, जुद्धोदय पब्लिक हाइस्कुल, कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, रात्रि पाठशाला हाइस्कुल नक्साल, जगदम्बा प्रकाशन, नेपाल टाइप फाउन्ड्री, जगदम्बा गुठी, जगदम्बा प्रेस प्रा.लि., मदन पुरस्कार गुठीमा पण्डित, शिक्षक, दोस्रो हाकिम, जनरल म्यानेजर, आन्तरिक लेखापरीक्षक, प्रमुख व्यवस्थापक र कारिन्दादेखि कार्यालय सचिवसम्म रहेर सेवा पुर्याएर गएको देखिन्छ।
भूतको भिनाजू नाम रहेकाले मात्र होइन उनको चालढाल, बानी व्यहोरा, बोलीबचनले पनि उनी अनौठो मान्छे भन्न सुहाउँदा किसिमका छन्। उनको सिर्जना, समर्पण र भावभ·ीमा हेरेर उनकै सन्दर्भमा थुप्रैले आ–आफ्नै ढ·को करिब एक दर्जन पुस्तक–पुस्तिका लेखेर उनलाई समर्पण गरेका छन्। उनले भर्तृहरिको वैराग्यशतक र नीतिशतक पुस्तकको संस्कृत भाषाबाट नेपालीमा उल्था गरेर आफ्नो अनुवादकला पनि देखाएर गएका छन्। नेपाली भाषा र साहित्यका साधक, हास्यव्यङ्ग्य विधाका मर्मज्ञ सारथी, योग्य समाजोन्मुख अभिभावक, साहित्यकारहरूकै सहयोगी वासुदेव शर्मा लुइँटेलले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कम गौरवपूर्ण छैनन्। अरूको कल्याणमा खर्च गरेर आनन्द लिने उनको स्वभावले बताउँछ, उनको क्रियाकलापमा स्वार्थ छैन। सहयोग गर्न पाएपछि हुरुक्कै हुने वासुदेव माड्साहेब आधुनिक दधिची अर्थात् कलियुगकै दधिची हुन्। हास्यव्यङ्ग्य क्षेत्रका विविध विधाका लागि ठूलो राशिको पुरस्कार राखेर गएका यिनी हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष पनि हुन्।
-मोहन दुवाल