बरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारलाई लिएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ।
आफू अनुकुल नहुँदैमा सञ्चारकर्मीलाई आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन नसक्ने भन्दै महासंघले घटना छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
धम्की दिएकाे छैन: अभयकुमार
दुतावासका प्रथम सचिव अभयकुमारले प्रधानसम्पादक घिमिरेलाइ धम्की नदिएकाे बताएका छन् । उनले समाचारकाे विषयमा प्रधानसम्पादक घिमिरेसँग कुरा भएपनि अाफूले कुनै अभद्र व्यवहार नगरेकाे दाबी गरे।’समाचार लेख्दा दुवै पक्षकाे कुरा राख्नुपर्छ भन्ने अाग्रह गरेकाे हाे, उनले भने, ‘ मैले प्रधानसम्पादक घिमिरेलाइ धम्याउने काम मैले गरेकाे छैन ।’