संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे ।

सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।
दानवीरहरु स्नेहालता अग्रवाल, जगदीश अग्रवाल, कुन्तीदेवी न्यौपाने, माधवी शर्मा, राधे परिवार भैरहवालाई जिशिअ थापाले सम्मानपत्रसहित सम्मान गरेका थिए ।

शिलान्यास गर्दै जिशिअ थापाले विद्यालयको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै स्थानीयवासीले अझै बढी चासो दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विद्याश्रमका अध्यक्ष डिआर शर्मा, उपाध्यक्ष हरि अधिकारी, नवराज न्यौपाने, समाजसेवी नन्दलाल गोयनका, ओमकार गौचन, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मालगायतले बोल्दै विद्यालयलाई यस क्षेत्रमै नमुना बनाउनुपर्ने विचार व्यक्त गरेका थिए ।