लुभेन, बेल्जियम। मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। यही चासो छ विदेशमा बस्ने थुप्रै नेपालीहरूमा। विकसित पश्चिमा देशहरूमा नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा ती देशहरूमा नेपाली नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्। यसका निम्ति नेपाली पाठशालाको स्थापना गरेर पठनपाठन हुने गरेका छन्।
फ्रान्स, जर्मनी र नेदरल्याण्डको चेपमा रहेको बेल्जियममा करिब दस हजार नेपालीहरूको बसोबास छ। र, यहाँका प्रायशः नेपालीहरू आफ्नो देशसँग जोडिने कुरामा पनि उत्तिकै सजग छन्। बेल्जियमको ब्रसेल्स, एन्टवर्प र लुभेनमा विगतमा नेपाली नानीहरूका निम्ति नेपाली भाषा स्कूल संचालन गरिँदै आएका छन्।
बेल्जियमको सबैभन्दा ठुलो विश्वविद्यालय रहेको सहर लुभेनमा नेपालीहरू प्रमुख अल्पसंख्यक समुदायका रूपमा रहेका छन्। यहाँ रहेको नेपाली सामाजिक संस्था साँग्रीला समाजले नेपाली पाठशाला संचालन गर्दै आएको छ। जुन लोकप्रीय बन्दै गइरहेको छ।
विदेशमा जन्मेका, विदेशी भूमिमै हुर्केका र विदेशी भाषामा नै औपचारिक शिक्षा लिने नेपाली बालबालिकाले नेपालमा रहेका आफ्ना आफन्तजनसँग नेपालीमा संवाद गर्न, नेपाली भाषा खरर्र बोल्न र बुझ्न सकुन् भन्ने पहिलो ध्येय हो, नेपाली पाठशाला संचालनको। त्यसबाहेक सामान्य रूपमा लेख्न र नेपाली साइनबोर्डहरू वा टाइटलहरू पढ्न सकुन् भन्ने अर्को ध्येय हो।
अभिभावकहरूको अनुभवमा विदेशमा जन्मे-हुर्केका नानीहरूलाई नेपाली भाषा बोल्न, लेख्न सिकाउनु त्यति सजिलो काम होइन। समय, स्थान, पाठ्यसामग्री र आर्थिक पक्ष प्रमुख चुनौति हुन्।
यसका निम्ति दुई कक्षामा विभाजन गरी पढाई हुने गरेको छ। आधारभूत रूपमा नेपाली भाषा सिक्नेहरूलाई एक कक्षा र सामान्य रूपमा नेपाली जानी सकेकाहरूलाई अर्को कक्षामा राखी भाषा कक्षा संचालन गरिएको छ। दुबै तह पार गर्ने यी नानीहरू भोलीका दिनमा नेपाल फर्कने परिस्थिति बने पनि नेपालको स्कूलमा कक्षा अनुसरण गर्न सकुन् भन्ने उद्देश्य समेत लिइएको साँग्रीला समाजका अध्यक्ष नारायण अधिकारी बताउनु हुन्छ।
धेरैका छोराछोरीले धेरैथोरै नेपाली बोल्न पहिल्यै जानेका त हुन्छन्। तर छिट्टै लेख्न र पढ्नमा भएको प्रगतिले अभिभावकहरू पनि धेरै खुशी पाइएका छन्। कतिपय नानीहरूले नेपालमा रहेका आफ्ना नातेदारहरूलाई नेपालीमा सन्देश पठाउने गर्छन्। जुन थुप्रै अभिभावकहरूका निम्ति रोमाञ्चको विषय हुने गरेको छ। त्यसबाहेक स्कूलमा नेपाली संस्कृति र वर्षभरि आइरहने चाडपर्वका बारेमा पनि नानीहरूलाई बुझाउने गरिन्छ। दसैं, तिहार, सरस्वती पूजा, नयाँ वर्ष र अन्य जनजातिका पर्वहरूको महत्त्वबारे र ति पर्व मनाइन्छ भन्ने प्रचलनबारे जानकारी समेत दिइन्छ।
‘साँग्रीला समाज’ ले बिगत दुई वर्षदेखि लुभेनमा नेपाली नानीबाबुहरूका निम्ति “नेपाली पाठशाला” संचालन गर्दै आएको हो। हरेक आइतबार संचालन हुने नेपाली भाषा स्कूलमा नेपाली भाषा पढ्न लेख्नका अतिरिक्त नेपाली संस्कृतिका हरेक महत्त्वपूर्ण आयामबारे पनि प्रकाश पारिन्छ। नेपाली भाषा स्कूलमा करिब ४० जना विद्यार्थी रहेका छन्।
बेल्जियममा सोमबारदेखि शुक्रबारसम्म औपचारिक स्कूल नियमित संचालन हुने गर्छ। सप्ताहन्तको छुट्टी शनिबार र आइतबार हुन्छ । यही छुट्टी सदुपयोग गर्दै हरेक आइतबार नेपाली भाषा स्कूल संचालन गरिन्छ।
साँग्रीला समाजका अध्यक्ष नारायण अधिकारीले भाषा कक्षाका निम्ति ब्यापक आकर्षण रहेको जानकारी दिनुभयो। भाषा कक्षामा रहेको आकर्षण कायम राखी दीगो रूपमा संचालन गर्नका लागि अभिभावकहरूको भेला र पिकनिक आयोजना गरिने र यस्तो भेलाले अर्को वर्षको निम्ति योजना बनाउने गर्छ।
नेपाली भाषा स्कूलमा हाल दुई शिक्षिकाहरू रूबिना शर्मा र रिना शाहीले शिक्षण गरिरहनु भएको छ। उहाँहरूलाई साँग्रीला समाजका पदाधिकारीहरूले थप सहयोग गर्ने गर्दछन्। भाषा कक्षा संयोजिका रूबिना शर्माले नेपाली भाषा स्कूलमा अतिरिक्त कृयाकलापका रूपमा नेपाली गायन र नृत्य कक्षा पनि संचालन गर्न लागिएको जानकारी दिनुभयो।
नानीहरूका निम्ति सप्ताहन्तको छुट्टी ‘रिक्रिएसन’ को अवसर हो। नेपाली भाषा कक्षा नानीहरूका निम्ति निरस नबनोस् भनेर नेपाली गायन र नृत्य पनि समावेश गर्न लागिएको तथ्य शिक्षिका रूबिना शर्मा बताउनु हुन्छ। शिक्षिका रूबिना स्वयं स्कुले शिक्षा नेपालमा र उच्च शिक्षा बेल्जियममा हासिल गरेकी हुनाले यहाँ जन्मेका नेपाली नानीहरूको मनोविज्ञान बुझ्ने र त्यसअनुसार शिक्षण गर्न सक्षम देखिएको अभिभावकहरूले बताएका छन्।
दुई नियमित विद्यार्थीहरूकी आमा लुसिया मारिया रूसो नेपाली स्कूल अत्यन्तै फलदायी भएको बताउनु हुन्छ। ईटालियन मूलकी लुसियाका श्रीमान् नेपाली हुन्। बच्चाहरू आफूसँग ईटालियनमा बोल्ने र स्कूलमा डच माध्यममा पढ्ने उल्लेख गर्दै नेपाली भाषा बाबुबाट सिके पनि यथेष्ट अभ्यास होस् भनी नेपाली स्कूलमा बच्चा ल्याउने गरेको उहाँले बताउनु भयो। ब्रसेल्सको स्कारबिकमा बस्ने गुरूङ-रूसो दम्पति करिब एक घण्टाको यात्रा तय गरेर बच्चाहरूलाई नेपाली स्कूल ल्याउनुहुन्छ र बच्चाहरू रमाउँदै सिकेकोमा खुशी देखिनुहुन्छ।
अभिभावकहरूको अनुभवमा विदेशमा जन्मे-हुर्केका नानीहरूलाई नेपाली भाषा बोल्न, लेख्न सिकाउनु त्यति सजिलो काम होइन। समय, स्थान, पाठ्यसामग्री र आर्थिक पक्ष प्रमुख चुनौति हुन्।
थुप्रै अभिभावकहरूमा आफ्ना नानीलाई भाषा सिकाउने रहर त छ। तर, विविध चुनौतिका बीच कतिपय अभिभावकहरू दीर्घकालका निम्ति के हुने हो भनेर आशंका गर्छन्। अहिलेलाई भने नेपाली नानीहरूका निम्ति नेपाली पाठशाला लोकप्रीय भन्दै गएको छ।
आकर्षण बढे पनि भाषा कक्षा संचालनको सन्दर्भमा विशेषतः पाठ्यक्रमको अभाव खट्केको छ। साँग्रीला समाजले नेपालको स्कुलमा पढाइने पाठ्यपुस्तकलाई नै आधार मानी शिक्षण गरिरेहेको छ।
स्कूल संचालनका निम्ति केसल-लोको एक हाईस्कूलले आफ्नो भवन उपलब्ध गराएको छ। शिक्षक/शिक्षिकाहरूको व्यवस्थापन साँग्रीला समाजले गरेको छ। विविध चुनौतिहरूका बीच भाषा-संस्कृति संरक्षणमा लागी परेका नेपाली संस्थाको व्यवस्थापन र मनस्वी स्वयंसेवीहरूको पहलमा नेपाली पाठशाला संचालित छ। मिठो छ र सरस्वतीको प्रसाद हो भन्यो भने कसले खाँदैन र! त्यसैले त लुभेनमा पाठशाला लोकप्रीय भइरहेको छ। यसलाई दीर्घकालिन रूपमा संचालन गर्न अनेक चुनौति त छ तैपनि निरन्तरताका निम्ति प्रतिबद्ध रहेको साँग्रीला समाजका पदाधिकारीहरू बताउँछन्।