एन. आर. एन. मा चुनावी अभियान

NRN Closing Sessionगैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन, आइसीसी) को आगामी अक्टोबर १९ र २० मा हुने छैटौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि प्रवासका चर्चित अनुहारहरूको लेखाजोखा शुरू भएको छ ।
पछिल्लो दशकमा एनआरएनले देशभित्र र बाहिर तरङ्ग ल्याएको छ र यसलाई धेरैले आशाको नजरले हेरेका छन् । तर ‘जहाँ गए पनि नेपालीको बानी नजाने’ भन्ने कहावत चरितार्थ गर्दै पछिल्ला वर्षहरूमा एनआरएनमा चर्को राजनीतिक मिसावट र चलखेल बढेको छ ।
एनआरएनका राष्ट्रिय कमिटीहरू ६५ देशमा सँगठित छन् । बिडम्बना, जहाँ जहाँ नेपालीहरूको घनत्व छ त्यहाँ राजनीतिक लुछाचुँडी बढ्दो छ । आइसीसी निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय कमिटीको निर्वाचन हुँदैछन् । नेपालीहरूको घनत्व भएका प्रायः सबै देशहरूमा राजनीतिक प्यानलका आधारमा प्रतिस्पर्धा हुँदैछ । यसले गर्दा डायस्पोराको आवाज बुलन्द गर्नेभन्दा राजनीतिक पकड गर्ने स्वार्थले गाँजेको छ । फलस्वरूप एनआरएन आन्दोलनको सुन्दर पहिरनमा कुरूप दागहरू देखिएका छन् । एनआरएन अभियानको प्रभावकारिता खुकुलो बन्न लागेको छ ।
डायस्पोराका सबै नेपालीहरूको प्रतिनिधि सँस्थाका रूपमा हेरिने एनआरएन एक हदसम्म सफल छ तर चुस्त बन्न सकेको छैन । जुन तालमा बजाए पनि हुने डम्फू बनेको छ । जसले गर्दा क्रमिक रूपमा यो सँस्था विराट तर अस्पष्ट बन्दै गएको छ । सँस्थालाई विशिष्ट र सुव्यक्त गर्न कुशल नेतृत्वको निरन्तरता समयको माग बनेको छ ।
नेतृत्वको सवाल कति महत्वपूर्ण छ भन्ने कुरा उपेन्द्र महतोबाट देवमान हिराचनमा अध्यक्षता सर्दा एनआरएनको साखमा देखिएको भिन्नताले प्रष्ट पारिसकेको छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने छैटौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि अस्ट्रेलिया निवासी शेष घलेले उम्मेद्वारी दिने चर्चाले एनआरएन निर्वाचन ‘हेभिवेट’हरूको चाखको विषय बनेको छर्लङ्ग भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पदाधिकारीहरुको भेलामा आगामी कार्यकालको लागि उम्मेद्वारी दिने विषयमा घलेले इच्छा देखाएको त्यहाँका अध्यक्ष गणेश केसीले सार्वजनिक गरेका छन् । अस्ट्रेलियाका दुई सय जना धनाढ्यहरूको सूचिमा विगत केही वर्षहरूदेखि सूचिकृत घले एनआरएन अभियानमा चिनिएको व्यक्तित्व नभए पनि प्रवासी नेपालीहरूबीच चर्चित अनुहार भने हो ।
घलेले एनआरएन युरोपको जुन २२ र २३ मा स्विजरल्याण्डको ज्युरिचमा हुने बैठकमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ । अहिले, सबैमा एनआरएन युरोपको बैठकमा के होला भन्ने जिज्ञासाले खुल्दुली बढाएको छ । एक थरि
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र वर्तमान अध्यक्ष जीवा लामिछानेको ‘लेगेसी’ थाम्न घले उपयुक्त पात्र भएको ठान्दछन् । अर्काथरि भने एनआरएनएमा एक कार्यकाल समेत काम नगरेका घलेलाई नेतृत्व दिँदा संगठनमा लामो समयसम्म काम गरेका माथि अन्याय र एनआरएन व्यापारीको मात्र संगठन मात्र हो भन्ने आरोपलाई थप बल मिल्ने सोच्दछन् । घले एक मात्र उम्मेदवार भने होइनन् ।

एनआरएनएका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि अध्यक्ष पदको दावेदारका रुपमा देखिँदै आएका छन् । थापा आफ्नो लामो अनुभव र योगदानका आधारमा नेतृत्व आफूले पाउनुपर्ने विचार राख्छन् । त्यस्तै अध्यक्ष पदका अर्का दावेदार अवकाशप्राप्त क्याप्टेन, उपाध्यक्ष हितमान गुरुङ पनि हुन् । उनले उमेदवारीको घोषणा गरीसकेका छन् ।
संरक्षक रहेका भिम उदास पनि चर्चाको नाम हो । अर्का उपाध्यक्ष रामेश्वर साह पनि अध्यक्षको आकांक्षी भए पनि उनी स्थायी रुपमा नेपाल फर्कि सकेकाले नैतिक तथा वैधानिक प्रश्न उब्जिएको छ । उनी हाल गैरआवासीय नेपालीहरुको सामूहिक लगानीबाट सुरु गरिएको जलविद्युत परियोजनाको निर्देशकका रुपमा नेपाल मै कार्यरत छन् ।
यी चर्चामा आएका नामहरूमा सहमति हुन नसके वर्तमान अध्यक्ष जीवा लामिछानेलाई अर्को कार्यकालका लागि वातावरण बन्न पनि सक्छ । यद्यपि, लामिछानेले दोस्रो कार्यकालका लागि इच्छा देखाएका छैनन् ।
जे होस्, अक्टोबरमा हुने आइसीसी सम्मेलनको पूर्वाद्धमा यसै महिना स्विजरल्याण्डमा हुने युरोप भेलामा ठुलै कसरत हुने निश्चित छ । स्विस भेलाले नयाँ तरङ्ग ल्याउने छ । सबैले बुझ्नुपर्ने कुरा, नेतृत्व हत्याउने भन्दा पनि एनआरएनको साखको निरन्तरता अहिलेको अहम् प्रश्न छ ।