भिडियो गेमिङको साहित्य साइनो!

कथाहरूमा भुल्ने रमाउने मान्छेहरूको पुरानै रुचि हो। हरेक मान्छेले केही न केही टिभी कार्यक्रमहरू हेरेकै हुन्छ। केही फिल्महरू पनि अवश्यै हेरेको हुन्छ। एक या दुई उपन्यास पनि पढेकै हुन्छ। भलै उपन्यास नपढेको भए पनि केही कथाहरू पढेकै हुन्छ। तर धेरै मान्छेहरू हुन्छन्, जिन्दगीमा एउटै भिडिओ गेम खेलेको हुँदैन। तपाईं भिडिओ गेम खेल्ने वर्गमा पर्नुहुन्छ कि नखेल्ने वर्गमा?

वर्तमान विश्वको सत्य के हो भने फिल्म इन्डस्ट्री र उपन्यास लगायतका पुस्तकहरूको समग्र व्यापार जति छ, त्यति नै छ गेमिङको बजार।

उपन्यास, फिल्म र भिडिओ गेमको तुलना मैले यहाँ किन गर्दै छु भने यी मिल्दाजुल्दा विधाहरू हुन्। यी तिनैको एउटा समानता के छ भने, यी सबैले एक कहानी भन्छन्। यी सब बौद्धिक र सांस्कृतिक विलासका माध्यम हुन्। एउटा उपन्यासको आफ्नै कहानी हुन्छ, कहानी सुनाउने उपन्यासकारको आफ्नै कला हुन्छ। प्रविधिको विकासले कहानी पस्कने अर्को लोकप्रिय माध्यम बन्यो- फिल्म। हरेक निर्देशकको कथा पस्कने आफ्नै शैली हुन्छ। यी नै फिल्मको रजगज चल्यो, बिसौँ शताब्दीमा। एक्काइसौँ शताब्दीमा कहानी पस्कने नयाँ लोकप्रिय माध्यम बनेको छ- भिडिओ गेम।

मेरो दस वर्षे छोराको पहिलो प्रेम हो, भिडिओ गेम। मेरो फुच्चे छोराको के कुरा, म जुन अफिसमा काम गर्छु, मेरो विभागमा तीन जनाको टिम छ। शौकको कुरा गर्‍यो भने मेरा दुई निकट सहकर्मीको पहिलो छनौट हो- गेमिङ। कहिलेकाहीँ लन्च आवरमा उनीहरू गेमको कथा भन्छन्, म उपन्यासको कथा भन्छु। किनकि मलाई साहित्य मन पर्छ र म दोस्रो आख्यान पुस्तक प्रकाशनको क्रममा छु। 

उनीहरूले भन्ने कहानीमा म एक से एक गतिशील कथाको अनुभव पाउँछु। विविध भावका तरेलीहरू हुन्छन् त्यहाँ। जब मैले मेरो प्रकाशोन्मुख कथा- सङ्ग्रहको कुरा गरेँ। एउटा साथीले सुझायो- ‘अब तिमी भिडिओ गेमको कथा लेख।’ मैले फिस्स हाँस्दै भनेँ- ‘ह्वाइ नट!’

उपन्यासमा आधारित भएर जसरी अनेक फिल्म बनेका छन्, हिजोआज उपन्यासका कथामा अनेक भिडिओ गेमहरू पनि बनेका छन्। त्यसै गरी भिडिओ गेमको कथामा आधारित भएर अनेकौँ उपन्यास लेखिएका छन् र थुप्रै फिल्महरू बनेका छन्, पश्चिमी देशहरूमा। उपन्यास, फिल्म र भिडिओ गेमका कथाहरू उता-उता सापटी लिने र पर्म तिर्ने भइरहेको छ।

गेमिङको फस्टाउँदो व्यापार र आकर्षणले संस्कृतिका अन्य विधाहरूलाई पुरै प्रभावित गरिदिएको छ। र, सुन्दर उपलब्धिहरू प्राप्त गरेको छ। विश्व बजारमा, उत्कृष्ट फिल्म भनौँ वा उपन्यासको चर्चाको तुलनामा गेमिङको सफलता जबरजस्त रूपमा बढ्दो छ। त्यसैले त कतिपय भिडिओ गेम कम्पनीहरूले कथा लेखनका लागि इन-हाउस कथाकारहरूलाई नियुक्त नै गरेका छन्। यी कथाकारहरू गेमको कथा विकास गर्ने, न्यारेटिभहरू लेख्ने, पात्रहरूलाई बहुआयामिक कहानीमा खेलाउने र गेमको सम्पादनमा कहानी समायोजन गर्ने गर्छन्।

स्वभावतः उपन्यास, फिल्म र गेमिङ एउटै विधा होइनन्। एउटाले अर्कोलाई पूर्णतः प्रतिस्थापन गर्छ भन्ने कुरा पनि होइन। तर भिडिओ गेमहरू, उपन्याससँग तपाईंले सोचेभन्दा धेरै मिल्दोजुल्दो हुन्छन्। अनि उपन्यास भिडिओ गेमसँग। यी मिल्दाजुल्दा विधाहरू भएकोले एकको रुचि अर्को विधामा सर्ने हुनसक्छ।

आखिर यी सब मनोरञ्जनका रूपहरू नै हुन्। तथापि, पढाइलाई एक लाभदायक गतिविधिको रूपमा चिनिन्छ, जब कि गेमहरू प्राय: खराब रूपमा चित्रित गरिन्थे। सामान्यतया, आख्यान पठनको लागि एक खालको मानसिक परिश्रमको आवश्यकता पर्दछ र गेमिङको तुलनामा अधिक दिमाग खेलाउनु पर्ने खालको हुन्छ। पठनले आलोचनात्मक रूपमा सोच्न, विश्लेषण गर्न र तार्किक हुन उद्धत गर्छ।

अर्कोतर्फ, गेमहरू अन्तरक्रियात्मक हुन्छ। पहेलीहरू सुल्झाउनु पनि पर्छ। यसर्थ गेमरहरू अत्यन्त सतर्क हुनु आवश्यक हुन्छ। जसले गर्दा भिडिओ गेमहरू श्रव्य दृश्य गेम मात्र नरहेर, साहित्यिक गेम बनेका छन्। फिल्मको तुलनामा त गेमहरू यसै पनि बढी इङ्गेजिङ हुन्छन् नै। फिल्ममा भन्दा भिडिओ गेममा गेमरले कथाको दुनियाँ अन्वेषण गर्ने, कथाको मोडहरूमा निर्णय लिने, न्यारेटिभहरू नै फरक पारिदिने र कथाको नतिजा नै उल्टोपुल्टो गराउन सक्छ।

भिडिओ गेमहरूले अनेक थरी कहानी भनिरहेका हुन्छन्। अझ भनूँ, एउटा गेमर त्यो कहानी विकसित गर्ने स्टेरिङमा हुन्छ। त्यहाँ आम-संहार गर्ने र संसार बचाउने जस्ता कहानी हुन्छन्। अथवा कुनै खेल जित्ने रणनीतिक विजेता हुन्छ। त्यहाँ विदेशी वा अर्कै ग्रहबाट आक्रमण भएको हुनसक्छ, गेमरले युद्धका कैदीहरूलाई मुक्त गर्नुपर्ने हुनसक्छ, समुद्री डाकूहरूबाट जहाजहरू बचाउन पर्ने हुनसक्छ वा रक्तपिपासु राक्षसहरूको चङ्गुलबाट राजकुमारीलाई बचाउनु पर्ने हुनसक्छ। र ती सबै प्राय: एकै दिनमा फत्ते गर्नुपर्ने हुन्छ।

मैले पनि भिडिओ गेम खेलेर संसारलाई पटक-पटक विनाशबाट बचाएको छु। केही पटक छोरोको नितेन्दो कन्सोलमा र केही पटक साथीको प्ले-स्टेसन फोरमा। मलाई जसरी उपन्यास वा कथा लेख्दा मजा लाग्छ, त्यस्तै मज्जा लाग्छ गेमको यो अनौठो नयाँ संसारमा। कहिले यही दुनियाँमा त कहिले अन्तरिक्षको काल्पनिक अनन्त संसारमा कहानीको प्रमुख हिरो बन्ने अत्याधुनिक प्रविधिले साँच्चिकै हो जस्तो जादुयी अनुभव दिन्छ। गेमको भाषा र नियमहरूमा म पारङ्गत हुनै पर्छ र नयाँ कहानी रच्न म उत्साहित हुन्छु।

गेमिङ भनेको केवल प्राविधिक बनावट र कार्यसम्पादन मात्र होइन। यसमा कलात्मक र सांस्कृतिक अभिव्यक्तिको मिश्रित शिल्प हुन्छ। भिडिओ गेम निर्माताहरूले कथाहरू सुनाउने नयाँ प्रभावशाली तरिकाहरू खोजिरहेका हुन्छन्। त्यो पनि पाठकलाई अन्तरक्रियात्मक बनाएर। नवीन रूपहरू, प्रविधिहरू वा शैलीहरू प्रयोग गर्छन्। उनीहरूले हाम्रो समयका प्रमुख मुद्दाहरूलाई कथामा ढालेर सम्बोधन गर्ने साहस पनि गरिरहेका हुन्छन्। उपन्यासको जस्तो कथा, गेमको जस्तो रोमाञ्च र सिनेमाको जस्तो चलचित्र प्रविधिको सिनर्जी हुने भएकोले भिडिओ गेमहरू नव उदारवादी व्यक्तिवादी जमानामा व्यापक रूपमा लोकप्रिय पनि हुँदै छन्।

भिडिओ गेमका पनि विधा हुन्छन्, फिल्म र उपन्यासका जस्तै। कतिपय भिडिओ गेमलाई साहित्यिक गेमभन्दा पनि फरक पर्दैन। यी गेमहरू खेल्दा यस्तो लाग्छ, भविष्यका उपन्यासहरू भिडिओ गेममा खेल्दै पढिनेछन्। फिल्म/उपन्यासमा आधारित भिडिओ गेम र भिडिओ गेममा आधारित उपन्यास/फिल्महरू बनिरहेका र लेखिइरहेका त छँदै छन्। यो क्रम दिनानुदिन बढ्दो छ।

जस्तो कि- मिस्ट्री-थ्रिलर ‘लाइफ इज स्ट्रेन्ज’ वा ‘याकुजा’ को जासुसी कथा। यी खेलका नायकहरू र अगाथा क्रिस्टी वा आर्थर कोनन डोयलका कृतिहरूका बीचमा सजिलैसँग तुलना गर्न सकिन्छ। त्यसै गरी ‘एल्सीनोर’ नामक गेमको सेटीङ र पात्रहरू ‘द लर्ड अफ द रिङ्स्’ र ‘ह्यारी पोटर’ बाट लिइएका छन्। ‘फाइनल फेन्टासी’ सिरिजका गेमहरूमा पनि साहित्यिक कथा पाइन्छन्। उदाहरणको रूपमा प्लट हुन्छ- चोरहरूको एक ग्याङले राजकुमारीलाई अपहरण गर्ने षड्यन्त्र गर्छ र संसारका विभिन्न भागमा सङ्घर्ष हुन्छ। कतिपय गेममा पात्रहरू डिप्रेसनका सिकार हुन्छन् र गेमरले त्यो पात्रको उद्धार गर्नुपर्ने हुन्छ।

संसार यति छिटो परिवर्तित भइरहेको छ कि भिडिओ गेम नखेल्नेको सङ्ख्या दिनानुदिन लाखौँमा घटिरहेको छ। त्यसैले त आजको जमानामा टिभी, फिल्म र उपन्यासभन्दा फस्टाउँदो व्यापार बनेको छ- गेमिङ। व्यापार मात्र होइन, गेमिङको साइनो साहित्यिक कथा वाचनसँग पनि छ। र, यो साहित्यिक उपन्यास जस्तै कथा वाचनको नयाँ फाँट हो।

भिडिओ गेमको कथामा आएको विकास र यसको लोकप्रियताले साहित्यिक बजारको गतिशीलतामा फरकपन ल्याएको छ। जसले गर्दा आख्यान, नाटक वा फिल्मको बराबरीमा गेमहरूलाई कहिल्यै कलाको रूपमा स्विकारिने छ कि छैन भन्ने बहस पक्कै समाप्त भएको छ।

  • Post category:TOP STORIES