लभ इन कोरोना पिरियड

युरोपका प्रायशः देशहरूमा आवतजावत र हिंडडुल निषेधित छ यतिखेर । तर, कर्फ्यू होइन । लक-डाउन रे । दैनिकी सीमीत र वर्जित छ । व्यक्तिगत स्वतन्त्रता र खुलापन रूचाउने पश्चिमी समाज अनौठो प्रयोगमा छ अहिले । खुला बोर्डरको मर्म बोकेका युरोपेली संघका देशहरू भटाभट बोर्डर सील गर्दैछन् । विश्व कै उच्चस्तरीय स्वास्थ्य सेवा छ भन्ने देशहरूमा बेड र जनशक्तीको अभाव खट्कीएको छ । संकट वास्तव मै घण्टैपिच्छे विकसीत हुँदैछ । सरकारका नीति-निर्माता र स्वास्थ्यकर्मीहरू ‘काउन्ट डाउन टिकीङ क्लक’ को विरूद्धमा संघर्ष गरीरहेका छन् । यहाँको समाज र सोच ह्वात्तै परिवर्तित भइरहेको छ, गंभीर भएको छ ।

corona pandemic

संकटको अर्को पाटो के भने यसले नयाँ सोचहरूलाई उजागर गरेको छ । जस्तो की- घरबाटै काम गर्ने-पढ्ने, इन्टरनेटको ब्यापक प्रयोग, स्वास्थ्य सेवाको सुदृढीकरण र भाइरसको भाइरल समस्याको नयाँ पहिचान । यसले मानव समाज र राज्यहरूलाई नयाँ चुनौतिको पुर्नभास दिएको छ ।

कोरोनाको कहर, आवतजावतको पाबन्दी र क्वारेन्टाइनको विवशताकाबीच अँध्यारो जीवनमा नवीन प्रकाशको प्रेमिल रंग दिने प्रयास पनि भएका छन् । शुक्रबार बिहान युरोपका सयौं एफ.एम. रेडियोहरूमा एकैसाथ गीत/संगीत घन्कीयो- You will never walk alone.

नेदरल्याण्ड, बेल्जियम, जर्मनी र स्पेनका सयौं स्टेसनहरूले एकैसाथ गेरी र पेसमेकरको क्लासिक गीत बजाए । जुन गीत फुटबल फ्यानहरूबीच लोकप्रीय छ । समूहगत खेल फुटबलको मैदानमा लोकप्रीय गीत कोरोनाको मैदानमा पनि निकै घन्कीयो ।

You will never walk alone.

Walk on, walk on
With hope in your heart
And you’ll never walk alone.

***

शुक्रबारै बेल्जियममा अर्को प्रेमिल घटनाक्रम देखियो । यहाँका सेलीब्रेटीहरूको आव्हानमा अलिक फरक खालको ‘धन्यवाद’ ज्ञापन प्रदर्शित गरियो । र, यो धन्यवाद ज्ञापन थियो- कोरोनाविरूद्ध लडीरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको समर्थनमा ।

स्वास्थ्यकर्मीहरूको समर्थनमा सेतो कपडा

शुक्रबार धेरैको घरको झ्याल वा बरन्डामा सेतो खोल वा तौलिया टाँसिएका थिए । म पनि घरको सीमा तोडेर कामविशेष बाहिर निस्केको थिएँ । घरैपिच्छे सेतो कपडा झुन्डिएका थिए, जसरी फुटबलको सिजनमा कसैको समर्थनमा झण्डा टाँगिएका हुन्छन् । यी सेता कपडाहरू कोरोनाविरूद्ध लडीरहेका सेवक/सेविकाहरूको सम्मानमा ‘मेरो कुटीबाट पनि धन्यवाद है’ भन्ने तालीको प्रतीकात्मक गडगडाहट थियो ।

***

कोरोना संकट गहिरिँदै जाँदा मलाई नाना पाटेकरको एउटा फिल्मी डायलग याद आइरहन्छ- एक मच्छड, आदमी के हिजडा बना देता हे !

एउटा भाइरस, अथवा एक जातको फ्लू भाइरस, ले अहिले संसारभरि मानवीय संकट ल्याएको छ । शान्तिका बेला आएको भाइरसले गर्दा सारा जीवन ठप्प पारेर भाइरसविरूद्ध महायुद्ध चलिरहेको छ ।

तर, संकटको अर्को पाटो के भने यसले नयाँ सोचहरूलाई उजागर गरेको छ । जस्तो की- घरबाटै काम गर्ने-पढ्ने, इन्टरनेटको ब्यापक प्रयोग, स्वास्थ्य सेवाको सुदृढीकरण र भाइरसको भाइरल समस्याको नयाँ पहिचान । यसले मानव समाज र राज्यहरूलाई नयाँ चुनौतिको पुर्नभास दिएको छ । नत्रभने अर्को भाइरसले ‘आदमी’लाई मात्र होइन, मानवीय सभ्यतालाई नै हिजडा बजाउन सक्छ ।

***

भनिन्छ, यस्तो प्रकारको भाइरसको प्रभाव सामान्यतः दुई महिना रहन्छ । यो धेरै टिक्दैन । त्यसपछि प्रतिरोध क्षमता झन् बढ्छ । यसले ठाउँअनुसार २ देखि ५ प्रतिशत संक्रमितको मात्र प्राण लिएको छ । त्यो पनि धेरैजसो पहिल्यै स्वास्थ्य समस्या भैसकेकाहरूलाई ।

यस्तो भाइरसका विरूद्ध लड्न अलिक ज्याद्री उपाय अपनाएर दैनिक जीवन ठप्प पारिएको हो की भन्नेहरू पनि छन् । बिरामी बुढापाकाको समस्या हो, हामीलाई के हुन्छ र ? भन्ने मतलबी पनि छन् ।

मृत्यु अवसान हो । त्यो आफ्नै होस् वा आफ्नाको । कसैलाई गुमाउनु ठूलो पीडा हो । गुम्नु भनेको अन्त्य हो । त्यसैले यस्तो परिस्थिति नआओस् भनेरै यी अनेक उपाय अपनाइएका छन्, नफैलियोस भनेर । मानवीय क्षति नहोस् भनेरै लक-डाउन गर्नु परेको हो । यसमा सबैले साथ दिनुपर्छ । यही हो- प्रेम ।