प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

प्रधानमन्त्री सुशील कोइरालाले आज मंगलबार लक्जेम्बर्गका प्रधानमन्त्री तथा युरोपियन कमिसनका अध्यक्षलाई भेट्नुभयो । कोइरालाले दिउँसो लक्जेम्बर्गका समकक्षी जाभिए बेतेलसँग लक्जेम्बर्ग सिटीस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपाल र लक्जेम्बर्गवीचको द्वीपक्षीय सम्बन्धका विविध पक्षहरुको साथै आपसी चासोका विषयहरुमा विचारको आदानप्रदान भयो । भेटवार्ताको अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल–लक्जेम्बर्ग सम्बन्धको चर्चा गर्दै शिक्षा, स्वास्थ्य तथा पर्यावरण संरक्षणको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामार्फत लक्जेम्बर्गले प्रदान गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग नेपाललाई प्रत्यक्ष विकास सहायता सूचिमा राख्न अनुरोध समेत गर्नुभयो ।
EC-President meets Koiralaजवाफमा लक्जेम्बर्गका प्रधानमन्त्री बेतेलले लक्जेम्बर्गले संयुक्त राष्ट्रसंघ र युरोपियन युनियन जस्ता बहुपक्षीय संस्थाहरु एवम् रेडक्रस र स्काउटजस्ता अन्तर्राष्ट्रिय मानवीय संस्थाहरुमार्फत विगतदेखि दिँदै आएको आफ्नो सहयोग आगामी दिनहरुमा जारी राख्दै नेपालको विकास प्रयासमा सहयोग गर्ने तत्परता व्यक्त गर्नुभयो । हाल नेपालले हासिल गरेको लोकतान्त्रिक शासन व्यवस्था तर्फको उपलब्धिको प्रशंसा गर्दै मानव अधिकार, कानूनी शासन, मौलिक स्वतन्त्रता जस्ता समान सार्वभौम विश्व मूल्यहरुले दुवै देशलाई आगामी दिनहरुमा अझ घनिष्ठ सहयात्रामा अघि बढ्न आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणालाई लक्जेम्वर्गका प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्दै भ्रमण कार्यक्रम तय गरी निकट भविष्यमा जानकारी दिने कुरा उल्लेख गर्नुभयो ।
आजै साँझ प्रधानमन्त्री कोइरालाले युरोपियन कमिसनका अध्यक्ष जोसे मानुअल बारोसोसँग युरोपियन कमिसनको ब्रसेल्सस्थित मुख्यालयमा भेटवार्ता गर्नुभयो । सो अवसरमा वहाँहरुवीच नेपाल र युरोपियन युनियनवीच विकास सहयोगका साथै द्वीपक्षीय सम्बन्धका विविध पक्षहरुमा विचारको आदानप्रदान भयो ।
भेटवार्ताको अवसरमा प्रधानमन्त्री कोइरालाले युरोपियन युनियनले नेपालमा लोकतन्त्रको सँस्थागत विकास तथा नेपालको सामाजिक तथा आर्थिक विकासको लागि प्रदान गरेको सहयोग तथा सदभावको लागि हार्दिक आभार प्रकट गर्नुभयो । नेपालको संविधान लेखन सम्बन्धी पछिल्लो विकासक्रम बारे जानकारी दिँदै कोइरालाले राजनैतिक दलहरुवीचको सहमतिको आधारमा तोकिएकै समयमा संविधान बनाउनका लागि सरकारले अधिकतम लचकताका साथ प्रयास गरिरहेको जानकारी दिनुभयो ।

 

फोटोहरू- नेपाली राजदूतावास, ब्रसेल्स
फोटोहरू- नेपाली राजदूतावास, ब्रसेल्स

यसै क्रममा कमिसनका अध्यक्ष बमरोसोले नेपालको वर्तमान राजनीतिक एवम् आर्थिक अवस्थाबारे चासो राख्दै नेपालको शान्ति र संविधानतर्फको यात्रामा युरोपियन युनियनले एउटा भरपर्दो मित्रको रुपमा आफ्नो सहयोग जारी राख्ने कुरा बताउनुभयो । उहाँले नेपालले तोकिएको समयमा संविधान लेखनको कार्य सम्पन्न गरी स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने आशा व्यक्त गर्नुभयो । सहस्राब्दी विकास लक्ष्य हासिल गर्नमा नेपालले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै बारोसोले नेपाल सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा रुपान्तरण हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले नेपालको नयाँ विकास सहायता नीति अन्तर्गत प्राथमिकता प्राप्त कार्यक्रमहरुलाई सहयोग पुग्ने गरी ग्रामीण विकास, सुशासन, व्यवसायिक शिक्षाका क्षेत्रहरुमा युरोपियन युनियनले आफ्नो सहायता केन्द्रित गर्ने  जनाउनुभयो । सो अवसरमा उहाँले अति कम विकसित मुलुकहरुको साझा चासोका विषयहरु जस्तै, अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, व्यापार क्षमता विस्तार, जलवायु परिवर्तनका नकारात्मक असरविरुद्ध आवश्यक वित्तीय श्रोत लगायतका मुद्दाहरूमा युरोपियन युनियनले सकारात्मक भूमिका खेल्ने समेत बताउनुभयो ।
दुवै भेटवार्ताहरुमा श्री कोइरालाको साथमा का.मु. परराष्ट्र सचिव शंकरदास वैरागी तथा युरोपियन युनियनका लागि नेपाली राजदूत राममणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कोइरालाले भोली युरोपस्थित प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइराला भोलि साँझ युरोपको तीन दिवसीय भ्रमण पुरा गरी स्वदेश फर्कँदै हुनुहुन्छ ।