यतिबेला स्याटेलाइटमा एउटा नेपाली टेलिभिजन बाहिरिएको प्रसंग चर्चामा छ । २०६७ साल बैशाख ८ गतेबाट प्रसारण सुरु गरेको न्यूज २४ टेलिभिजन प्रसारण यात्राको साढे ३ वर्षको यात्रामै स्याटेलाइटबाट आउट हुने कुरामा कतिपय निराश छन् । कोही दंग परेका छन् । तर, यो घटनाले नेपाली टेलिभिजन पत्रकारिताको भाग्य र भविष्यबारे केही गम्भीर सवालहरु उठाएको छ ।
जुन टेलिभिजनको स्याटेलाइट प्रसारण बन्द भएको चर्चा हामी गरिरहेका छौं, त्यो विशुद्ध समाचारमूलक च्यानल थियो । तसर्थ, यो पत्रकारितासंग प्रत्यक्ष सम्बन्धित थियो । त्यहा “सञ्चारकर्मी”हरु संगै “पत्रकार” हरु पनि कार्यरत थिए । समाचारलाई नै विषयवस्तु बनाएको एउटा टेलिभिजनको प्रसारण बन्द हुने कुरा पत्रकारहरुका लागि कुनै पनि अर्थमा सुखद हुन सक्दैन । अनि, कुनै पनि प्रतिस्पर्धी टेलिभिजन सञ्चालकलाई न्यूज २४ को यो अनुभव “टिआरपी” बढाउने मौका वा “सेखी झार्ने” विषय बन्न सक्दैन । यो त नेपालका सबै क्रियाशील टेलिभिजनहरुको वास्तविक हविगत र भविष्यको यात्राको प्रतिनिधी घटना मात्रै हो ।
न्यूज २४ टेलिभिजनको उद्गम यात्रा जति कष्टपूर्ण थियो यसको “पतन”को यात्रा पनि अझ बढी दुखदायक छ ,यसका लगानीकर्ता र सारथीहरुका लागि । सगरमाथा टेलिभिजनको विभाजनबाट यसको जन्म भएको थियो । एभिन्युज टेलिभिजन छाडेका पत्रकारहरुले यसको उचाईको यात्राको अगुवाई गरेका थिए । टेलिभिजन प्रारम्भ भएको पहिलो महिनाकै तलब समयमा नपाउँदा पनि यसलाई औसतभन्दा माथिको टेलिभिजन बनाउन परिश्रम गर्नेहरु थुप्रै थिए । तर यो एउटै कारणले स्याटेलाइटबाट आउट भयो । एउटै कारणले यसको कद घटाउने खतरा बढेको छ, त्यो हो लगानी । र लगानीको हिसाबकिताबमा न्यूज २४ मात्रै होइन नेपालका चल्तीका धेरै टेलिभिजनहरु “टाट” पल्टने सम्भावना छ ।
नेपाली टेलिभिजनबारे चासो राख्ने धेरैलाई थाहा होला, लगभग एकैजसो दिनमा आफूलाई पहिलो समाचार च्यानल दावी गर्दै एभिन्यूज र सगरमाथा टेलिभिजन प्रसारणमा आएका थिए । सामूहिक लगानीबाट सुरु भएका यी २ टेलिभिजनका लगानीकर्ता प्रकारान्तरमा फरक–फरक बाटोमा हिडे । जसबाट नेशनल, हिमालय, न्यूज २४,एबिसी लगायतका टेलिभिजनहरुको जन्म भयो । ती टेलिभिजनहरु के का लागि खुलेका थिए, यो बारेमा बजार त्यतिबेला पनि अनभिज्ञ थियो र अहिले पनि अनभिज्ञ छ । जब उत्पादनबारे बजार नै अनभिज्ञ हुन्छ, तब हरेक उत्पादन बजारमै “डेट एक्सपायर” हुन्छन् । अहिले यस्तै “डेट एक्सायर” हुने सम्भावना बोकेका टेलिभिजनहरु नेपाली सञ्चार बजारमा छरिएका छन् ।
नेशनल टेलिभिजनका लगानीकर्ता युनुस अन्सारी विभिन्न मुद्धामा जेल परेसंगै नेशनल टेलिभिजन बन्द भयो । चर्चामा मालिकको अनुपस्थिति नेशनल टेलिभिजन “डेट एक्सपायर” हुनाको कारण थियो, तर यथार्थमा हाम्रो सञ्चार बजारले त्यसको आवश्यकता ठानेकै रहेनछ । अन्यथा, एउटा जिम्मेवार सञ्चारमाध्यमको अनुपस्थितिको अनुभूति कमसेकम हाम्रो “सञ्चारको युग” ले गरेको हुनुपथ्र्यो । केही समय अगाडी ई–ट्वान्टी फोर नामको टेलिभिजन बन्द भो । सामाजिक सञ्जालहरुमा त्यसबारे केही चर्चा गरियो । त्यसको पनि अनुपस्थितिको अनुभूति भएन । अहिले न्यूज २४ स्याटेलाइटबाट बाहिरिएको छ । के यसको पनि अनुपस्थितिको अनुभूति हुनेछ समाजलाई ? यदि भएन भने बुझ्नुहोला, यहाँ उपस्थितिको महत्व नभएका टेलिभिजनहरु धेरै छन् ।
आफैले लगानी गरेको टेलिभिजनमा आफ्नै छोरीको “न्यूज एन्कर” बन्ने चाहना पूरा नभएको झोकमा पनि टेलिभिजन खुलेका छन् । विरोधीको सेखी झारेर आफ्नो महिमा गाउन लगाउनका लागि पनि टेलिभिजन सञ्चालित छन् । उल्लेखित कारणहरु भन्दा फरक कारणका लागि टेलिभिजन सञ्चालनको अभ्यास भएकै छैन । त्यसैले नेपालको विज्ञापन बजारले मुस्किलले ५ वटा टेलिभिजन मात्रै धान्न सक्ने चर्चा यदाकदा हुने गरेको छ । टेलिभिजनका सञ्चालकहरुले आफ्ना कर्मचारीलाई मासिक तलब दिन सकेका छैनन भन्ने समाचारहरु यसअघि पनि आएकै हुन् । टेलिभिजनहरुमा जागिरका लागि ठोक्किने पात्रले पहिलो ३ महिना इन्टर्नशीप, दोस्रो ३ महिना खाजा खर्च र त्यसपछि पनि टिकिरहन सकेको खण्डमा मालिकको इच्छाअनुसार बक्सिस् हुने तलबमा काम गरिरहनुपरेको यथार्थ छिपेको छैन । हिजो यतिधेरै टेलिभिजन कसरी चलेका छन् ? भनेर प्रश्न गर्नेहरु आज यतिधेरै टेलिभिजन पत्रकार कसरी बाँचेका छन् ? भनेर प्रश्न गर्ने अवस्थामा आइपुगेका छन् । यो यथार्थले हाम्रो टेलिभिजन अभ्यासलाई, टेलिभिजन पत्रकारितलाई मूलधारभन्दा पर–पर धकेलिरहेको छ ।
स्याटेलाइटबाट फुत्केको टेलिभिजन फेरि स्याटेलाइटमा फर्कन सक्छ । पत्रकारिताबाट आजित भएको एउटा पत्रकार अर्को पेशामा लाग्न सक्छ । बजार नबुझेरै टेलिभिजनमा लगानी गरेको एउटा धनाढ्यको पैसा अन्यत्रै लगानी हुन सक्छ । तर नेपाली समाजले टेलिभिजनहरुको अवसानलाई सामान्य रुपमा लिन थाल्यो भने । २–४ महिनाको तलब नपाएको झोकमा कुनै टेलिभिजनको अवसानमा एउटा पत्रकारले खुसी मनायो भने । सम्झनुस्, देश “डेट एक्सपायर” टेलिभिजनहरुबाट घेरिनेछ ।
( नेपालको संचार बजारका बारेमा नकुल अर्यालको यो लेख घतलाग्दो भएकोले यहाँ पुनःप्रकाशित गरिएको हो)