युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

बेल्जियममा रहेका नेपालीहरूका गतिविधि तथा नेपाल र युरोपेली देशहरूको सम्बन्धको बारेमा एक सँग्रहका रूपमा लेखक दीपकज्योति पौडेलको पुस्तक ‘युरो-नेपाल सामान्य ज्ञान’ हिजो बेल्जियमको लुभेनमा विमोचित भयो । बेल्जियम र युरोपेली सँघका लागि नेपाली राजदूत राममणि पोखरेलले पुस्तक विमोचन गर्दै यो सँग्रह नेपाली गतिबिधिको अभिलेख बनेको उल्लेख गर्नुभयो । युरोपको पहिलो पुस्ताको यो गतिविधिहरू दोश्रो पुस्ताको निम्ति समेत पठनीय हुने राजदूत पोखरेलले बताउनु भयो ।
Euro-Nepal book bimochanत्यस्तै, कार्यक्रमका अर्का अतिथि नेपाली अनरेली कन्सुल रोजर द ग्रोनले पुस्तकले नेपाल-बेल्जियम सम्बन्धलाई सूत्रवत रूपमा उल्लेख गरेको बताउँदै दुई देशको सम्बन्ध बढाउन सहयोगी बन्ने आशा ब्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम र साँग्रीला समाज बेल्जियमको संयुक्त आयोजनामा बुधवार आयोजित विमोचन कार्यक्रममा बोल्दै लेखक पौडेलले विगतमा साँग्रीला समाजले आयोजना गर्ने हाजिरी जवाफ र हिज्जे प्रतियोगिताहरूको सफलताबाट प्रोत्साहित भएर यो सँग्रह प्रकाशित गर्ने प्रेरणा मिलेको बताउनु भयो ।
त्यसैगरी, पुराना पत्रकार एवं उपन्यासकार पंचम अधिकारीले प्रश्नोत्तर रूपमा प्रकाशित पुस्तक युरोपबासी र अझ खासगरी बेल्जियमबासी नेपालीहरूका निम्ति जानकारीमूलक, चाखलाग्दो र सँग्रहणीय रहेको विचार व्यक्त गर्नुभयो ।
euro-nepal book writerसाँग्रीला समाजका अध्यक्ष यामु निरौलाको सभापतित्व तथा परमानन्द सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा अनेसास बेल्जियमका अध्यक्ष विमल गिरीले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकको महत्वबारे प्रकाश पारेका थिए ।
पछिल्लो दशकमा नेपालीहरू प्रवासिने क्रमसँगै बेल्जियममा नेपालीहरुको घना बस्ति रहेको छ । बेल्जियमका नेपालीहरु व्यवसायिक र सामाजिक रुपले सक्रिय र सफल रहेका छन्|
१८० पृष्ठ भएको पुस्तकको प्रकाशक साँग्रीला समाज बेल्जियम रहेको छ । पुस्तकमा नेपाल, युरोपियन युनियन र नेपाल-युरोपियन युनियनमा आबद्ध देशहरुबिचको द्विपक्षीय सम्वन्धका तथ्यहरूलाई सँग्रहित गरिएको छ । झण्डै एक दशकदेखि बेल्जियममा बसोबास गरिरहेका लेखक पौडेल साँस्कृतिक, पत्रकारिता र साहित्यिक क्षेत्रमा सक्रिय रहेका छन् । यो उनको पहिलो प्रकाशित पुस्तक हो ।