नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

भारतको अघोषित नाकाबन्दीको विरुद्धमा थालिएको ‘रक्तिम सांस्कृतिक अभियान’को टोली सोमवार चितवन पुगेको छ । jiban sharmaनाकाबन्दीले पारेको असरलाई सहन गर्न सक्ने क्षमता विकास गराउने भन्दै मङ्सिर १४ गते पोखराबाट अभियान सुरु भएको थियो । रक्तिम सांस्कृतिक अभियानअन्तर्गत कलाकारले विभिन्न जिल्लामा सडक तथा चोकमा सांगीतिक कार्यक्रम पस्कँदै आएको छ ।

जनवादी गायक जीवन शर्माले अगुवाइ गर्नुभएको टोलीको शनिबारदेखि चितवनमा अभियान चलिरहेको छ ।

शनिवार भरतपुरमा साङ्गीतिक कार्यक्रम भएको थियो भने आज रत्ननगरलगायत क्षेत्रमा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

उक्त अभियानमा राष्ट्रवादी गीत तथा नृत्यहरु प्रस्तुत गरिएको छ । शनिबार भरतपुरका विभिन्न चोकमा कार्यक्रम भएको थियो । आज चितवनको रत्ननगर, पर्सा चोकमा रक्तिम सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने अभियानका अध्यक्ष शर्माले जानकारी गराए ।

सो कार्यक्रममा तेलसित देश नसाट, भूकम्पले भत्काएको मन झन दुखायो नाकाबन्दीले, नेपालीेले सास्ती खायो इतिहासका गलत सन्धिले, सङ्कट पर्दा नहुनु हतासजस्ता उत्प्रेरणामूलक गीत प्रस्तुत भएको थियो ।

शर्माको चर्चित गीत ‘सिमली छायाँमा बसी…’ ले दर्शकलाई उत्साहित पारेको छ । नाकाबन्दी जस्तो विषम परिस्थितिमा गीत तथा नृत्यबाट जनतालाई केही राहत मिल्ने अपेक्षा रक्तिम सांस्कृतिक अभियानले लिएको छ ।

अभियानमा १० जनाको कलाकार टोली सहभागी छन् । चितवनबाट बुटवल, दाङ हुँदै पश्चिमका जिल्लामा जाने आयोजकले बताएको छ ।