पावर सेयरिङबारे ओली: ‘जनताले एमालेलाई ताली बजाउन भोट दिएका हुन् ?’

kp-sharma-oliसंविधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि राष्ट्रपतिको निर्वाचन गर्ने/नगर्ने विवादमा एमाले नेता ओलीले एक सटिक अभिव्यक्ति दिएका थिए, ‘जनताले के एमालेलाई ताली बजाउन मात्र भोट दिएका हुन् ?’

ओलीनै संविधानसभाको दोस्रो ठूलो दलको संसदीय दलको नेता चयन भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको नेपाली कांग्रेसमा पनि ओलीको चर्चा चल्न थालेको छ, ‘ओलीले सभापति कोइरालाको समर्थनमा संसदमा सजिलै ताली बजाउलान् ?’

बरिष्ठ नेता शेरबहादुर देउवाको चित्त बुझाएर सरकारको नेतृत्व लिनुपर्ने चुनौतीमा रहेका कोइरालाका लागि एमाले संसदीय दलमा ओलीको विजयी अर्को चुनौतीका रुपमा व्याख्या गर्न थालिएको छ । कांग्रेसका एक नेता ओलीको विजय सरकार गठनको योजनासँगै भएको हुन सक्ने बताउँछन् ।

अनौपचारीक कुराकानीका क्रममा कांग्रेसका नेताले दक्षिण तिरको साथ पाए कोइरालालाई माइनस गरेर ओली अगाडी सर्न सक्ने वा कोइराला नेतृत्वको सरकार ६ महिना हुने शंका गर्न थालेका छन् । ‘अब कांग्रेससँग हुने वार्ताका क्रममा एमालेले देखाउने अडान र लचकताले यी कुरालाई पुष्टि गर्छ’ ती नेताको दावी थियो ।

एमालेभित्र पनि दलको नेता विजयीसँगै प्रधानमन्त्रीको दाबेदारका रुपमा ओलीलाई चित्रण गर्न थालिएको छ । बुधवार बिहान भक्तपुरको बाल्कोटमा रहेको ओली निवासको अनौपचारिक छलफलमा सरकार गठन र प्रधानमन्त्रीको चर्चामा ओली पनि जोडिएका थिए । दलको नेताका विजयी पछि ओली निकटका केही नेताहरु बुधबार बिहानै बाल्कोट पुगेका थिए ।

अनौपचारिक छलफलमा सहभागी नेता कृष्णगोपाल श्रेष्ठले आवश्यक परे ओली प्रधानमन्त्री बन्न सक्ने बताए । ओलीलाई प्रधानमन्त्री बनाउने छलफल सुरु भएको हो र ? भन्ने प्रश्नमा श्रेष्ठको उत्तर थियो ‘अहिले सुशील कोइरालालाई छाडिदिऔं तर आवश्यकता अनुसार ६ महिना पछि हेरौला भन्नेमा हामी छौ ।’

स्रोतका अनुसार दक्षिण छिमेकी देशको ‘आशा र भरोसा’ पनि ओलीमाथि बढ्न थालेको छ । कांग्रेस सभापति कोइरालाभन्दा ओली भारतका लागि रुचाइएका मानिन्छन् ।