जुम्लाका महिला गर्भपतन गराउन मलखाल्डोमा बस्छन्

एक्सन वर्क्स नेपालले महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे जुम्लामा गरेको आधारभुत सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सर्वेक्षणबाट प्राप्त तथ्यहरु सार्वजनिक गरिएको हो ।

कार्यक्रम व्यबस्थापक अनिता भुजेलले जुम्लाका तीन गाविसका ५ सय ९१ घरधुरीमा सर्वेक्षण गरिएको बताउँदै ६ प्रतिशतले गर्भपतन गराउनका लागि मलखाल्डोमा बस्ने गरेको पाइएको जानकारी दिइन् । सर्वेक्षणमा सहभागी मध्ये २८ प्रतिशतले घरमैं सिटामोल, जुकाको औषधि लगायतका चक्की खाएर र २२ प्रतिशतले मेडिकल एवर्सन गर्ने गरेको पाइएको उनको भनाई छ ।

Jumla womenव्यबस्थापक भुजेलले भनिन्, ‘शनिगाउँ, कुडारी र लाम्रा गाविसमा गरिएको आधारभुत सर्वेक्षणका क्रममा गर्भपतनका लागि यौनाङ्गमा बाहिर बस्तुहरु जवरजस्ती राख्ने गरेको र ५ दशमलव ९ प्रतिशतले मलको तातोमा बस्ने गरेको बताएका छन् । जम्मा २२ दशमलव २ प्रतिशतले मात्रै मेडिकल एवर्सन गराएको बताएका छन्, अरु सबैले असुरक्षित गर्भपतन गराउने गरेको देखिन्छ ।’

अध्ययनका क्रममा जम्मा २१ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराउने सूचिकृत स्वास्थ्य संस्थाको बारेमा थाहा पाएको बताएको कार्यक्रम व्यबस्थापक अनिता भुजेलको भनाइ छ । उनले भनिन्, ‘गर्भपतनका बारेमा ७३ दशमलव ८ प्रतिशतले सुनेका रहेछन्, ५१ दशमलव ६ प्रतिशतलाई गर्भपतन गराउने कानुनी अधिकार छ भन्ने थाहा रहेछ । सर्वेक्षणमा सहभागी मध्ये ६८ दशमलव ३ प्रतिशतले त गर्भपतनलाई पनि परिवार नियोजनको साधनको रुपमा लिएका छन् । यसबाट प्रष्ट हुन्छ की जुम्लाका नागरिकलाई सुरक्षित गर्भपतनका बारेमा जानकारी छैन ।’

सर्वेक्षणका क्रममा ९० प्रतिशतले परिवार नियोजनको कुनै एउटा साधनको बारेमा थाहा पाएको बताएका थिए भने जम्मा १२ प्रतिशतले मात्रै परिवार नियोजनका पाँचवटै अस्थायी साधनका बारेमा जानकारी भएको बताएका थिए । सर्वेक्षणमा सहभागी मध्ये ६५ दशमलव ३ प्रतिशतले १८ वर्षभन्दा कम उमेरमैं विवाह गरिएको पाइएको एक्सन वर्क्स नेपालले जनाएको छ ।

सर्वेक्षणबाट यौन तथा प्रजनन् स्वास्थ्य, महिला हिंसा लगायतका विषयमा व्यापक जनचेतना जगाउनु पर्ने र स्वास्थ्यकर्मीको क्षमता विकास तथा स्वास्थ्य संस्था सुदृढिकरण गर्नु पर्ने देखिएको व्यबस्थापक अनिता भुजेलले बताइन् । गाविस तथा जिल्लास्तरमा रहेका सरोकारवाला निकायले अनुगमन तथा मुल्याङ्कनका कार्यहरुलाई बृद्धि गर्नु पर्नेमा उनको जोड छ ।

एक्सन वर्क्सका तर्फबाट पनि जनचेतनाका विभिन्न कृयाकलापहरु भैरहेको बताउँदै उनले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वयमा यस्ता कृयाकलापलाई निरन्तरता दिइने जानकारी दिइन् । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुको नियमितता नभएका कारण जुम्लामा महिलाले यौन तथा प्रजजन् स्वास्थ्य सुविधा लिन नपाएको पनि सर्वेक्षणले देखाएको छ ।

परिवार नियोजनका पाँचवटै अस्थायी साधनको सेवा सबै स्वास्थ्य संस्थाबाट दिनु पर्ने र साथै स्वास्थ्यकर्मीको क्षमता विकास गर्नु पर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

– विनोद शर्मा, अोएनएस् न्युज