श्रीकृष्ण श्रेष्ठको फिल्म “कोहिनुर” व्यापारिक रेकर्डतर्फ

पारिवारिक र सामाजिक फिल्म दिनका लागि माहिर नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित दोस्रो तथा अन्तिम फिल्म “कोहिनुर” हेर्नका लागि हलहरुमा दर्शक भिड लागेको छ । दर्शकहरु ‘श्रीकृष्णप्रति श्रद्धाञ्जलि’ भन्दै उनको फिल्म हेर्न हलमा ओइरिएका छन्। उनको यो अन्तिम फिल्मले शुक्रबारसम्म १ करोड ८० लाख ग्रस कलेक्सन गरेको वितरक सुनिल मानन्धरले जानकारी गराएका छन्।

kohinoor-posterबुधबार एकै दिनमा १४ लाख ग्रस कलेक्सन गरेको फिल्म मुलुकभरका ५० बढी हलबाट गत अघिल्लो शुक्रबारदेखि रिलिजमा आएको थियो। फिल्मले राजधानीका १७ हलबाट मात्र ९४ लाख ग्रस कलेक्सन गरेको यसको व्यापारिक रेकर्डले देखाएको छ। बाँकी रकम यसले मोफसलबँट कलेक्सन गरेको देखिएको छ। फिल्मको यो आम्दानी यो वर्ष रिलिजमा आएका नेपाली फिल्महरुमध्येमै सर्वाधिक हुने देखिएको छ।

वितरक मानन्धरका अनुसार १ करोड रुपियाँको लगानीमा निर्मित यो फिल्मको ग्रस कलेक्सनमध्येबाट वितरक, प्रदर्शकको भाग कट्टा गर्दा अहिलेको अवस्थामा निर्माताको भागमा ७० लाख रुपियाँ पर्छ। ‘दर्शकहरु ओइरिएको देख्दा यो फिल्म कम्तीमा ३ हप्ता चल्छ, ५१ दिन मनाउने संभावना पनि छ’ –वितरक मानन्धर भन्छन्।