नेपालद्वारा नामिबिया ५ विकेटले पराजित

kricketनेपाली राष्ट्रिय क्रिकेट टोलीले काठमाण्डूको कीर्तिपुर मैदानमा शनिबार नामिबियालाई ५ विकेटले पराजित गरेर विश्वकप क्रिकेटको छनोट खेल्ने सम्भावना कायम राखेको छ। आठवटा एशोसियट राष्ट्रहरुले खेलिरहेको उपल्लो तहको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो विजय हो।

साथै नेपालले ३ वर्षपछि कीर्तिपुर मैदानमा विजयको स्वाद चाखेको छ।भरपर्दा ब्याट्सम्यान शरद भेषावकर खेलका नायक बनेका थिए। पहिलो खेलाडी बाहिरिएपछि ११ औं ओभरमा मैदान छिरेका भेषावकरले साढे दुई घण्टा भन्दा बढी समय क्रिजमा डटेर जिम्मेवारी सम्हाले।

एक समय धरमराइसकेको नेपालको इनिङलाई उकासे र आफैँले विजयी चौका प्रहार गरेर नेपाललाई पहिलो विजयको स्वाद दिलाए। अविजित ५० रनको अर्धशतक ठोकेका उनले छैटौं विकेटमा विनोद भण्डारीसँग मिलेर बनाएको ८४ रनको साझेदारीले जितको आधार तयार पारेको थियो।

उनले भने, “साथीहरु टिक्न नसकिरहेको अवस्थामा जिम्मेवारीपूर्वक खेल्न जरुरी थियो। त्यसमा विनोदले आएर दबाब घटाउने काम गरिदियो। र सबैकुरा सकारात्मक भयो। म खुशी छु।”

कप्तान पारस खड्काले जितलाई नयाँ वर्षको पहिलो उमंगको रुपमा व्याख्या गरेका छन्। उनी भन्छन्,”नेपालको नयाँ वर्ष हामीले नयाँ जितका साथ शुरु गरेका छौं। यसलाई हामीले निरन्तरता दिनुपर्छ । विश्व क्रिकेट लिगको प्रणाली यस्तो छ कि हरेक खेल उतिक्कै महत्वपूर्ण छ।”

टस जितेर पहिलो ब्याटिङ रोजेको अफ्रिकी टोली नामिबियाले ९ विकेट गुमाउँदै १ सय ९५ रन बनाएपछि जवाफमा आएको नेपाली टोलीले ५ खेलाडी गुमाई १७ बल खेल्नु अगावै जित पाएको हो। विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो विजय हो। जीतसंगै नेपाल छैटौं स्थानमा उक्लेको छ।

शरदको जिम्मेवारीपूर्ण इनिङका साथसाथै पहिलोपटक राष्ट्रिय टोलीबाट खेलिरहेका युवा स्पिनर सन्दिप लामिछानेको प्रदर्शन शनिबारका मुख्य आकर्षण थिए। त्यसमा विनोद भण्डारीले हानेको महत्वपूर्ण ३ वटा छक्का र कप्तान पारस खड्काले गरेको स्पिन बलिङले दर्शकहरु लोभिएका थिए।

विपक्षी टोली भने नेपाली दर्शकबाट लोभिए । नामिवियाका प्रशिक्षक डी. ठाकुरले भने, “हामीले यति धेरै दर्शकहरु माझ खेलेका थिएनौं । यहाँ खेलाडीहरुले रमाइलो गरेका छन्।” नेपाली क्रिकेटमा रहेको विवादका कारण ३ वर्षपछि आइसीसीले नेपालमा खेल आयोजना गरेको हो।

८ राष्ट्र बीच भइरहेको प्रतियोगिताको पछिल्लो चार खेल हारेको नेपालको यो जितसंगै विश्वकप छनोट खेल्ने यात्राको सम्भावनालाई ब्युँताएको छ। प्रतियोगिताको उत्कृष्ट ४ भित्र पर्ने राष्ट्रले सन् २०१९ मा हुने विश्वकपको छनोट खेल्न पाउने प्रावधान छ। उक्त खेल बांग्लादेशमा हुनेछ।

नेपालले अब सोमवार फेरी नामिबियासंगै अर्को खेल खेल्नेछ।