अलिकति खम्बाहरू थप्न सकियोस्,
टेकाहरू हाल्न सकियोस्
केही कब्जाहरू, किलाहरू,
काँटीहरू थप्न सकियोस्
र घरलाई अलिकति बलियो बनाउन सकियोस्
त्यसपछि त्यो बलियो तलामा उभिएर
दुईओटा पहलमानले कुस्ती गरौँला ।
मदन भण्डारी नेपाली राजनीतिमा जति चर्चित हुनुहुन्छ, त्यति साहित्यिक क्षेत्रमा हुनुहुन्न तर उहाँको साहित्यिक पाटो पनि राजनीति जत्तिकै बलियो छ । उहाँको राजनीतिक जीवनको थालनी हुनुभन्दा अगाडि नै साहित्यिक जीवनको थालनी भएको यथार्थ छ । विद्यार्थी जीवनमा बनारसमा बस्दा विभिन्न साहित्यिक कार्यक्रमहरूमा पुरस्कार तथा सम्मान पाउनुभएका मदन भण्डारीले २०२७ सालतिर प्रशस्त कविता र गीतहरूको रचना गर्नुभएको थियो । उहाँका तत्कालीन अग्रज सहयोद्धा मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्र आदिको उत्प्रेरणामा उहाँले विचार प्रधान युगीन सिर्जनाहरू गर्नुभएको थियो जुन रचनाहरू अहिले मात्र फेला पर्न थालेका छन् । यसैको प्रतिफलका रूपमा नेकपा एमाले प्रकाशन विभागबाट प्रकाशित ‘मदन भण्डारीका सङ्कलित रचनाहरू’ (भाग ४, २०६९) र राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट प्रकाशित ‘मदन भण्डारीका कविता र गीतहरू’ (२०७१) कृतिहरू तयार हुन पुगेका हुन् । उल्लिखित दुवै कृतिमा मदन भण्डारीद्वारा लिखित तीन दर्जनभन्दा बढी कविता र गीतहरू समावेश भएका छन् ।
मदन भण्डारीको जीवन काललाई हेर्ने हो भने २०४६ सालको परिवर्तनपछि उहाँको राजनीतिक जीवनको गति दिन दुगुना र रात चौगुनाका मात्रामा विकसित हुँदै गएको देखिन्छ तर २०२० को दशकको उत्तरराद्र्ध र ३० को दशकको पूर्वाद्र्धमा उहाँले दिएका साहित्यिक योगदानहरू भने अहिलेसम्म पनि छाँयामा नै परिरहेका छन् । त्यस समयमा भण्डारीको व्यक्तित्व राजनीतिमा भन्दा बढी साहित्यमा समर्पित थियो । विशुद्ध राजनीतिक कार्यक्रममा कवि भण्डारीको उपस्थिति अति कममात्र हुन्थ्यो । सन् १९७२÷७३ मा छात्र समितिका सदस्य, सन् १९७३ मा साहित्य उपसमितिका संयोजक, ‘छात्रप्रभा’ पत्रिकाका प्रधानसम्पादक र २०२९ सालमा पुष्पलालबाट आयोजित क्रान्तिकारी बुद्धिजीवी सम्मेलनबाट केन्द्रीय सदस्यसम्म भएर भण्डारीले साहित्यका क्षेत्रमा काम गर्नुभएको थियो ।
प्रवासमा रहँदा कवि भण्डारी विभिन्न छद्मनामबाट कविता सिर्जना गर्नुहुन्थ्यो । त्यस अवधिमा चर्चित उहाँका छद्मनामहरू सागर, मोती, सङ्ग्रामसिं, श्वेतशार्दूल, हलीदाइ, बाटुलीका बा आदि मानिन्छन् । उक्त समयमा बनारसदेखि लिएर सिलाङसम्मका नेपाली पत्रिकाहरूमा उहाँका कविता तथा अन्य रचनाहरू प्रकाशित भएका थिए । उहाँले केवल कविता मात्र लेख्नुभएन, कथा र निबन्धहरू पनि तत्कालीन विभिन्न पत्रिकाहरूमा प्रकाशित छन् तर उहाँका कवितात्मक सिर्जनाहरूमा भने युगीन यथार्थको प्रतिविम्ब र सामाजिक जागरणका अनेकौँ पक्षहरू समेटिएका छन् । कवि भण्डारीका कविताहरू भाव र विचार दुवैमा सशक्त देखिन्छन् । उहाँले कविता लेखनको थालनी नै शास्त्रीय छन्दबाट गर्नुभएको हो । छन्दमा सरस र सुमधुर कविता लेख्ने भण्डारी २०२६÷०२७ तिर केही राजनीतिक विषयवस्तु सोध्नका लागि बनारसमा मोहन चापागाईंसँग जानुभएको र चापागाईंले यस्ता दाह्री नै नपलाएका ठिटाले राजनीति सिक्ने हो ? भनेपछि घर फर्केर “नेता हुन्थेँ म पनि कि कतै दाह्रि हो उम्रउम्र” भन्ने मन्दाक्रान्ता छन्दमा व्यङ्ग्यात्मक कविता रचना गरेको रोचक प्रसङ्ग कवि मोदनाथ प्रश्रित बताउनुहुन्छ ।
कवि मदन भण्डारीको कविता लेखनको थालनीसँगै उहाँसमस्यापूर्ति कविता–सिर्जनामा सशक्तरूपमा देखापर्नुभएको थियो । सन् १९७३÷३÷११ का दिन कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनारसमा सम्पन्न भएको साहित्य गोष्ठीमा कवि भण्डारीका ‘मित्र पो चिन्नुपर्छ’ समस्यापूर्तिमा र ‘लौ उत्र सङ्घर्षमा’ पद्यसाहित्यमा गरी दुवै कवितामा प्रथम हुनुभएको थियो । उक्त दुवै कविता तत्कालीन ‘छात्रप्रभा’ पत्रिकामा प्रकाशित भएका थिए । त्यसै समयमा वाराणसीको पसिना प्रकाशनबाट कवि भण्डारीको ‘भर्तीवाले पोइलाई चिठी’ कविता प्रकाशित भएपछि उहाँलाई साथीहरूले ‘बाटुलीका बा’ भनी सम्बोधन गर्न थाले । कहिलेकाँही ‘हलीदाइ’ उपनामले पनि कविता लेख्ने कवि भण्डारीको २०३२ सालमा प्रकाशित ‘सुस्केरा’ पत्रिकामा ‘गोरु फुकाऊ हली हो’ शीर्षकको कविता प्रकाशित भएपछि भने उहाँले ‘हलीदाइ’का नामले व्यापक चर्चा पाउनुभयो ।
मदन भण्डारी कविमात्र नभएर कुशल सम्पादक पनि हुनुहुन्थ्यो । उनी २०२९÷०३० मा ‘छात्रप्रभा’ पत्रिकाका प्रधानसम्पादक हुनुहन्थ्यो । छात्रप्रभाको सम्पादनका क्रममा उहाँले सम्पादकीय नै शास्त्रीय छन्दमा लेखेको पाइन्छ । त्यसको एउटा नमुना यस्तो छ–
कुन्दा बन्दुकका तिखा कलमले सामन्तका छातिमा
रोपी च्वाप्प चुहाउ“दै रगतको रातो मसीले यहा“ ।
नेपाली दिलभित्रका दमनको बेथा खुला लेखियो
मान्छे हो, सुन यै व्यथा प्रगतिको साहित्यको स्रोत हो । ।
कवि भण्डारीले २०२८÷२९ तिर नै यस देशमा राजा आवश्यक छैनन् भन्ने भावको क्रान्तिकारी कविता सिर्जना गरिसक्नुभएको थियो । शार्दूलविक्रीडित छन्दका पाँच पद्यमा संरचित ‘लौ उत्र सङ्घर्षमा’ यही कुराको साक्ष्य हो । राजालाई सम्बोधन गरेर थालिएको उक्त कवितामा स्वतन्त्रता र नागरिक अधिकारका बाधक राजा हुन् भन्ने कुराको सङ्केत गर्दै त्यतिबेला नै जनतालाई सङ्घर्षमा उत्रिन कविले आह्वान गर्नुभएको छ ।
कवि भण्डारीका कविताको विषयवस्तु मूलतः माक्र्सवादी चिन्तनमा नै केन्द्रित हुन्थ्यो । भावधारा र विचारधाराको समुचित संयोजनमा उहाँका कविताहरू पूर्णतः सफल देखिन्छन् । मन्दाक्रान्ता छन्दका छ पद्यमा संरचित ‘मित्र पो चिन्नुपर्छ’ समस्यापूर्ति कविताको विषयवस्तु सामाजिक असमानता, शोषक र शोषितको सामाजिक संरचना र क्रान्तिको सन्देश रहेको छ ।
भर्तीवाले पोइलाई चिठी’ कवि भण्डारीको अर्को वैचारिक कविता हो । यस कवितामा लाहुरे भएको श्रीमानलाई घरमा भएकी श्रीमतीले आफ्ना व्यथाहरूलाई समेटेर लेखेको चिठीलाई विषयवस्तु बनाइएको छ । झिनो आख्यानलाई भावनामा घोलेर कवित्व प्रदान गरिएको यो कवितामा सामन्ती समाजमा एउटा गरिब परिवारले जीवन धान्न गाह्रो हुन्छ भन्ने भाव व्यक्त गरिएको छ । वैचारिक दृढता कवि भण्डारीका कविताको उल्लेखनीय विशेषता हो ।
मदन भण्डारीले केही गीतहरू पनि लेख्नुभएको छ । तत्कालीन अवस्थामा ‘उजेली’, ‘भानूदय’, ‘झिसमिसे’, ‘नयाँ पाइलो’, ‘मिर्मिरे’लगायतका केही साहित्यिक पत्रपत्रिकामा केही कविता र केही गीतहरू छापिएका थिए । ती गीतहरूमा किसान जागरण र नारी जागरणको जीवन्त भाव विधान पाइन्छ । नेपाली समाजमा पाइने लैङ्गिक विभेद वा छोरा र छोरीका बीचमा देखाइने भेदभावपूर्ण व्यवहार आदिको यथार्थ चित्रण गर्दै नेपाली नारीहरूलाई चेतना र जागरणको सन्देश दिन सफल यस्ता सिर्जनाहरू गीतकार भण्डारीका सिर्जनात्मक वैशिष्ट्यका साक्ष्यहरू हुन् ।
कवि भण्डारीका अहिलेसम्म प्राप्त कविता र गीतहरूमा नेपाली जीवनको पीडित पक्षको स्वर पाइन्छ । निम्नवर्गीय सामाजिक संरचनाप्रतिको सहानुभूति, शोषणप्रतिको आक्रोश, जीवन भोगाइप्रतिको आशावादिता, मानवीय स्वाभिमानको खोजी र शिष्ट, सभ्य र समतामूलक समाजको परिकल्पना जस्ता कुराहरू भण्डारीका कविताभित्र जताततै सल्बलाएका पाइन्छन् ।
कवि भण्डारीको यही सिर्जनात्मक प्रतिभाका कारण उहाँको राजनीतिक जीवन सफल भएको हो । उनको प्रखर वक्तृत्व, आलङ्कारिक शब्द संयोजन, धाराप्रवाह शैली र मनमोहक वाक्य गठनमा कवित्वको प्रबल उपस्थिति देखिन्छ । यसै कारण उहाँका भाषणहरूमा पनि अनेकौँ कवितात्मक बान्कीहरू पाइन्छन् । साहित्यिक अभिव्यक्ति, प्रतीकात्मक प्रस्तुतीकरण, कवितात्मक औपदेशिकता र सूक्तिमय प्रवाहशीलता उहाँका भाषणमा पाइने विशेषताहरू हुन् । भाषण गर्न मञ्चमा उभिएका जननेता भण्डारीलाई जनकवि भण्डारीले जहाँ पनि पछ्याइरहेको देखिन्थ्यो ।
संस्कृत साहित्यका अनेकौँ सरस र आलङ्कारिक काव्यहरूको अध्ययन गरिसकेका हुनाले उहाँका भाषणमा पनि त्यही प्रभाव अभिव्यक्त भएको हो । प्रजातन्त्रप्राप्तिका लागि हातेमालो गर्दै हिँडेका दुई शक्ति प्रजातन्त्रको जग पनि नबस्दै एकआपसमा लुछाचुँडी र तानातान गर्न थालेपछि देशको भविष्य पुनः अन्धकारतिर धकेलिन सक्ने सम्भाव्यतालाई ध्यानमा राखेर भण्डारीले सदनमा दिएको यो अभिव्यक्ति आज पनि उत्तिकै सान्दर्भिक लाग्दछ ।
यस बीचमा केही यस्तो खालको जीर्णोद्धारको काम गर्न सकियोस्
अलिकति खम्बाहरू थप्न सकियोस्,
टेकाहरू हाल्न सकियोस्
केही कब्जाहरू, किलाहरू,
काँटीहरू थप्न सकियोस्
र घरलाई अलिकति बलियो बनाउन सकियोस्
त्यसपछि त्यो बलियो तलामा उभिएर
दुईओटा पहलमानले कुस्ती गरौँला ।
छोटो साहित्यलेखनका अवधिमा पनि महŒवपूर्ण सिर्जना दिन सफल उहाँका रचनाहरू नेपाली साहित्यको प्रगतिवादी साहित्यलेखनका फाँटमा मात्र नभएर सिङ्गो नेपाली साहित्यजगत्कै अमूल्य निधि हुन् । उहाँका रचनाहरू भण्डारीलाई केवल राजनीतिक छाताभित्रको हृदयशून्य नेतामात्र देख्नेहरूका लागि घतलाग्दो जवाफ पनि हुन् तर शक्तिशाली हुँदाहुँदै पनि उहाँको जीवनमा यो सिर्जनात्मक पाटो भने अझैँ ओझेलमा नै देखिन्छ । उहाँका समकालीन स्रष्टाहरू र नेपाली साहित्यका अध्येताहरूका लागि यस कुराको खोजी एउटा महŒवपूर्ण कर्तव्य नै बन्न पुगेको छ ।
डा. देवी नेपाल