साहित्यका पछिल्ला प्रवृत्तिको परख

पछिल्लो दशकलाई हेर्दा अँग्रेजी साहित्य र अन्य अन्तर्राष्ट्रिय साहित्यिक जगतमा नयाँ मोडहरू देखिँदै छन्। खासगरि आर्थिक विकास, प्राविधिक खोज र उपभोक्ताहरूको नवीन चाखले नयाँ प्रवृत्तिहरू देखिएको हो। साहित्यिक क्षेत्रमा आएका यी नयाँ प्रवृत्तिले नेपाली साहित्यलाई पनि असर पार्ने आँकलन गर्न सकिन्छ।

यद्यपि नेपालमा अझै पनि महाकवि देवकोटाकालिन लेखनको धङधङ्ती जताततै देख्न सकिन्छ। गतिशील लेखकहरू नयाँ युगको नयाँपनसँग अद्यावधिक हुनैपर्छ।

अन्य विधाहरूमा जस्तो एउटा प्रश्नको एउटा सटिक जवाफ हुन्न, साहित्यमा। यसका अनेक आयाम हुन्छन्। साहित्यको सिंहावलोकन गर्ने दृष्टिकोण फरक फरक हुन्छन्। यसका सन्देश बहुमुखि हुन सक्छन्। यसर्थ साहित्य अनुरागीहरूले लेखन शैलीको विविधता र तात्पर्यलाई राम्ररी बुझ्नु जरूरी छ। साहित्य जड शैली होइन। देश-विदेशमा भैरहेका परिवर्तनहरूसँगै भाषाको प्रस्तुति र निखारमा नयाँ प्रयोग हुन्छन्।

यद्यपि नेपालमा अझै पनि महाकवि देवकोटाकालिन लेखनको धङधङ्ती जताततै देख्न सकिन्छ। गतिशील लेखकहरू नयाँ युगको नयाँपनसँग अद्यावधिक हुनैपर्छ।

अहिलेको जमानामा विषयान्तर हुने अनेक कुराहरू छन्। प्रविधिको विकासले हर मान्छेका शौखहरूको सूचि लामो बनेको छ। तैपनि मान्छेहरू अझै पनि साहित्य पढ्छन्। तर लेख्ने, पढिने र ग्रहण गर्ने शैली फेरिएको छ। परम्परागत रूपमा पढिने कागजी किताब, पत्रिका र जर्नलको ठाउँमा साहित्यप्रेमीहरू (विशेषतः युवावर्ग) स्मार्ट फोन, ट्याब्लेट र ल्यापटपमा जोडिन रूचाउँछन् हिजोआज। प्रविधिको विकासले टेलिभिजन वा इन्टरनेट आधारित कार्यक्रमहरू, जस्तै नेट्फ्लिक्स, यु-ट्युब र अनेक ‘एप’हरूमा आसक्ती बढेको छ। पछिल्ला केही वर्षहरूमा भर्चुअल भिडियो गेमहरूको लोकप्रीयता बढेको छ। जसले गर्दा युवाहरू अन्यत्रै लोभिने र लामा साहित्यक लेखनलाई रसहिन वा अरोचक ठान्नु अस्वाभाविक होइन। तैपनि साहित्यका पाठकहरू बढीरहेका छन्। किनभने, सीमित टाठाबाठा र पुरूषहरूले पढ्ने साहित्य प्रविधिको विकासले सर्वव्यापक भएको छ। पहुँच र साहित्यक शैलीमा रूपान्तरण भएको छ। साहित्यक क्षेत्रमा फस्टाइरहेको यो रूझान लेखकहरूका निम्ति उत्साहप्रद छ।

ई-बुक, ब्लगिङ, अडियो प्रस्तुति र सोसल मिडिया जस्ता अनलाइन साहित्यका विविध  आयामहरूले पछिल्लो दशकको साहित्यमा महत्वपूर्ण भूमिका खेलेको छ। खासमा साहित्यिक ट्रेन्ड नै यीनै आयामहरूतर्फ जोडतोडले मोडिएका छन्। अनलाइन प्रविधिको प्रयोग र अन्तर्कृयाले साहित्यको बहस र विश्लेषणमा प्रवर्द्धन पनि गरेको छ। अँग्रेजी लगायतका अन्य पश्चिमा साहित्यमा अनलाइन प्रविधिहरूको प्रयोग र बिस्तार ब्यापक रूपमा हुँदैछ भने नेपाली साहित्य पनि क्रमशः त्यही ट्रेन्डमा जाँदैछ।

ई-बुक र सोसल मिडियाको विकासले साहित्य लेखन र पठन दुबै पक्षलाई हौस्याएको छ र परिमार्जित पनि गरेको छ। लेखक र पाठकहरू बिचको संचार र अन्तर्कृयामा आभारभूत भिन्नता बढ्दै गएको छ। कोरोना महामारी अगाडि प्रत्यक्ष भेटेर आपसी कुराकानी गरिन्थ्यो। तर महामारीपछाडि अनलाइन माध्यमहरूले प्राथमिकता पाइरहेका छन्। अनलाइन फोरमहरूमा तत्काल पाइने फिडब्याकले लेखकहरू बढी गतिशिल हुँदैछन्। अर्कोतर्फ लघुआख्यानको लोकप्रीयता बढ्दै छ। ट्विटर फिक्सन, इन्ट्राग्राम र फेसबुके स्टाटसले लघु आख्यानलाई लोकप्रीय हुन मद्दत गरेका छन्। साहित्यमा नयाँपन आउँदै गर्दा इन्टरनेटमा पस्किइने लेखनहरूमा अनौपचारिक र बोलीचालीका भाषाहरूको ब्यापक प्रयोग हुन थालेको छ। शुद्धाशुद्धिमा त्रुटी, शब्द चयनमा सीमितता र ब्याकरणको बिजोग पनि भैरहेको छ। लामा आख्यान वा ब्याख्यान मन पराउनेहरूलाई ब्लग, ई-बुक र अनलाइन म्यागजिन छँदैछन्। यु-ट्युब जस्ता सोसल मिडियाले ‘सुन्ने कथाहरू’ को विकास हुँदैछ। छिटो, सस्तो, सर्वसुलभ र सबैको पहुँचामा भएकोले डिजिटल मिडिया अति लोकप्रीय भएको छ । तर साहित्यको यो सहज ब्यापकता सँगसँगै स्तर भने खस्कीएको आरोप केही साहित्यिक पंडितहरूले लगाउने गरेका छन्।

ई-बुक भनेको ‘इलेक्ट्रोनिक बुक’ को छोटो रूप हो। जुन परम्परागत कागजी किताबको डिजिटल प्रकाशनका रूपमा बुझिन्छ। ई-बुक डेक्स-टप कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा स्मार्टफोनमा पढ्न सकिन्छ। सोसल मिडियाले ई-बुकको छनौटमा असर पार्दछ। सोसल मिडिया लेखक र पाठकको सजिलै भेट हुने चौतारी पनि हो। जहाँ लेखकले पाठकको विचार सुन्ने र अन्तरकृया गर्दछ। लेखक र पाठकका बीचमा वैचारिक लगाव (कनेक्सन) हुन्छ। जसले गर्दा लेखक परिष्कृत हुँदै जान्छ। तर खतरा के हुन्छ भने लेखकहरू पाठकवृन्दको विचारले बहकिने वा पपुलिस्ट हुने संभावना पनि रहन्छ। बजारमुखि लेखन फस्टाउन सक्छ। यसका गुण-अवगुण दुबै छन्। साहित्य भनेको उच्च स्तरको चिन्तन र मिमांसा हुने विधा हो, तर उपभोक्तामुखि भएर भाइरल हुने लालचीहरूले दुरूपयोग गर्न सक्छन्। धेरै क्लिष्ट, शब्दाडम्बर र अबोधगम्य भएर ठूलो साहित्य हुने होइन, न भाइरल भएर मात्र। मुख्य कुरो लेखक आफै यस्ता कुरामा सावधान हुनुपर्छ र सन्तुलन बुझ्नुपर्छ। जे होस्, सोसल मिडियाले पठन सँस्कृतिको विकास र साहित्यको पहुँचमा ठूलो टेवा पुर्याइरहेको छ। यहाँसम्मकी पुराना साहित्यिक हस्तिहरू चार्ल्स डिकेन्स र विलियम शेक्सपियरका नाममा समेत ट्विटर अकाउन्टहरू संचालित भैरहेका छन्। र, लोकप्रीय छन्।

यही विश्वब्यापी ट्रेन्डसँगै नेपालको साहित्यिक पत्रकारितामा पनि अनलाइन मिडियाहरू फस्टाइरहेका छन्। अहिले नेपालमा एक दर्जनको हाराहारीमा साहित्यिक अनलाइनहरू सञ्चालनमा आएका छन् । बेलायतनिवासी कृष्ण बजगाईंद्वारा संचालित समकालीन साहित्य, अस्ट्रेलियाका निष्प्रभ सजीको साताको साहित्य, विष्णुविभु घिमिरे प्रधानसम्पादक रहेको अक्षरंग, मोमिला जोशी सम्पादकत्वको  नेपाली कलासाहित्य, अश्विनी कोइरालाको नेतृत्वमा संचालित साहित्य पोस्ट आदि चर्चित साहित्यिक अनलाइन हुन्।

अनलाइन प्रकाशनले प्रिन्ट प्रकाशनको भविष्यमा तुँवालो लगाइदिएका पनि छन्। बिक्री बितरणका सन्दर्भमा पनि पुस्तक पसलको ठाउँ अमाजोन लगायतका अनलाइन सपिङ साइटहरूले लिइदिएका छन्। पुस्तकालयको लोकप्रीयता घटेर ‘गुगल’ सर्च प्यारो भएको छ। इन्टरनेट र उपकरणहरूको विकासले धेरै कुरा उल्टापुल्टा गरिदिएको छ।

प्रविधिको विकासले साहित्यमा अनेक प्रवृत्तिहरूको विकास भैरहेको कुरा त पहिल्यै चर्चा भैसकेको छ। फलस्वरूप नयाँ आयामहरू उजागर भैरहेका छन्। ई.सं. २००० यता देखिएको एउटा महत्त्वपूर्ण आयाम के हो भने साहित्यमा महिलाहरूको उल्लेखनीय वर्चस्व बढेको छ।

ई.सं. २००५ मा स्वीडिश लेखिका स्टीख लार्सोनले उपन्यास प्रकाशित गरेकी थिइन्- ‘Man Som Hater Kvinnor’ (पुरूष जो महिलालाई घृणा गर्छन्)। अँग्रेजीमा अनुवाद गर्दा यसको टाइटल मसलादार रूपले आकर्षित बनाइयो- ‘The Girl With the Dragon Tattoo’. त्यसपछि यस्ताखाले किताबहरूको बाढी नै आयो। ई. सं. २०१२ मा प्रकाशित गिलियन फ्लिनको ‘Gone Girl’  २० लाख भन्दा बढी बिक्री भयो र मास्टर पिसको रूपमा चर्चा पायो। केटीहरू कै नाममा टाइटल राखेर पउला हकिन्सको ‘the Girl On the Train’ प्रकाशित भयो। जुन डेढ करोडभन्दा बढी बिक्री भई रेकर्ड कायम गर्यो। यसरी लेखनमा लेखकहरूको साम्राज्यमा लेखिकाहरूले धावा बोलेर खेलको नियम उल्टाइ दिएका छन्।

एक्काइसौं शताब्दिको शुरूवातसँगै राजनीतिक र साँस्कृतिक परिदृश्यहरू ब्यापक रूपमा परिवर्तित भएका छन्। भूमण्डीकरणको कारण प्रवासन र आप्रवासन ठूलो परिमाणमा भइरहेको छ। यसले गर्दा विकसित देशहरूमा विदेशी मूलका बासिन्दाहरूको जनसंख्या उल्लेखनीय रूपमा वृद्धि भैरहेको छ। यी आप्रवासीहरूले ल्याएको संस्कृति मूल संस्कृतिमा सम्मिश्रण हुँदा तेस्रो खालको संस्कृतिको विकास भैरहेको छ। अल्पसंख्यक समुदाय र आप्रवासीहरूका कथा र तिनका सँस्कृतिलाई चाखका रूपमा हेरिन थालेको छ।

जसले गर्दा पश्चिमा साहित्यिक संसारमा श्वेतहरूको वर्चस्व रहँदै आएकोमा अश्वेत लेखकहरू पनि लोकप्रीय बन्दैछन्। केही दशक अगाडिसम्म अमेरिका र युरोपेली देशहरूमा अश्वेत भन्नाले अफ्रिकी मूलका मान्छेहरू बुझिने गरेकोमा अहिले ‘पिपुल अफ कलर’ जस्ता शब्दको प्रयोग बढेको छ। जसको मतलब गोराभन्दा अन्य जातिका मान्छेहरू भन्ने बुझिन्छ। ‘पिपुल अफ कलर’ का कथाहरू लेखिन र पढिन थालेका छन्। ल्याटिनो, भारतीय, चिनियाँ र अफ्रिकी मूलका लेखकहरूका कृतिहरू ‘बेस्ट सेलर लिस्ट’ मा थपिँदै छन्। इज्जतिला पुरस्कारहरूका हकदार बन्दैछन्।

उत्तरआधुनिकताको एउटा चरित्र नै के हो भने राजनीतिक, सामाजिक र साँस्कृतिक फोकस विकेन्द्रित हुँदैछ। मूलधारले पाइरहेको ध्यान, अब अल्पसँख्यक र सीमान्तीकृत समुदायमा सरेको छ। नेपालमा पनि जातिय र अल्पसंख्यकहरूको पहिचानको मुद्दा उठान भइरहेको यसै कारणले हो। फलतः साहित्यमा पनि विभिन्न, जातिय, धार्मिक, लैंगिक र राजनीतिक पृष्ठभूमिका सीमान्तीकृत लेखकहरूको आवाज र जीवन्त विचारले स्थान र मान्यता पाउन थालेका छन्।

अल्पसँख्यक समुदायहरू, जस्तै समलिंगी तेस्रोलिंगी (एल.जि.बि.टी.) लेखनले पनि प्रोत्साहन पाएर नयाँ प्रवृत्तिको रूपमा उदय भैरहेको छ। विपरितलिंगीका कथाहरू जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा पढिन थालेको छ। पश्चिमी देशहरूमा त यो छोटो समय मै ब्यापक रूपमा फिँजिएको छ। हाम्रो समाजमा समलिंगी तेस्रोलिंगी समुदायलाई जिज्ञासा र रहस्यले भरिएको व्यक्तिका रूपमा लिइने गरेकोमा बिस्तारै स्वीकार्यता बढ्दै गएको छ र आख्यानहरू लेखिन थालेका छन्। मोहनराज शर्माको उपन्यास ‘सलिजो’ मा दुई समलिंगी महिलाले सामान्य सामाजिक जीवन बिताउन गर्नुपरेको संघर्ष छ। त्यस्तै ‘जेबाक्रस’ उपन्यास बजारमा आएको छ। जसमा समलिंगी पात्रलाई उपन्यासमा प्रमुख पात्रका रूपमा उभ्याइएको छ।

यसबाहेक, देखिएका अन्य प्रवृत्तिहरूमा बाल र किशोर साहित्यको विकास पनि हो। बाल र किशोर साहित्यमा विविधता छाएको छ र बजार पनि ह्वात्तै बढेको छ। ह्यारी पोटरको सफलतापछि यस क्षेत्रमा लेखकहरू अकर्षित भएका छन् र तदनुसार बजारको बिस्तार पनि भैरहेको छ।

बनारस र दार्जिलिङमा केन्द्रीकृत रूपमा विकसित हुँदै काठमान्डुमा सरेको नेपाली साहित्यको धुकधुकी अहिले एक्काइसौं शताब्दिको आयाम समात्दै छ। यसको विकास क्रममा अनेक आन्दोलन र आयामहरूको पत्र-पत्र थपिँदै गएको छ। अहिलेको डिजिटल युगमा नयाँ ट्रेन्ड आउनु, यसबारे बहश हुनु र नयाँ पुस्ताको विचारले निर्देशित गर्नु स्वाभाविक कुरा हो। पुराना प्रवृत्तिभन्दा नयाँ प्रवृत्ति के र कुन कारणले फरक छन्? साहित्यिक छलफलहरू हुने नै छन्। केही पुरातनपन्थीहरूलाई नयाँ प्रवृत्ति अपच्य हुन पनि सक्छ। विवाद र करूण क्रन्दन गर्न सक्छन्। तर जे जसो भए पनि, नयाँ विचार, नव संस्कृति, र नवीन जीवन शैलीबारे हामी जानकार हुनैपर्छ। भाषा साहित्यको स्वरूप कसैको नियन्त्रणमा हुँदैन। साहित्यमा रचनात्मकता हुन्छ र भाषामा शब्दशिल्प। यसको बदलिँदो तस्बीरमा युग चेतनाको प्रतिबिम्ब हुन्छ।