पाताल प्रवासमा बस्ने नेपालीहरूको संख्या बढ्दै जाँदा साहित्यमा पनि उनीहरूकको योगदान बढ्दै गएको छ । अमेरिका, युरोप, अस्ट्रेलिया र जापानतिर बस्नेहरूको साहित्यिक नयाँ सिर्जना महिनैपिच्छे देखिन थालेका छन् । यसरी लेखिने समुन्द्रपारको प्रवासी साहित्यमा ( अर्थात् चलनचल्तीमा भनिने डायस्पोरिक साहित्यमा) ‘देश फर्कने’ मिथले अत्यधिक भाउ पाएको देखिन्छ । मानौं की, हरेक प्रवासीको आत्मामा देश फर्कन्छु भन्ने प्रबल भावना छ। त्यो नै स्थायी भाव हो । बाँकी सबै तपसीलका अस्थायी कुरा हुन् ।
प्रवासी लेखनमा करूण रसमा लेखिएका यो सेन्टीमेन्ट प्रवासी लेखकहरू वा प्रवासी सेरोफेरोका पात्रहरूको केवल एउटै धुकधुकी हो ? वा, बिरानो मुलुकमा रहँदाको फगत् रून्चे विलाप ?
मैले पछिल्ला ५/१० वर्षमा थ्रुप्रै प्रवासी लेखनहरू पढेँ । प्रायशः लेखकहरूमा एउटै समानता पाएँ- हरेक आप्रवासी नेपाली विदेशमा खुशी छैन, बाध्यताले प्रवासिएको हो, र मौका पाउने बित्तिकै फर्कन्छु भन्ने मनोभाव पालेर बसेको छ । अक्षरमा पोखिँदा उनीहरू यस्तै लेख्छन् । तर, दोहोरो कुरा गर्दा ?
एक दुई दशक बिताइसकेका यीनै लेखकहरूसँग उनीहरूको फर्कने प्लानका बारेमा सोध्यो भने उत्तर हुन्छ- गोलमोटल ।
उनीहरू भावनाका कुरा गर्छन् । साहित्यिक मनहरू कोमल हुन्छ भन्छन् । उनीहरू त्यही कोमलतामा कुरा गर्छन् । कोमलताका लुटपुटे कुरा ! जस्तो की, धेरैको एउटै कथ्य हुन्छ- केही वर्षमा फर्कने मनमा थियो, तर …!
कसैको केही पैसा कमाएर फर्कने विचार थियो होला, कसैको कुनै डिग्री धारण गरेर फर्कने विचार थियो होला, कसैको देशमा बिताएको रोमान्टिक मेमोरीले खिँचिरहेको मनमा थियो होला । तर पैसा कमाइसकेपछि पनि, वा पढाइ सम्पन्न गरी सकेपछि पनि, वा पैसा र प्रज्ञाबाहेक स्वदेश फर्कने उसका अन्य पुर्वाधार पुरा भएपछि पनि, त्यो पिन्चे लेखक विदेशी भूमितिरै बरालीरहेको हुन्छ । बेलाबखत ऊ तिर्थयात्रामा मातृदेश त जान्छ, तर गुनासोको पोको बोकेर फर्कन्छ । तैपनि, लेखनमा चाहिँ ऊ मातृभूमिको माया मै मायावी चिल्लाहटको मुर्छना गरिरहन्छ ।
मातृभूमिको माया वा लालसा आप्रवासीहरको स्वाभाविक चरित्र हो । यस्तै पृष्ठभूमिहरूमा लेखकका पात्रहरू हराइरहेका हुन्छन् । कविता होस् की गजल, छोटा होस् की लामा आख्यान वा मनोवादको ब्याख्यान- डायस्पोरिक सर्जकहरूको सिर्जना रून्चेपिन्चे नै हुन्छन् । यसैले होला, कतिपय विद्वानहरूले डायस्पोरिक लेखनलाई भूतकालको रोइलो पनि भनेका छन् । स्वभावतः डायस्पोरिक लेखनको एक महत्त्वपूर्ण पक्ष विगतको वेदना नै हो । तर, सबैका सबैथरि लेखन जति पल्टाए पनि यही वेदना र रोदन मात्रै हुनु चाहिँ अचाक्ली हो की !
उनीहरको कथाको चित्रणमा त्यो पहिलो पुस्ताको आप्रवासी करूण क्रन्दनको बर्चस्व हुनु समसामयीक डापस्पोरिक साहित्यको सीमितता हो । डायस्पोरिक लेखन भनेको देश फर्कने मिथ मै अल्झीरहने हो सधैँ ? सायद पाठकहरू रून्चे विलाप भन्दा धेरै चाहन्छन् अब ।
हो, डायस्पोरिक साहित्य नोस्टाल्जिक भावनाले ओतप्रोत हुन्छ । त्यो स्वाभाविक हो । तर डायस्पोरिक वा प्रवासी नेपाली साहित्यमा पाइने अस्वाभाविकता के हो भने ति सबैजसो नोस्टाल्जिक लोलोपोतो मै भुलेका छन् । आत्मगुनासोले भक्कानिइरहेका छन् । ती सबै उही रोदन र द्वन्द्वको एउटै दुःखद कथा विविध कोणबाट लेखीरहेका छन् । अर्काको देशमा खुशामदसँग बस्नेहरू पनि छाती पिटी पिटी मेरै देश राम्रो भनेर विरोधाभासको रून्चे भाका हालीरहेका छन् ।
समकालिन नेपाली प्रवासी/डायस्पोरिक साहित्यको समस्या नै यो छ की ओल्टाइपल्टाइ नोस्टाल्जिक रोइलो हुने गरेको छ । साहित्यका विधिध रसहरूको समायोजन खै ? कथाका विविध पाटाहरूको प्रस्तुति खै? सप्तरंगी टोटालिटीमा बाँच्नेहरूको कहानी खै? बहुसँस्कृतिवाद (मल्टीकल्चरालिज्म) र विश्वबन्धुत्त्व (कज्मोपोलिटनिज्म) को परिस्कृत प्राणी खै ? प्रवासी/डायस्पोरिक नेपाली साहित्यमा यो घिसीपिटीबाट उम्कन ढीलो भएन र ?