रेमिट्यान्सको लड्डूूले
हृष्टपुष्ट लाग्ने लालबावुहरु !
डी.भी. र पी.आर.का हल्लाहरु,
निजामती हप्कीदप्की
र फेरि हल्लाहरुकै सिरक ओढेर निदाउने आदतमा
तिमीहरुलाई बिझाउँदैनन् ? करङहरु पियन र कुल्लीहरुका ?
लाईनका लाईन
हरियो पासपोर्टमा डिपार्टचर हानेर
दिनका दिन बाकसभित्रका लाश गन्ने
आदत वसेका लालबावुहरु
के जिउँदै देश फर्कनु अपराध हो ?
आत्महत्या गर्न भासिएका होइनौैं हामी
खाडी, मलेशिया, यूरोप, अमेरिकातिर ।
त्यो हिमालको हावामा
त्यो तराईको फाँटमा
त्यो पहाडको फेदमा
हाम्रो पनि अधिकार छ
र अधिकार छ
सिँहदरवार र बालुवाटारमा पनि
त्यसैले हामी फर्किन्छौं लालबावु !
हामी लादिएका छौं र त
तिम्रो पजेरो चलेको छ
हामी खाडी र चुलाजुठेल्नामा बलेका छौं र त
बालुुवाटारमा भोज चलेको छ
बरु एउटा हात मेशीनतिरै छोडेर भएपनि
यो जवानी बालुवामै सुुकाएरै भएपनि
वा कारगिल, अफगान, इराकतिरबाट
बालबाल ज्यान जोगाएर भएपनि
अन्तिम श्वास फेर्न त देशमै फर्कन्छौं
बरु जिउँदाहरु फर्कदा
नमीठो लाग्ला—
तिम्रा आँखाहरुलाई
बाकसहरु गन्ने आदतहरुलाई ।
तरपनि महाशय !
हामी त फर्कन्छौं फर्कन्छौं
आफनो माटोमा फर्कने
अनुमतिपत्र हामी आफैसँग छ
किनकि देश
सरुवा, बर्खासी र बन्देज लगाउने
गुटको उपहारमा प्राप्त
सामान्य प्रशासन मन्त्रालय होइन
लालबावुु महोदय !
— दीपेन्द्र के.सी.
बागलुुङ, हाल लुभेन बेल्जियम ।