‘म सी.आइ.ए. र तालिवानको एजेण्ट थिएँ’

सिरियल किलर चाल्र्स शोभराजले आफुले विगतमा अमेरिकी गुप्तचरी संस्था सिआइए र तालिवानलाई सहयोग गर्ने गरेको बताएका छन् ।

Charles Shobhrajबेलायती म्यागजिन जीक्यूलाई दिएको अन्र्तवार्तामा उनले दिल्लीको तिहाड जेलमा परेका बेला पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदसँग मित्रता भएपछि यस्तो सम्बन्ध स्थापित भएको बताएका छन् ।

जैश ए महोम्मद सन् १९९९ मा काठमाडौंबाट अपहरण भई पाकिस्तान पुर्याएको भारतीय विमान छुटाउने सर्तमा दिल्लीको एक जेलबाट छुटेका अजहर नामका एक आतंककारीले स्थापना गरेको संगठन हो ।

उनले अन्र्तवार्तामा तिहाड जेल जीवन सम्झना गर्दै पाकिस्तानी तालिवानलाई हतियार खरिद गर्ने चाँजोपाँजो मिलाउन आफूले उनीहरुको हेरोइन बिक्री गरिदिने गरेको बताएका छन् । शोभराजले हेरोइन आफ्ना सम्पर्कमा रहेका केही चिनियाँलाई बेच्ने गरेको पनि बताएका छन् ।

उनले त्यति नै बेला आफूले अमेरिकी जासुसी एजेन्सी सेन्ट्ररल इन्टिलीजेन्स एजेन्सी (सीआइए)का लागि पनि काम गर्ने गरेको दाबी गरेका छन् । शोभराजले सीआइए र तालिवानलाई सहयोग गरेपनि आफूले उनीहरुलाई धोका दिन काम गरेको बताएका छन् ।

त्यतिबेला सीआइएका लागि आफूले आतंकवादी संगठन एंव आपराधिक संगठनबीच लागू औषध तस्करी र हतियारको सौदाबाजीबारे जासुसी सूचना दिने गरेको उनको भनाई छ ।

‘मैले आतंकवादका विरुद्धमा पनि काम गरेको थिए, त्यतिबेला मेरो जीवन अत्यन्तै खतरामा थियो’ उनले अन्र्तवार्तामा भनेका छन्, ‘तर सीआइएले पछि मलाई सहयोग गरेन किनभने उ बाहिर देखिन चाहेन ।’

शोभराज सन् १९८६ दिल्लीको तिहाड जेल तोडेर भागेका थिए । त्यतिबेला उनले आफ्नो जन्मदिन भनेर जेलका सुरक्षा गार्डहरुलाई बाँडेको मिठाईमा लठ्याउने औषधि मिसाएर दिएका थिए । एक अमेरिकी पर्यटकको हत्याका लागि अहिले उनी काठमाडौंको केन्द्रीय कारागारमा जन्मकैदको सँजाय काटिरहेका छन् ।

२००३ पछि नेपालको जेलमा रहेका ७० वर्षीय शोभराजले आधा जेल सँजाय काटिसकेका छन् । एजेन्सी