बेल्जियममा भिम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप

Bhim rawal NGF Belgiumआइतवार एमाले नेता भिम रावलको प्रमुख आतिथ्यमा भएको एन. डि. एफ. बेल्जियमको अधिवेशनमा खिचातानी हुँदा बेल्जियन प्रहरीले हस्तक्षेप गर्नुपर्ने स्थिती श्रृजना भयो । कार्यक्रमका प्रमुख अतिथि रावलले बोल्ने क्रममा बाधा भएपछि तनाव बढ्दै जाँदा कार्यक्रम अस्तव्यस्त बनेको थियो ।

बेल्जियमको दोस्रो ठूलो शहर आन्तवर्पेनमा भएको त्यस कार्यक्रममा नेपाली राजदूत राममणि पोख्रेल समेत अतिथि थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेता रावलले एमाले जनजातिको हितमा लागेको दावी गर्दै एक जनजाति गायकको स्वदेश गान समेत प्रस्तुत गरेका थिए । यस्तैमा एक जनजाति युवा जुरुक्क उठेर हुटिङ शुरु गरे, ‘भिम रावलको कुरा षडयन्त्र हो’ । उनलाईएकथरिले हुटिङ मै सहयोग गरे । कार्यक्रमस्थलमा ती व्यक्तिले ‘पहिचान विराधी मुर्दावाद, संघियता विरोधी मुर्दावाद, भिम रावल मुर्दावाद’ जस्ता नारा शुरु गरे । अर्कोतर्फ, एन. डि. एफ. का कार्यकर्ताहरुले पनि ‘भिम रावल जिन्दावाद’ को नारा लगाए । त्यसपछि आयोजकहरुले नारा जुलुस गर्नेहरुलाई हलबाट बाहिर निकाल्न खोजे ।  तिनले मानेनन् । त्यहाँ रहेका एन. डि. एफ. का महिलाहरुले कतिपयलाई समाउँदै बाहिर निकालेका थिए । करिब आधा घण्टा स्थिति अत्यन्त तनावपूर्ण रह्यो । त्यसपश्चात्, अतिथिहरूको सुरक्षार्थ प्रहरी बोलाइयो । प्रहरीहरु तैनाथ भएपछि भिड तितरबितर भयो । त्यसपछि बल्ल कार्यक्रम शुचारू भयो ।

स्मरणिय छ, यसअघि जनजाती महासंघ बेल्जियमका अध्यक्ष पि. जी. शेर्पाको नेतृत्वमा एक समूहले रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा रावल र उनको पार्टी एमाले सँघियताविरोधी भएकोमा रूष्टता व्यक्त गरिएको थियो ।
एमाले नेता भिम रावललाई अघिल्लो वर्ष पोर्चुगलमा भएको यस्तै प्रकृतिको कार्यक्रममा कालो झण्डा देखाइँदा ठूलो विवाद भएको थियो ।

नेपाली राजनीतिको दुरूस्त छाया पर्ने बेल्जियमको नेपाली समुदाय नेपाली नेताहरूको जस्तै छिनाझम्टीमा परेको छ । रावलको कार्यक्रममा हुटिङ गरेर बिथोलीदिएपछि आउँदा कार्यक्रमहरूमा पनि यस्तै अवरोध र प्रतिशोध बढ्ने हो की भन्ने चिन्ता बढेको छ ।
यसैबीच, नेकपा एमाले प्रवास कमिटी बेल्जियमका अध्यक्ष शिवकुमार वरुवालले फोटो खिँच्दै गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य शालिकराम गौतमको क्यामरा खोसेर क्षति पुर्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ, युरोप शाखाले निन्दा गरेको छ ।