नेपाली धर्मपुत्री ल्याउन नदिँदा बेल्जियममा विवाद

एक बेल्जियन महिला र उनको नेपाली प्रेमीले नेपालबाट बेल्जियम ल्याउन खोजेको धर्मपुत्रीलाई यहाँको सरकारले अनुमति दिएन । यो समाचारले बेल्जियममा सनसनी फैलाएको छ । बेल्जियमको फ्रेन्चभाषी सरकारी टिभी च्यानल RTBF ले महत्वका साथ दिएको समाचारमा भनेको छ – ‘या त बेल्जियन आमा बच्चीसँग नेपाल मै बस्नु पर्ने भयो, वा छोरीलाई अनाथालयमा छोडेर स्वदेश आउनु पर्ने भयो ।‘
Deepika adoptionबेल्जियमको ब्रुज सहरका बासिन्दा दम्पत्ति २००५ देखि धर्मपुत्रको प्रकृयामा व्यस्त रहेको समाचारमा जनाइएको छ । बेल्जियन नागरिक बेनेदीक्त भान द सान्द नेपाली बच्चा धर्मपुत्रका रूपमा ग्रहण गर्न चाहन्थिन्, किनकी उनको जीवनसाथी नेपाली मूलका हुन् । तर नेपाल र बेल्जियमबीच धर्मपुत्र/पुत्री ग्रहणसम्बन्धी कुनै कानून नहुँदा समस्या बनेको छ । यही समस्याबाट पार पाउन दम्पत्तिले एक डच वकिलसँग कानूनी सहयोग लिएको र वकिल सन् २०११ मा नेपाल समेत गएका थिए । उनले ग्रहण गरिएकी धर्मपुत्री, जसको नाम दीपिका हो, साँच्चीकै अनाथ रहेको कागजपत्र पनि तयार गरे ।
मानवीय भिसा
बेल्जियन कानूनअनुसार बच्चाको सुरक्षा सुनिश्चित गर्न बेल्जियनको सरकारी अधिकारीमार्फत प्रशासनिक माध्यमबाट पहल गर्नुपर्छ । तर बेल्जियमभित्रै कागजी काम सम्पन्न नभएको कारण दीपिकालाई धर्मपुत्रीको रूपमा प्रवेशाज्ञा दिन नसकिएको सरकारी अधिकारीहरूले बताएका छन् । यहि कारण बेल्जियमको प्रान्तीय फ्लेमिश प्रशासन, संघीय सरकार र काठमान्डुमा रहेको बेल्जियमको वाणिज्य दूतावास (कन्सुलर) कार्यालयहरूले आफ्नो छोरी नेपालमा एक अनाथालयमा छोडेर आउन सुझाएका छन् ।

यो समस्या चर्कँदा ब्रसेल्स-वालोनियाको धर्मपुत्र ग्रहणसम्बन्धी न्यायाधीकारी बेत्रिस बेर्ताँले बताएकी छन्- ‘कानूनतः हेर्दा बेल्जियन कानूनले सो बच्चालाइ बेनेदीक्त भान द सान्दको छोरी मानीसकेको छैन। तसर्थ बच्चीलाई ‘मानवीय भिसा’ दिएर तत्कालका लागि समस्या समाधानको बाटो निकाल्न सकिन्छ ।’