तपाईं हावा मान्छे !

लामो समयपछि अस्ति म लुभेनको डाउन टाउनमा बरालिन निस्केको थिएँ । एक जना मित्र भेट भए । भने- ‘तपाईं हावा मान्छे !’

एकछिन म अलमलिएँ र गम खान थालेँ । ‘हैन, खास के भो र ?’

‘त्यो मैले छपाइदिनुस भनेको समाचार किन नछपाइदिनु भएको ?’

बित्यास । अनावश्यक बित्यास । उनको समाचार नछपाइ दिएर म हावा भएँ । मैले छापी दिने आश्वासन दिएको थिएँ ? त्यो पनि होइन ।

हामी हरेकको जीवन एउटा सिनेमा हो । सिर्फ त्यसलाई ड्रामाटाइज गर्ने लेखकको जरूरी हुन्छ ।

‘हामीले जूममा कोरोना र नयाँ नक्साका बारेमा ठूलो अन्तरकृया गर्यौ । त्यसपछि भूकम्पमा सहयोग गर्न दाैडियाैं। एनआरएन सँघको चुनावमा सक्रिय भएर लागियो। खै, तपाइँदे छाप्नु भएन ? … तपाईं अल्लि सक्रिय हुनुपर्यो । खुल्नुपर्यो क्या । यसरी हराएर भएन ।’ उनले  अर्ति दिए ।

जूमको कोठे गफलाई समाचार बनाएर नछापेर म हावा भएँ । अब म के उत्तर दिउँ ? खगेन्द्र संग्रौलाको जस्तो भाषामा वा ओली अंकलको जस्तो तुक्कामा म प्याच्च उत्तर दिन सक्थेँ । तर यो प्याच्च बोल्ने उपक्रम मैले कोरोना आतंक, खुराफातीहरूको मिथ्यांक र एकपछि अर्को भूकम्पको हताहती तथ्यांकपश्चात् रोक्ने निचोडमा पुगेको छु । म ङिच्च हाँसेमात्र । हाँसेर धेरै कुरा टार्न सकिन्छ । आखिर मान्छेले अर्थ बुझे पनि हाँस्ने हो, नबुझे पनि हाँस्ने नै हो । भन्छन् नि, कतिपय मान्छेहरू जोक सुनेपछि पहिलोचोटी लहैलहैमा हाँस्छन् । दोस्रो चोटी जोक बुझेर हाँस्छन् र तेस्रो चोटी त्यही जोकमा फेरि हाँस्छन्- पहिलो चोटी म त्यस्सै हाँसे भनी सम्झीसम्झी । जीवनको अर्थ पनि यस्तै हो । मान्छेहरू क्याम्पस सकिएपछि जीवनको अर्थ बुझेँ भनेर मख्ख पर्छन् । अनि अधबैंसे हुँदा घोत्लिएर जीवनको नयाँ अर्थ बुझेँ भनेर छक्क पर्छन् । तर त्यो ज्ञान पनि क्षणिक लाग्छ । भौँतारिन थाल्छन् । जब शाश्वत ज्ञान अनुभूत हुनथाल्छ, संसार छोड्ने दिन आइपुग्छ ।

त्यसैले, मलाई मान्छेहरू झिनामसिना कुराहरूमा बत्तिरहेको देख्दा हाँसो लाग्छ । धेरै मनुवाहरूको जिन्दगी बत्तिएरै जान्छ ।

यसबिच मैले दर्शनका केही टुक्राहरू पढ्न/बुझ्न खर्चिएँ । चिन्तनलाई फरक परिप्रेक्ष्यमा कसी लगाउने प्रयत्न गरेँ । (यो पनि एउटा भाैंतारिने क्रम नै हो ।)

एक, मान्छे मर्नु नै छ भने यी यावत दुःख/झमेला किन गर्ने ?

दुई, सबै ज्ञान किताब र इन्टरनेटमा छ भने किन धेरै घोकीरहनुपर्यो ? चाहिए, गुगल-सुगल गरे त भैहाल्यो ।

यो कोणबाट हेर्दा, संसार वास्तवमा झन् सहज छ ।

मान्छे रोगी हुन्छ, बुढो हुन्छ र मर्नुपर्छ भन्ने उदासी सच्चाई हो । यो सच्चाईलाई हल्काफुल्का लिए पनि गंभीरतापूर्वक लिए पनि उत्तर एउटै हो । पीडामा फरक हुन्छ । सबैको पीडा एउटै नहुन पनि सक्छ।

धेरै मान्छेको निम्ति जिन्दगीको अर्थ बुझे पनि नबुझे पनि यो एउटा नित्य कर्म हो । एउटा औपचारिक अनुष्ठान हो । त्यही अनुष्ठानका क्रममा हामीले आफ्नो औकात र अस्तित्व खोज्ने हो । हाम्रो (आफ्नै) ज्ञानको परिधिमा, (आफ्नै) विश्वासको घेरामा । हाम्रो ज्ञान र विश्वास, समयानुकुल परिवर्तनशील छन् । हिजोका सहश्राब्दि हिरो विन्स्टन चर्चिल अहिले ‘रेसिस्ट’ कित्तामा छन् । इतिहासमा साम्राज्य जमाउनेहरूको सालिक अहिले (युरोपमा) आफ्नै देशमा ढलिरहेका छन् । अनि इतिहास पढेकाहरू र कन्स्पिरेसी थ्यौरी मान्नेहरू त्यही समाजमा आ-आफ्नै विश्वासमा बाँचिरहेका छन् । उसले उसलाई हावा देख्छ । भाइस-भर्सा । युधिष्ठिरले दुर्योधनलाई हावा देख्छ, दुर्योधनले युधिष्ठिरलाई । को हावा भन्ने कुरा त सिटमा बसेर सिनेमा हेर्ने दर्शकलाई थाहा हुन्छ । हामी हरेकको जीवन एउटा सिनेमा हो । सिर्फ त्यसलाई ड्रामाटाइज गर्ने लेखकको जरूरी हुन्छ । ड्रामाटाइज गर्न सक्नु एउटा कला हो । वास्तवमा लेखक एउटा ठुलो ड्रामाकार हो । नाटककार हो । नाटक नलेखे पनि लेखक वास्तवमा नाटककार नै हो। मेरो बत्तिने साथीलाई हल्काफुल्का ड्रामाटाइज गर्ने मेरो रूचि हो । सबै नाटकका पात्रहरू र नाटककारको जय होस् ।