भागबण्डाको विवादले गठन भएन प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा–प्रतिष्ठान, संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठान अहिले पदविहिन अवस्थामा छन् । सत्तारूढ काँग्रेस र एमालेका बीचमा कुलपति कस्को मान्छे बनाउने भन्ने कुरामा कुरा नमिल्दा नयाँ नियुक्ती हुन नसकेको हो ।

nepal-academyसमयमै कुलपति, उपकलुपति, सदस्य–सचिव र प्राज्ञहरू नियुक्त नगरिँदा निश्चय नै काम–कारबाहीहरू प्रभावित बन्न पुगेका छन् । सात महिनाअघि नै रिक्त हुन पुगेको थियो, नेपाल प्रज्ञा–प्रतिष्ठान लगायतका पद । सात महिनाअघि कुलपति, उपकुलपतिलगायत प्राज्ञहरूको अवधि सकिएपछि संस्कृतिमन्त्री भीमप्रसाद आचार्य संयोजक र पूर्वकुलपति वैरागी काइँला र डा.शिवहरि मरहठ्ठा रहेको सिफारिस समिति गठन भएको थियो । मन्त्रालय स्रोतका अनुसार, उक्त कमिटीले प्रधानमन्त्री सुशील कोइरालासामु नियुक्तिका लागि सिफारिस भएका प्राज्ञहरूको नाम पेश गरिसकेको छ । फाइल प्रधानमन्त्रीको घर्रामा अड्किएको छ । अड्किनुको कारण हो- काँग्रेस र एमाले दुबैले प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा दावा गर्नु । संस्कृति मन्त्री एमालेको भएको कारण कुलपतिमा एमालेकै अनुहार ल्याइनु पर्ने एमालेको जिकीर छ । तर, प्रधानमन्त्रीले भने कुलपतिमा आफ्नै पार्टीसम्बद्ध स्रष्टालाई ल्याउने इच्छा राखेका छन् । किनकी काँग्रेसनजिक स्रष्टाहरूले पनि रूचि राखेर प्रधानमन्त्रीलाइ दबाब दिइरहेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको गठनमा भइरहेको ढिलाइले अरू दुई प्रज्ञा–प्रतिष्ठान गठनमा पनि स्वत: ढिलाइ भइरहेको छ ।
गएको वैशाखमा रिक्त हुन पुगेको संगीत–नाट्य एकेडेमी र ललितकला एकेडेमीको गठन प्रक्रिया पनि प्रभावित बन्न पुगेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा कुरा नमिल्दासम्म सबै काम सल्टिने अवस्था देखिँदैन ।