विश्वकप फुटबलमा एकथरी मानिस सधैँ ब्राजिल र अर्जेन्टिनाको संभावना देख्छन् । ब्राजिल र अर्जेन्टिनाको टीम चिने पनि नचिने पनि यी भनेका ‘ठूला नाम’ हुन् भन्ने मनोविज्ञानले काम गर्छ । अर्कोतर्फ ठूला टीममा आत्मविश्वास हुन्छ- हामी जित्छौँ भन्ने । आत्मविश्वास एक सकारात्मक पक्ष हो, तर त्यही मात्र पर्याप्त हुँदैन ।
अर्जेन्टिनासँग स्विट्जरल्यान्डको प्रदर्शन तारिफयोग्य थियो। कतिपयले स्विस टोली अर्जेन्टिनासँग केही नर्भस भएर हारेको पनि भने। वास्तवमा, स्विट्जरल्यान्डलाइ युरोपमा ‘फुटबल देश’ का रूपमा चिनिन्न । र स्विस टोली हेर्दा पनि त्यहाँ स्विस मूलका भन्दा पूर्वी युरोपेलीहरूको वर्चस्व छ । ती खेलाडि युरोपका ठूला क्लबबाट खेल्छन् र उनीहरूमा प्रशस्त एक्सपोजर छ । नेपाल जस्तै पहाडी मुलुक स्विट्जरल्यान्डमा अर्जेन्टिनाको तुलनामा फुटबलको क्रेज कमै छ । तैपनि स्विसहरूले ‘ठूलो नाम’ अर्जेन्टिनालाइ हम्मे हम्मे पारे । ४ पटक ‘विश्व खेलाडि’ छानिएका मेसीले स्वीकारेका छन् – स्विट्जरल्यान्डसँग अन्ततिर पनि गोल गर्न नसक्दा नर्भस भइयो ।
विश्वकप फुटबलको ट्रफी अहिलेसम्म पश्चिम युरोप र दक्षिण अमेरिकाका ८ टोलीबीच वरिपरि घुमिरहेको छ। यी देशहरूमा फुटबलको ठूलो क्रेज छ र फुटबल खेलाडिको आम्दानी पनि अत्यन्त राम्रो छ । त्यसैले स्टार खेलाडिहरू यतै जन्मन्छन् ।
खेलमा स्टार खेलाडीको प्रदर्शनले फरक पार्छ। स्विट्जरल्यान्डविरुद्ध लियोनल मेसी नायक बने। उनलाई स्विसका रक्षकले बढी मार्किङ गरे। त्यति मात्र होइन खेलअवधिभर २ रक्षक उनको वरिपरि हुन्थे । मेसी जस्ता स्टार खेलाडि हुनु टीमको लागि ठूलो भरोसाको कुरा हो तर एक्लो स्टारको आडमा खेल्दा पुरै टीम राम्रो नभए अर्को खेलाडिले गोल हान्न गारो पर्छ । डिफेन्सहरू मेसीलाई रोक्न सफल हुँदा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न अर्जेन्टिनालाइ मुस्कील पर्यो र अन्तसम्म कुर्नुपर्यो ।
१ सय १८औं मिनेटमा गोल खाएपछि भने स्विट्जरल्यान्ड एक्कासि एट्याकिङमा उत्रियो। अन्तिममा अर्जेन्टिनालाई धेरै दबाबमा राखे। त्यो उनीहरूको सफलता हो। युरोपको एक सामान्य टीमसँग मुस्किलमा परेर अर्जेन्टिना हावी हुन नसक्नु उनीहरूको नामअनुसार काम नहुनु नै हो ।
निश्चित रूपमा अर्जेन्टिना विश्व फुटबलमा बलियो टोली हो। माराडोनाको पालादेखि नै यसले थुप्रै फ्यान कमाएको छ । आफ्नो मातृभूमिले फुटबलमा करामत नगर्दा हामी कतिपयलाइ कसको समर्थन गर्ने समस्या आइपर्छ । अनि हाम्रो नेपाल जस्तो देशका मान्छेहरू माराडोनाको अर्जेन्टिनालाइ समर्थन गर्छन् ।
त्यस्तै ‘फुटबलको राजा देश’ ब्राजिल विश्वकपको सधैँ दाबेदार मानिन्छ । ब्राजिलियन कोचले गत वर्ष क्षेत्रिय देश चिलीसँग मैत्री खेल खेल्ने सन्दर्भमा चिलीलाइ होच्याएका थिए । उनले प्रोफेसनल खेलाडिहरूले भरीएको युरोपसँग खेल्न चाख भएको, र चिलीसँग खेल्नु समयको बर्बादी भएको कमेन्ट गरेका थिए । तर यसपालीको नकआउट चरणमा ब्राजिलले त्यही चिलीलाइ भाग्यले जित्यो, पेनाल्टिमा । ब्राजिलमा आफैले आयोजना गरेको यसपालीको कप जित्ने ठूलो जनअपेक्षा छ तर चिलीभन्दा राम्रो मानिएको कोलम्बिया ठूलो तगारो बनेर खडा छ । कोलम्बियाका रोद्रीगेजले यति सनसनी फैलाएका छन् कि उनी दोस्रो माराडोना हुन् भन्न थालिएको छ ।
यसपालीको विश्वकपमा दक्षिण अमेरीकी देशहरू चम्कीएका छन् तर त्यो ब्राजिल र अर्जेन्टिनाको कारणले होइन की तिनका छिमेकी देशहरूको करामतले हो । कोलम्बियाको टीमसँग ‘ठूलो नाम’ ब्राजिलले हारेमा आश्चर्य हुने छैन ।
त्यस्तै विश्वकप नजितेका बेल्जियम र नेदरल्याण्डस् अघि बढेमा पनि आश्चर्य मान्नु पर्ने छैन । यी देशका खेलाडिहरूले युरोपका महंगा र व्यवसायीक क्लबहरू भरीएको यथार्थ हो । विश्वकपमा चम्कीएका खेलाडिहरू पनि आफूलाइ तिनै महंगा युरोपेली देशहरूमा बिकाउन प्रयास गर्छन् ।
खासगरी, बेल्जियम टिम प्रतिभावान युवा खेलाडीले भरिएको छ। उनीहरूमा खेल जित्नुपर्ने भावना छ। बेल्जियमको जत्तिको एक्स्ट्रा खेलाडिको बेन्च अर्को कुनै देशको छैन भनिन्छ, त्यसैले एक्स्ट्रा टाइममा खेल्नु बेल्जियमका निम्ति झन् सुगम बन्छ ।
यसरी हेर्दा, यसपालीको विश्वकपमा परम्परागत ‘पावर हाउस’ देशहरूलाइ साना देशहरूले राम्रै चुनौति दिने संभावना प्रबल छ ।