ज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा

semenशारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ ।

‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ । उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार कम्तीमा पनि १५ घन्टा या त्यसभन्दा बढी कसरत गर्ने पुरुषको वीर्यको गुणस्तर राम्रो हुन्छ । कतिपय विशेषज्ञको सुझाव छ कि सन्तानको चाहना राख्ने व्यक्तिले त्यस्ता खेलहरूबाट आफूलाई टाढा नै राख्नुपर्छ जसले शुक्राणुलाई हानि पुर्याउन सक्छ ।
एक अर्को अध्ययनले लामो समयसम्म मोटर साइकलको सवारी गर्नु र कसिएको कपडा लगाएर लामो दूरी दौडनु पनि उचित नहुने देखाएको छ । कसिएको अण्डरवेयर पहिरिने व्यक्तिको शुक्राणुको स्तर पनि कमसल हुने उक्त अध्ययन–प्रतिवेदनको निचोड छ । यसरी, गतिहीन जीवन बाँचिरहेका पुरुषको शुक्राणुमा सन्तान उत्पादन गर्ने क्षमता ह्रास हुने गरेको पाइएको निचोडमा शोधकर्ताहरू पुगेका छन् ।