साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

साइप्रसको निकोसिया सहरमा दशैँ तिहार साँझ भव्य रुपमा सम्पन्न भएको छ। आइतवार आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली पप गायक धिरज राइले नेपाली गीत गाएर मनोरन्जन प्रदान गरे। राई शनिवार साइप्रस आएका थिए।

दशैँ कन्सर्ट कै लागी पहिलोपटक साइप्रस आएका राइले ‘तिमी रुदा एक्लै हुँदा…’, ‘बुद्व जन्मेको देशमा, सीता जन्मेको देशमा..’, लगायत थुप्रै गीत गाए। उनका गीतमा दर्शकहरु नाच्दै स्वरमा स्वर मिलाएका थिए। बिदेशमा कन्सर्ट गरेको अनुभवले डायस्पोराका नेपालीहरुमा  नेपाली गीत र संगीत प्रतिको माया निकै भएको उनले  बताए। नेपालीहरु एकै ठाउमा जम्मा भएर नेपाली चाड पर्व मनाएको देखेर राइलाई मुलुक छाडे पनि राष्ट्रियता कहिल्यै भुल्दा रहेनछन् भन्ने महशुस भएको समेत बताए।

कार्यक्रम कै लागि स्पेनबाट गायक तुलसी सिवाकोटी साइप्रस पुगेका थिए।उनले ‘तुलसी आँगनमा रोपौला..’,’रातो रानी..’, लगायत अन्य गीत गाए। साथमा स्थानीय कलाकार कोपिला दाहाल, रिया सुनुवार, योवाग घले, ऋतु पुन, अनु मगर लगायत अन्यको पनि प्रस्तुति थियो। साइप्रसको विभिन्न ठाउँबाट सयौ नेपालीहरु जम्मा भएका थिए। कार्यक्रममा साइप्रसका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत डा. रामजीवन पंजियारका साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

एनआरएन साइप्रसले कार्यक्रमको आयोजना गरेको थियो। नेपाली कला संस्कृतिको संवर्द्धन र प्रबर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्लले जानकारी गराए ।

साइप्रसमा झन्डै तिन हजारको हाराहारीमा नेपालीहरु रहेको बताइन्छ। साइप्रसमा सन् २००४ मा एनआरएनएको  गठन भएको थियो ।tulasi sibakoti