प्रवासी नेपाली: जताततै नेपाली, जाति, धर्म र राजनीतिका नाउँमा विवाद र कलह

प्रवासमा नेपालीहरुको एउटा साझा कथन छ मुलुक बिगारे नेताले, मुलुक बिग्रीयो राजनीतिले । झट्ट सुन्दा हो पनि । नहोस कसरी, हरेक दिन हरेक समाचारमा कुनै न कुनै राजनीतिक दलका नेताकै करतुत छापीने गर्छ । तर प्रवास बसेर मुलुक बिगार्ने नेताहरुलाई जतासुकै सराप्ने हरुको चाला देखेर पनि अचेल उदेक लाग्न थालेको छ । एकातिर उनिहरु कुरैपीच्छे नेपाली राजनीतिलाई गालि गर्छन, अर्को तिर त्यही राजनितीको बुई चढेर आफु हिड्छन् ।
मुलुकको राजनिती जति कान्ला र पाटामा बिभक्त भएपनि प्रवासमा पुगेपछि हाम्रो पहिलो थर नेपाली हो । प्रवास बसाइको पहिलो पाटो र थरका रुपमा हामीलाई सबैले नेपाली भनेर चिन्ने गर्छन् । न बाहुन, न क्षेत्री, न नेवार, न लिम्बु वा पहाडी, मेधसी अथवा चुच्चे र थेप्चे ।
हामी नेपाली, हाम्रो नेपाल । कति मिठो शब्द, रचना अनि सारांस । नेपालको झन्डा बोक्ने र सिमा भित्र समेटिनेको लागि यो भन्दा मिठो शब्द के हुन सक्ला । २०६२-०६३ को जन आन्दोलनपछि मुलुकमा देखिएको अधिकारको हानाथापमा मानिसले आफ्नो मुख्य पहिचाननै बिर्सने र बिभक्त मानसिकता बोकेर हिड्ने प्रचलन बढेको छ । हो सिमान्तकृत,जनजाती र दलित अथवा थिचो मिचोमा परेका समदायलाई अधिकार दिलाउने सवालमा सबैको एकमत हुनु जरुरी छ तर त्यसका नाममा समाजलाई चिरा चिरा पारेर र मुलुकलाई टुक्रयाउने खेलमा भने हामी सामेल हुनु हुदैंन ।
nepal worldwideनेपालका राजनितीक दल र नेताले आफनो क्षणिक स्वार्थ पुरा गर्न वा आवेगमा गरीने निर्णयले धेरै पटक समाजलाई बिभिन्न पाटा र वर्गमा बिभक्त पार्ने खेल हुने गरेको छ । पछिल्लो परिदृष्यमा नेपालमा अधिकारको नाम र दाममा हुने गरेको खेलले समाजमा थुप्रै घट्नाहरु घटेका छन । मधेश आन्दोलनका नाममा पहाडीहरु बिस्थापीत हुनु र पुर्वी पहाडमा देखिएको चुच्चे र थेप्चेको मनमुटाव । यसका पछिल्ला दुइ ज्वलन्त उदाहरण हुन ।
देश बिगार्ने खेलमा मुलुकको राजनिती र नेताको जिम्मेबार ठहर गर्ने प्रवासी नेपालीहरु पनि मुलुकको कपी पेस्ट राजनितीवाट टाढा छैनन । उनिहरु मुखले जे कुरा गर्छन ब्यबहारमा उतारेकाृ पाइदैन । नेपाल छाडेर प्रवासमा बस्ने ५० औ लाख नेपालीहरु फेरी पनि नेपालको कपी पेस्ट राजनितीको छायाँंमा मडारिदै छन । प्रवासमा यतिखेर खोलिएका बग्रेल्ती नेपाली संस्थाहरुले पनि यसलाई प्रमाणित गरेको छ । मुखमा एउटा कुरा र ब्यवहारमा अर्को कामले पनि प्रवासमा नेपाली समाज बिभक्त भएको हामीले पाएका छौ । भेटघाट र भेलामा दल र नेता सराप्ने र उनिहरुको भ्रमणमा पछ्यौटे लागेर चाकरीमा पुगेको दृष्र्य हेर्न लायक हुने गर्छ । नेपालमा भएका र खुलेका सबैखाले दल र संघ संगठनको भातृसंगठन खोलेर प्रवासमा पनि नेपालीले एकथरी रमितानै देखाएका छन । दलका नेतालाई गालि गर्नेहरु आआफ्ना बिचारका नेतालाई लिन बिमानस्थलमा घुइचो लाग्ने र आफ्नो प्रभुत्व जमाउन पुच्छर बन्ने परम्पराले प्रवासलाई पनि नराम्ररी सताएको छ । चाहे अमेरिका होस या युरोप वा एशियाली राष्ट्र तथा अस्ट्रेलिया । जहाँ जहाँ नेपालीको पहुँच पुगेको छ त्यहा, काग्रेसी, कम्युनिस्ट, माओबादी र अन्य दलका भातृ संगठनहरु सक्रिय छन । आफ्नो पहिलो पहिचानका रुपमा रहेको नेपालीत्वलाई यस्तै यस्तै संघ संगठनले छोपेका छन र समुदाय अनेक नाम र बिचारमा बिभक्त पार्न थालेका छन । कांग्रसी,एमाले,माओबादी,जनजाती,मधेसी,कास्केली र बाहुन र मगरातका नाममा बिभक्त गरेर आफु नेता बन्ने ठेकेदारहरुले प्रवासलाई पनि मुलुकको बेथिती राजनितीको छायामा पारेका छन । जसले नेपाली समाजलाई बिदेशमा पनि चिरा पार्ने काम गरेको छ ।
एनआरएन अर्थात गैर आवासिय नेपाली संघको रुपमा नेपालीको एउटा छाता संगठन बिश्वभर देखिएता पनि यसले पनि सबैलाई समेट्न र सम्बोधन गर्न सकेको भने छैन् । यसमा पनि राजनीतिक धार र समुहले कब्जा गर्ने परम्पराको सुरुआत भैसकेको छ ।
यस्तै यस्तै रापमा अस्ट्रेलियाको नेपाली समाज पनि अछुतो भने देखिएको छैन । नेपाली राजनितीक दल र संघ संगठनहरुको नक्कल गर्दै अस्ट्रेलियामा मात्र करिब ५ दर्जन नेपाली संस्था दर्ता भैसकेका छन् । यहाँ पनि बृहत नेपाली समुदाय र नेपालको पहिचानका लागि एनआएन भएपनि त्यो पनि राजनिती डुबानमा चुर्लुम्मै डुबेको छ । त्यसको पछिल्लो चुनावमा मात्र कम्युनिष्ट र कांग्रेशी अनि एमाओवादीे संगठनको प्यानलनै खडा भएको थियो ।
अस्ट्रेलियाको सिड्नीमा नेपाली लोकतान्त्रिक मन्च (एमाले) जनप्रगतीशिल मन्च अस्ट्रेलिया (माओबादी )जन सम्पर्क समिती र एनएडिएफ ( नेपाली कांग्रेस) नेपाल तराइ संघ (मधेशीवासी ) भर्खरै खुलेको नेपाल समाजवादी समाज अस्ट्रेलिया, नेपाल आदिबासी जनजाती महासंघ (जनजाती) संस्थाहरु नेपालका राजनितिक पार्टीहरु निकट रहेर संस्था संचालन गर्दै आएका छन् । यस्ता संघ संस्थाले नेपालबाट आफू निकटका राजनीतिक दलका नेताहरुलाई अस्ट्रेलियामा निम्तो दिई विभिन्न कार्यक्रमहरु गर्दै पनि आएका छन् । अझ रोचक कुरा त यी संस्थाहरुको अधिवेशनमा पद भागबण्डाको विषयमा विवाद उत्पन्न भएमा नेपालका नेताहरुबाट सिधैं दवाव समेत आउने उदाहरणहरु हाम्रा सामु छन् ।
आज भन्दा करिब ४० वर्ष अगाडि अस्ट्रेलियामा नेपालीहरु निकै नगण्य थिए । त्यतिवेला एक नेपालीले अर्को नेपालीलाई भेट्न वर्षै दिन सम्म लाग्दथ्यो । एक नेपालीले अर्को नेपालीलाई भेटेर दुख सुखका कुरा गर्न पाउनु निकै सौभाग्य ठान्दथे । सन् १९७३ मा मेलवर्नमा आएका नेपाली समुदायका अगुवा नारायण प्रधानलाई अर्को नेपाली भेट्न झण्डैं २ वर्ष लागेको अनुभव सुनाउँछन् । त्यतिवेला नेपालीहरुलाई दुखःसुखमा साथ दिनको लागि भन्दै पहिलो पटक सिड्नीमा सन् १९७६ मा खोलिएको सबैभन्दा पुरानो संगठन नेप्लीज अस्ट्रेलियन एशोसियसन हो । यो संस्थामा नेपाली लगायत अस्ट्रेलियनहरुको पनि आबद्ध रहेको कुरा संस्थापक मध्येका एक नारायण प्रधानले बताए । यहाँ नेपाली दुतावास स्थापना हुनुभन्दा अगाडि कुनै विद्यार्थीहरुमा भिषा सम्बन्धि समस्या देखिए वा कुनै आपत विपत पर्यो भने यहि संस्थाले यहाँको सरकारलाई आधिकारिक रुपमा चिठी नै लेखेर सहयोग समेत गर्ने गर्दथ्यो । त्यसपछि नेपालीहरुको मात्रै सहभागितामा खुलेको संस्था गोर्खा नेप्लीज एसोसिएसन हो ।
यो संस्थाले नेपालका कला, संस्कृति तथा रितिरिवाजलाई प्रवासमा चिनाउन अग्रणी भूमिका खेल्दै आएको छ । नेपालीहरुको महान चाढ बडा दशै प्रवास रहेका नेपालीहरुबीच एक आपसमा हर्षोल्लासका साथ मनाउन सो संस्थाले स्थापनाकालदेखि नै हालसम्म निरन्तरता दिदै आएको छ ।
हाल नेप्लीज गोर्खा एशोसिएसनको अध्यक्ष रहेका नारायण प्रधान च्याउझै उम्रिएका संघ, संगठनका बारेमा चिन्तित देखिन्छन् । प्रधान भन्छन्– “यसरी जातीय र क्षेत्रीय, अनि बर्गीय रुपमा संघ संगठन खोल्दा समग्र नेपालीको पहिचान नै गूम्ने खतरा बढेको छ । सन १९७३ मा अस्ट्रेलिया आएका प्रधान नेपाली समुदायमा चिनिएका पाका ब्यक्तीत्व हुन् । नेपाली समुदायको सुखदुखमा सधै अगाडि सर्ने प्रधान राजनितीक पार्टीले पनि प्रवासमा नेपाली समुदायलाई बिझक्त पारेको दुखेसो गर्छन् । नेपालको गलत प्रवृतीको सिको हामीले प्रवासमा बसेर पनि गरेका छौ जुन राम्रो भने होइन, प्रधानले बताए । ब्यापारको नाममा आफ्नो पहिचान बढाउन पनि ब्यक्तीगत रुपमा संस्था खोलेर मानिसले स्वार्थपुर्ती गर्ने गरेको प्रधानले सुनाए ।
सिड्नीमा अगुवा सामाजिक कार्यकर्ताका रुपमा चिनिएकी इन्द्रा वन मुलुकको नराम्रो प्रवृतीको नक्कल गर्ने परम्परा बढेको चिन्तित देखिएकी छिन् । वन भन्छिन्– “हामीले प्रवासमा आएर नयाँ शिप,प्रविधी र काम सिक्नु भन्दा नेपालकै गलत संस्कार भित्रयाउने होडबाजीमा लागेका छौ । प्रवासमा हामी जुन भेग र जस्तो संस्कारवाट आएपनि हामी पहिला नेपाली हौ र हाम्रो पहिलो पहिचान नेपाली नै हो, वनले बताइन् । बिकसित अनि लोकतान्त्रिक मुलुक अस्ट्रेलियामा बसेर पनि हामीले यहाँको राम्रा कुराको नक्कल गर्न सक्नुपथ्र्यो तर त्यसो हुन सकेको छैन् । मलाई कहिलेकाँंही बिरक्त लागेर आउँछ, यहाँको यो चाला देखेर, उनले चिन्तित हुदै भनिन् । वनको भनाइमा आवश्यकता अनुरुप एक दर्जन संस्थासम्म त ठिकै हो तर राजनीतिक र जातिय अनि क्षेत्रिय रुपमा च्याउँझै संस्था उम्रिन थाल्छ भने त्यो हाम्रो पहिचानको लागि उचित होइन् ।
स्की टाक्स फोर्सका प्रमुख डा.राजु अधिकारी प्रवासमा पनि यति धेरै संस्था जन्मनु एनआरएन राजनीतिको सिको ठान्छन् । हरेका संघ संस्थामा एनआरएनले नै राजनिति घुसाएको उनले बताए । यहाँ व्यक्ति जतिसुकै असल र सक्षम भएपनि कुनै गुट उपगुटमा नलागि उसले केही गर्न नसक्ने भएको छ । व्यक्तिगत रुपमा पनि आफु चर्चामा आउन तथा व्यापार व्यवसाय बढाउन पनि यस्ता संस्थाहरुको ताती लागेको उनले ठम्याई छ ।
हुन पनि हो, शुभलाभको खेलमा लागेका हरुका लागि संघ संगठन कमाइखाने भाडो र चिनिने माध्यमपनि नबनेको होइन । समाजमा चिनिने र धन्धामा गनिने भएपछि पनि प्रवासमा धमाधम संघ संगठनहरु खुल्न थालेको आरोप लगाउछन, ग्रानभिलका उज्ज्वल श्रेष्ठ । मोरंग घर भएका उज्जल अस्ट्रेलिया आएको ५ बर्ष मात्र भयो तर यस बिच कयैन संघ संगठनहरु जन्मिसकेका छन । नाम पनि ,काम पनि अनि प्रवासमा पहुँच पनि हुने भएपछि दुइ चार जना आफ्ना मान्छे राखेर धमाधम संघ संगठन खोलिएको दाबी गर्छन, उज्ज्वल ।
क्वीन्सल्यान्डको ब्रिसबेनमा डिजास्टर म्यानेजमेन्टमा बिद्यावारिधी गरिरहेका पुराना सञ्चारकर्मी भरतराज पौडेल मुलुकको नाम जोडेर खोलिएका संघ संस्थाप्रती तिखो टिपर्णी गर्दै भन्छन्– “नेपालमा आफ्नो पहिचान बनाउन नसक्ने र चर्चामा आउन चाहनेहरुका लागि प्रवास अहिले गतिलो फोरम बनेको छ ।” संघ संस्था समाजसेवा र मुलुकको पहिचान भन्दा पर गएर ग्ल्यामरको रुपमा भित्रिएको छ प्रवासमा,पौडेलले बताए । स्वच्छ पारदर्शि ढंगले संस्थाको बिकास भए मात्र मुलुक र नेपालीको हित हुने पौडेलको ठहर छ । आस्था र बिचारका आधारमा खोलिएका संघ संस्थाले समुदाय, नातागोता र साथी भाइ बिच आपसी सम्वन्धमा समेत असर पारेको भरतले सुनाए ।
भुगोलका आधारमा खोलिएका झापाली समाज, अस्ट्रेलिया, बागलुङ समाज, सिडनी, गैडाकोट समाज लगायतका समाजहरुले पनि हामीलाई कता कता बिभक्त पारेको हो की भन्ने भान भएको छ । हुन त यस्ता संघ संगठनहरुले आ आफ्ना क्षेत्र र समाजको बिकास र बिस्तारमा सहयोग नपुर्याएको पनि होइनन् । मुलुकको कला संस्कृती र भुगोल चिनाउने सवालमा यस्ता संस्था उपयोगी प्रमाणित हुदै आएपनि राष्ट्र र राष्ट्रियताको सवालमा नेपालीलाई चिनाउन साझा संस्थाको अभाव भने नेपालीले महसुस गर्न थालेका छन । यस्ता संस्थाहरुको ध्येय जतिसुकै राम्रो भएपनि यसले मुल थर नेपालीलाई भने प्रभाव पार्नु हुदैन भन्ने हाम्रो आशय हो । हरेक हप्ता हुने यस्ता संस्थाका कार्यक्रम फरक प्रवृती र फरक बिचारमा बाडिने हुँदा पनि नेपाली समुदाय कतै बाडिन थालेको हो की भन्ने भान पर्ने थालेको छ ।
बिशाल छिमेकी मुलुक भारत र चिनका करौडौ नागरीक प्रवासमा रहेपनि उनिहरुको एउटा साझा संस्थाले मर्दा र पर्दा ठोस सहयोग पुरयाउदै आएको उदाहरण हामीले पनि सिक्नु सक्नु पर्छ । नत्र प्रवासमा नेपालीलाई मर्दा पर्दा समुदाय र संघ गुहार्नु पर्ने नराम्रो परम्पराले पश्रय पाउदै जानेछ । एउटा नेपालीलाई गारो सारो पर्दा सबै नेपालीले सहयोग गर्न सक्नुपर्छ नत्र हामी नेपाली नै भएनौ नी,पेन्ससमा बसोबास गर्दै आएका गोदावरीका अजित आचार्यले सुनाए । यहा नेपालीलाई गारो र सारो पर्दा कहाँं जाने भन्ने ठाउनै छैन, अन्य मुलुकका नागरीकको एउटा ठुलो संघ हुन्छ र त्यसले सहयोग गर्छ, हाम्रो भने लठिभद्र चाला छ, आचार्यले सुनाए ।
खोइ कसले बोल्ने, सात समुन्द्र पार आएरपनि राजनीति गर्नेहरुकै बोलवाला छ । ब्यक्ती राजनितीले समाजलाई नराम्ररी सताएको उनको ठहर छ । त्यती मात्र होइन अचेल अस्ट्रेलियामा खुलेका बग्रेल्ती संघ संगठनहरुले बिभिन्न सहयोग जुटाउने नाममा हप्तै पीच्छे सांगितिक मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गर्छन । यस्ता संघ संगठनहरुले कलाकार त ल्याउछन नै तर कार्यक्रमपछि त्यसको हिसाब किताब भने सर्वाजनिक गर्ने गरेको पाइदैन । त्यती मात्र होइन कुनै कुनैले त कलाकारका नाममा म्यानपावरको खेती गर्ने गरेको पनि नसुनिएको होइन ।
– हेमन्त काफ्ले, सिड्नी, अष्ट्रेलिया