ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

अमेरिकामा रिपब्लिकन पार्टिका राष्ट्रपतिय उम्मेदवार डोनल्ड ट्रम्प उक्त पदका लागि अयोग्य भन्दै राष्ट्रपति ओबामाले Obamaउनको चर्को आलोचना गरेका छन्।

ओबामाले अझैपनि रिपब्लिकन पार्टिले ट्रम्पको उम्मेदवारी समर्थन गरिरहेकोप्रति समेत प्रश्न उठाएका छन्।

विगतका रिपब्लिकन उम्मेदवार भन्दा भिन्न ट्रम्पसंग विश्वकै सबभन्दा शक्तिशाली पद ओगट्न आवश्यक विवेकशीलता तथा स्वभाव नभएको ओबामाले बताए।

उनले भने, “मलाई लाग्छ उनीहरुले अब आफैंलाई सोध्नुपर्छ कि यदी बारम्बार तपाईंलाई उनको भनाई अस्वीकार्य छ भनेर कडा टिप्पणी गरिरहनुपरेको छ भने किन अझै उनलाई समर्थन गरिरहनुहुन्छ।‘

विगतमा पनि अन्य रिपब्लिकन राष्ट्रपति वा उम्मेदवारहरुसंग नीतिगत भिन्नता रहने गरेको भएतापनि तिनले राष्ट्रपति पदनै सम्हाल्न अयोग्य कहिल्यै ठान्ने नगरेको ओबामाले बताएका छन्।

अमेरिकी सेना अन्तर्गत इराकमा खटाइंदा ज्यान गुमाएका छोराका पिता तथा अमेरिकी मुसलमान खिज्र खानले मुसलमानहरुलाई अमेरिका भित्रन अस्थायी प्रतिबन्ध लगाउने ट्रम्पको योजनाको गत साता आलोचना गरे।

लगत्तै ट्रम्पले खानको परिवारको आलोचना गरे। ट्रम्पले त्यसो गर्न नहुने भन्दै डेमोक्र्याटिक तथा रिपब्लिकन दलका नेताहरुले ट्रम्पको भर्त्सर्ना गरेका थिए। मंगलबार ट्रम्पले आफ्ना दलका दुई वरिष्ठ नेता तल्लो सदनका सभामुख पाउल र्यान तथा सिनेटर जन मक्केनलाई नोभम्बरमा हुने उनीहरुको पुनर्निर्वाचनमा समर्थन गर्न इन्कार गरे। उनका यी व्यवहारप्रति लक्षित ओबामाले कडा टिप्पणी गरेका हुन्। तर उनको टिप्पणीको भर्त्सर्ना गर्दै ट्रम्पले ओबामाको नेतृत्व विफल भएको प्रतिक्रिया दिएका छन्।- बीबीसी