भ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर २०१३ को ‘विशिष्ट अतिथि राष्ट्र’ नेपाल

ACCENTAयही सेप्टेम्वर १४ देखि २२ सम्म सम्पन्न हुने “फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्ता)” मा यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर) को रुपमा नेपालको सहभागिता हुने भएको छ । सो फेयर बेल्जियमको ऐतिहासिक तथा साँस्कृतिक शहर गेन्टमा आयोजित हुँदैछ । बेनेलक्स मुलुकहरू (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) कै ठूला व्यापारिक मेलाहरूमा गनिने सो फेयरमा संसारभरिका मुलुकहरू सहभागी हुन्छन् । यसरी सहभागी हुने विश्वका साठी देशहरु मध्येबाट यस वर्षको निम्ति ‘गेस्ट अफ अनर’ को रुपमा नेपाल छानिएको हो ।
बेल्जियमका उप-प्रधान तथा रक्षा मन्त्री पिटर द क्रिमले सेप्टेम्वर १४ मा मेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । समारोहमा पाँचै महादेशका करिब सातसय उच्च ब्यापारिक प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।
सोह्र हजार वर्गमिटर क्षेत्रफलमा आयोजित हुने उक्त मेलाको मूलद्वारमा एक हजार अट्चालिस वर्गमिटर क्षेत्रफलमा नेपाली मण्डप निर्माण गरिनेछ । मूख्य प्रवेशद्वारलाई नेपाली काष्ठकलाले सिँगारिनेछ । त्यस अगाडी सगरमाथाको विराट चित्र राखिनेछ भने नेपाली कला र संस्कृति झल्किने अन्य चित्रहरुले सजाईनेछ । नौ दिने एक्स्पो अवधिभर युरो नेपाल कलाकार संघ बेल्जियमले नेपालको बहुल लोक संस्कृति झल्किने गीत, नृत्य र संगीतमय सांस्कृतिक कार्यक्रम गर्नेछन् । यसै अवसरमा बेल्जियमस्थित सँघ-सँस्थाहरूको सँयुक्त आयोजनामा एक दिने ‘नेपाल फेस्टिबल’ को छुट्टै आयोजना समेत गर्ने कार्यक्रम छ । एक्स्पो भित्रका ३२० स्टलहरु मध्ये नेपाली स्टलको संख्या ६० रहनेछ । त्यसबाहेक, नेपाली परिकारका निम्ति एक नेपाली रेष्टुरेन्ट संचालन गरिनेछ ।
त्यस्तै प्रवेषाज्ञासम्बन्धी र पर्यटन प्रबर्द्धनात्मक सामाग्रीहरु उपलब्ध गराउने हेतुले नेपाली दूतावासले समेत स्टल राख्ने बताइएको छ । नेपाली पक्षबाट एनआरएन बेल्जियम र नेपाली व्यवसायी संघ बेल्जियमले कार्यक्रमको व्यवस्थापन गर्दैछन् ।
यसअघि गत मार्चमा प्रचारप्रसारका लागि बेल्जियमको डचभाषी सरकारी टेलिभिजन भी.आर.टी. लाई नेपालबारे वृत्तचित्र निर्माण गर्न पठाईएको थियो । नेपालको कला र सँस्कृति झल्किने गरी तयार पारिएको वृतचित्र यही एक्स्पोका अवसरमा भी.आर.टी. को ‘च्यानल एक’ बाट प्रसारण गरिने सो च्यानलको क्याटलगमा परिसकेको छ । वृत्तचित्रमा काठमाडौं, पोखरा, चितवन, भक्तपुर लगायत विभिन्न ठाउँहरूको सुन्दर वर्णन गरिएको जानकारी गराउँदै एक्स्पोले नेपालको ब्यापार तथा पर्यटन प्रबर्द्धनमा ठूलो सहयोग मिल्ने ट्रेड फेयरका नेपाली संयोजक अर्जुनकुमार श्रेष्ठले बताउनु भएको छ । नेपाल व्यवसायी सँघका पूर्व अध्यक्ष तथा एन आर एन बेल्जियमका निवर्तमान आइ. सी. सी. प्रतिनिधि श्रेष्ठले अन्तर्राष्ट्रिय ट्रेड फेयरको पूर्ण तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । ट्रेड फेयर लाखौंले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपाल जस्तो सानो स्केलमा आयात-निर्यात ब्यापार गर्ने मुलुकलाइ ‘विशिष्ट अतिथि राष्ट्र’को अवसर दिइनुमा यहाँको नेपाली समुदायको भूमिका रहेको बताइएको छ ।