सेन्गेन देशहरूबीच सीमा जाँचको अनुमति

passport checkसेन्गेन संधिमा हस्ताक्षर गरेका देशहरूलाइ युरोपेली संसदले सीमा जाँचको अनुमति दिने पक्षमा मतदान गरेको छ । सेन्गेन संधिले युरोपेली देशहरूबीच भिसा कन्ट्रोल हटाउँदै सेन्गेन नागरीकहरूको स्वतन्त्र आवातजावतको अधिकार प्रत्याभूति गरेको थियो । जसले गर्दा नेपाल जस्ता गैर युरोपेली देशका नागरिकहरू समेत एक सेन्गेन देशको भिसा लिएर निर्वाध अर्को सेन्गेन देशमा जान सक्दथे ।
सीमा क्षेत्रमा अपराध बढेको र एक देशमा अपराध गरेर अपराधीहरू अर्को देशमा जाँदा प्रहरी अनुसन्धान जटिल भएको भनी केही सेन्गेन देशहरूले सीमा नियन्त्रणमा सहज नियमको माग गरेका थिए ।
भविष्यमा हुने यस्तो सीमा जाँच सदाबहार नभइ एक सीमित अवधिको लागि मात्र हुनुपर्ने र यूरोपेली कमिशनबाट अनुमति लिनुपर्ने प्रावधान राखिएको छ ।
सन् १९९५ देखि सेन्गेन संधि लागू गरिएको हो । सेन्गेन संधिमा यूरोपेली संघका सदस्य राष्ट्रहरू आयरल्याण्ड र यु. के. सँलग्न छैनन् भने गैर-यूरोपेली संघका राष्ट्रहरू, आइसलैंड, नर्वे र स्विजरल्याण्ड सामेल छन् ।