पातमा धुन खोज्दै लालकृष्ण

जिल्लाको भीमेश्वर नगरपालिका–३ राम्पाका लालकृष्ण थामी पिपिरीको पातबाट संगीतका विभिन्न धुन निकाल्न माहिर छन् । धुन निकालेरै गाउँले माझ सेलिब्रेटीको पहिचान बनाएका उनले पात बजाउन थालेपछि धुन सुन्नैका लागि केटाकेटीदेखि बूढापाकासम्म झुम्मिन्छन् । लालकृष्ण आफूले सुनेका आधुनिकदेखि लोकभाका सम्मका गीतका धुन पातमै निकाल्छन् ।

Lal-Krishnaखेतीपातीले जीवनयापन गर्न गाह्रो भएपछि १६ वर्षको उमेरमा भुटान गएका उनले त्यही सबै किसिमका गीतका भाका टिपेर पातमा बजाउन सिकेका रहेछन् । ‘६ वर्ष भुटानमा बस्दा पूर्वेली राई, लिम्बूले पातबाट विभिन्न भाकाका गीतहरू सुसेलेको देखेपछि त्यसैबाट प्रेरित भएर मैले पनि कडा अभ्यास गरेर पिपिरीको पातबाट धुन निकाल्न सिकेँ,’ उनी फ्ल्यासब्याकमा फर्किए, ‘भुटानमा चौकीदारी काम गर्दा म पिपिरीकै पात बजाएर बस्थेँ, पहिले लगातार १० मिनेटसम्म बजाउन सक्थेँ अब त बूढो पनि भइयो, धेरै बेर लगातार बजाउन सक्दिनँ, अहिले मलाई श्वासको समस्या भएको छ ।’
आपूmले सिकेको सीपलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लालकृष्णको चाहना छ । ‘अरूले त सिकेनन् सिकेनन् आफ्ना छोराछोरीले पनि नसिकेर आफ्नो सीप लोप हुन लाग्यो,’ उनले गुनासो गरे, ‘पहुँच नभएकै कारणले यो सीप सबै सामु पुर्‍याउन सकिनँ र जीवन पनि धुन जस्तै सुरिलो बनाउन सकिनँ । गरिब भएकै कारण माथिल्लो निकायसम्म पुग्न पनि सकिनँ ।’
तीन छोरा र एक छोरीका अभिभावक लालकृष्ण घरपरिवार पाल्न अहिले सिकर्मी काम गर्छन् । कहिलेकाहीँ जिल्लाका स्थानीय रेडियोले उनलाई स्टुडियोमा बोलाएर पात बजाउन लगाउँछन् । ५९ वर्षको उमेरमा सबै लाखापाखा लागेपछि त्यही सिकर्मी पेसाले पालिनु पर्दा ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान आफ्नो जीवनमा सार्थक भएको गुनासो लालकृष्णकोे छ ।
अहिले पनि लालकृष्ण मौकाको खोजीमा छन् । जिल्लाका सञ्चारकर्मीलाई भेटेर दुखेसो पोखिरहन्छन् । कतै कुनै नयाँ अवसर पो छ की भन्दै चासो देखाउँछन् । पिपिरीको पात बजाएर एउटासम्म गीत रेकर्ड गराउने उनको धोको छ ।
‘पिपिरी नै नभए पनि राम्रो चिल्लो जुनसुकै पात भए पनि हुन्छ । पात मिलाएर धुन निकाल्नका लागि भने दाँत मिलेको हुनुपर्छ ।’ लालकृष्णको अनुभव छ । सानैदेखि गीत संगीत भनेपछि हुरुक्क हुने लालकृष्णले धेरै जात्रा र रत्यौलीमा गीत पनि गाएका छन् । पहिलापहिला त गाउँमा रत्यौली र जात्रामा निकै रमाइलो हुने गरेको उनको अनुभव छ । अहिलेको नयाँ पुस्ता विदेशी संगीत र संस्कृतिको पछि लागेकोमा चाहिँ लालकृष्णलाई मन परेको छैन् । ‘विदेशमा रहेका नेपालीहरू नेपाली गीत संगीतलाई कति धेरै माया गर्छन् तर नेपालीलाई विदेशी गीत घन्काउँछन् ।’ लालकृष्णले आक्रोश पोखे । लालकृष्ण थामी समुदायको गीत संगीतमा पनि पोख्त छन् । उनी थामी भाषामा धेरै गीत गाउन सक्छन् ।

– शेरबहादुर भुजेल