प्रहरी सुरक्षामा विवाह

विराटनगर ५ का २४ वर्षीय सुमन मग्राती र सोही ठाउँकी २० वर्षीया उर्मिला खतिवडाबीचको सम्बन्धलाई लिएर तनाव उत्पन्‍न भएपछि प्रहरी सुरक्षामाSum_Urmila.jpg आइतबार उनीहरूको अन्तरजातीय विवाह गरिएको छ। प्रहरी सुरक्षामा विभिन्‍न अधिकारसँग सम्बद्ध संघसंस्था, सञ्‍चारकर्मी, राजनीतिकर्मी र सामाजिक अगुवाहरूको रोहबरमा उनीहरूको विवाह गरिएको हो।

विवाहमा सुमनका आफन्त सबै थिए भने उर्मिलाका माइती पक्षका कोही पनि सहभागी थिएनन्। विवाहको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो। आइतबार सुमनको घरमा आयोजना गरिएको विवाह समारोहमा सुमन र उर्मिला एकअर्काले माला लगाएर सँगै जिउने वाचा गरे। विवाह समारोहमा सभासद् अमनलाल मोदी, दलित अधिकारकर्मी उमेश विश्‍वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, राजनीतिकर्मी, विभिन्‍न क्षेत्रका अगुवालगायतको सहभागिता थियो।

विवाहमा उपस्थित सबैले अन्तरजातीय जोडीलाई टीका र माला लगाएर वैवाहिक जीवन सफलताको शुभकामना दिए। उनीहरूले आफूहरू ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताए। उनीहरूले २०७१ जेठ ५ गते जिल्ला अदालत सुनसरीबाट पतिपत्नीको नाता कायम गराएका थिए। उर्मिलाका माइती पक्षले जातको कुरा झिकेर समस्या ल्याउन सक्ने भएकाले कानुनी रूपमा बलियो हुन आफूहरूले सुरुमै अदालतमा गएर पतिपत्नीको नाता कायम गरेको सुमनले बताए। तर खतिवडा परिवारले साउन २१ गते सुमनबाट उर्मिलालाई अलग बनाएर आफ्नो नियन्त्रणमा राखेको थियो।

उर्मिलाको माइती पक्षले दलित भएर ब्रह्मणकी छोरीसँग विवाह गरेको भन्दै यो जोडीलाई छुटाउन मग्राती परिवारलाई पटकपटक दु:ख दिँदै आएको थियो। माइतीको नियन्त्रणमा रहेकी उर्मिला भदौ १ गते भागेर सुमनसँगै गएपछि उनको माइती पक्षले सुमनका बुबा केशव मग्रातीमाथि कुटपिट गरेका थिए। खतिवडा परिवारले उर्मिलालाई दबाब दिएर मोरङ जिल्ला अदालतमा साउन २७ गते पति सुमनसँग सम्बन्धबिच्छेद र अंश मुद्दा दर्ता गराउन लगाएका थिए। ‘यसअघि हाम्रो विवाहले कानुनी र धार्मिक मान्यता प्राप्त गरेको थियो तर आजदेखि सामाजिक मान्यता पनि प्राप्त गर्दा निक्कै खुसी लाग्यो’, उनीहरूले भने। दलितअधिकारकर्मी विश्वकर्माले अन्तरजातीय विवाह गर्दा गाउँबाटै विस्थापित हुनुपर्ने अवस्था आएकाले पुनस्र्थापना गराएर यो जोडीको सामाजिक विवाह गरिएको बताए। ‘केटीका माइती पक्षको दबाब र धम्कीका कारणले यो जोडी केही दिनदेखि गाउँमा बस्न नसकेर विस्थापित बनेको थियो’, उनले भने।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले विवाहको विषयलाई लिएर दुई परिवारबीच केही समय अघिदेखि खटपट रहेकाले सामाजिक रूपमा विवाह सम्पन्न भइरहँदा शान्तिसुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए। सुमन र उर्मिलाको परिवारबीच गत बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा यो जोडीलाई पुनस्र्थापना गराएर ससम्मान गाउँमै बस्न पाउने वातावरण तयार गर्ने सहमति भएको थियो।