रूसी भाषामा भानुभक्तको कविता

मस्कोमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित ‘लोकको गरूँ हित् भनी’ शीर्षकमा नेपाली र रूसी भाषामा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ ।

मस्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा साहित्यप्रेमी नेपालीहरु र तिनका रसियाली मित्रहरुको समेत उपस्थितिमा काव्यगोष्ठीको आयोजना भएको हो । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्तीको सन्दर्भमा विनेसाम रूसद्वारा काठमाडौंबाट प्रकाशमा ल्याइएको ‘लोकको गरूँ हित् भनी’ शीर्षकको द्विभाषिक ग्रन्थमा समाविष्ट कविताहरूको रुसी भाषामा छन्दोबद्ध अनुवाद कृष्णप्रकाश श्रेष्ठ तथा रूसी कवयत्री ल्युदमिला साल्तिकोभाद्वारा संयुक्त रूपमा गरिएको हो भन्ने जानकारी कार्यक्रममा दिनुभयो ।

काव्यगोष्ठीको प्रमुख अतिथि नेपाली राजदूत डा. रविमोहन सापकोटालगायत अध्यक्षमण्डलमा सभापतिको आसन ग्रहण गर्ने कृष्णप्रकाश श्रेष्ठ, विशेष अतिथि जीवा लामिछाने, डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, कवयत्री ल्युदमिला साल्तिकोभाले सँयुक्त रूपमा उक्त पुस्तक विमोचन गर्नुभयो । पुस्तक कृष्णप्रकाश श्रेष्ठको संयोजकत्व तथा सम्पादनमा तयार पारिएको हो ।
Bhanu in russian