मोटरसाइकललाई उत्तरी क्षेत्र जान रोक

दक्षिणी क्षेत्रमा नेपाली नम्बर प्लेटका मोटरसाइकल जलाइदिने क्रम बढेपछि प्रहरीले उत्तरी क्षेत्रबाट जाने त्यस्ता motercycleमोटरसाइकलमा रोक लगाएको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेपाली नम्बर प्लेटको मोटरसाइकल जलाइदिने घटना बढेपछि पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट मलङ्गवासहित भारतीय क्षेत्रमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जानकारी गराए ।

“नेपाली नम्बर प्लेटको मोटरसाइकल दक्षिणी क्षेत्रमा जलाइदिने र भारतीय नम्बर प्लेटको मोटरसाइकल उत्तरी क्षेत्रमा जलाइदिने घटना बढेपछि रोक लगाएका हौँ”, उनले भने, “साम्प्रदायिक सद्भाव नखल्बलियोस् भन्ने उद्देश्यले उत्तरी क्षेत्रबाट नेपाली नम्बर प्लेटका मोटरसाइकललाई दक्षिणी क्षेत्र जान पूर्ण रोक लगाएका छौँ ।”

तीन दिन अघि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा स्थानीय समूहले भारतीय नम्बर प्लेटका तीन वटा मोटरसाइकल जलाइदिएका थिए भने शुक्रबार र शनिबार सदरमुकाम मलङ्गवा एवं दशगजा क्षेत्रमा नेपाली नम्बर प्लेटका मोटरसाइकल जलाइएको थियो ।

यसरी पालैपालो उत्तरी र दक्षिणी क्षेत्रमा मोटरसाइकल जलाउने कार्य बढेपछि बाध्य भएर रोक लगाउनु परेको प्रनाउ खड्काले जानकारी गराए ।

उत्तरी क्षेत्रबाट डिजेल, पेट्रोल, ग्यासलगायत सामान लिन दर्जनौँ मोटरसाइकल जाने गरेको छ भने दक्षिणी क्षेत्रबाट काठमाडौँ जानुपर्ने यात्रु लगायत ओसार्नका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दर्जनौँ मोटरसाइकलको आउजाउ हुने गरेको छ ।

दुई दिन अघिबाट भने प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर लगायत स्थानमा चेकपोष्ट नै खडा गरेर दक्षिणी क्षेत्र जाने मोटरसाइकललाई रोक लगाउन थालेको हो ।

मोटरसाइकल जलाउने र चालकमाथि दुव्र्यवहार समेत हुने गरेकाले सद्भाव बिग्रनसक्ने खतरा रोक्न यस्तो अभियान चालिएको प्रनाउ खड्काले जानकारी गराए ।