जागीर छोडेर नेपाली विद्यार्थीको सेवामा लागेकी ‘बेल्जियन दिदी’

‘भलाईको लागि भनेर सानो-सानो रकम संकलन गरी ७ करोड रुपैयाँ जम्मा गर्नु त्यति सजिलो छैन, तर पनि मलाई विश्वास छ यो सहयोग रकम जुट्ने नै छ’, भित्तामा झुड्याईएको लक्ष्मीको फोटो तिर हेर्दै उनले भनिन| आफूले गर्दै आईरहेको जागीर छोडेर सडक, अनाथ तथा गरिब नेपाली बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासको लागि सहयोग गर्दै आइरहेकी छिन्- बेल्जियमस्थित “सुखी होम” नामक सामाजिक संस्थाकी अध्यक्ष क्याथरिन मेईस । उनले काठमाडौंको साँखुमा ७ करोड रुपैयाँको लागतमा ‘साँग्रीला किड्स’ नामक स्थाई भवन निर्माण गर्ने सोच बनाएकी छिन|

'म्युजिक फर लाईफ' कार्यक्रममा क्याथरिन
‘म्युजिक फर लाईफ’ कार्यक्रममा क्याथरिन

काठमाडौं, आरुबारीस्थित भाडाको घरमा बसिरहेका २०० बालबालिकाले सन् २०१७ मा त्यो घर छोड्नु पर्नेछ| सधैँ भाडामा यताउता गर्नु भन्दा एक स्थाई भवन निर्माण गरेर गरिब विद्यार्थीको लागि सदाको लागि आवासको प्रवन्ध गर्नु उनको लक्ष्य रहेको छ| सन् २०१२ मा भवनको लागि साँखुमा जग्गाको बन्दोबस्त गरीसकेकी क्याथरिन यो लक्ष्य प्राप्त गर्न दिन-रात सहयोगको आव्हान गर्दै घर-घर दौडिरहेकी छिन|

सन् २०१५ बाट भवन निर्माणको काम थालनी गरी २ वर्षको छोटो अवधिमा सम्पन्न गर्नु पर्ने समयसीमाले उनको मनमा पिरलो थपिएको छ| यो पिरलोलाई बेल्जियमस्थित नेपाली समुदायसँगै बसेर बाँड्न चाहन्छिन उनि| बिद्यार्थीको सेवाको लागि ७ पटक नेपाल गएकी ५५ बर्षिय क्याथरिन नेपाल र नेपाली भनेपछि हुरुक्कै हुन्छिन्| नेपाली बिधार्थिहरु उनलाई दिदी भनेर बोलाउँछन| उनको साथान रमाउँछन । खुशीले गद्गद् हुन्छन् | पर्यटकको रुपमा पहिलो पटक सन् २००७ मा नेपाल गएकी उनि ‘नेपालीकी दिदी’ बनेर फर्किन|
Catherine Sukhi Home2
पर्यटकको रुपमा काठमाडौंको ठमेलमा घुमिरहेको बेला एक गरीब बिधार्थी भेटिन् । त्यो पनि बिरामी अवस्थामा | फ्रेन्च, अँग्रेजी र ईतिहासको शिक्षिका बन्ने रहरले अध्ययन पुरा गरेकी उनलाई बिधार्थीको बेदनाले चसक्क छोयो| त्यतिखेर उनी आफ्नै व्यक्तीगत पीडामा थिइन् । उनको मनमा सम्वन्ध विच्छेदको बेदना थियो । तर त्यो बेदना त्यस बिधार्थीको अगाडि फिक्का रह्यो| उनले आफ्नो बिधार्थिकालको स्मरण गरीन । त्यस बिधार्थिको स्वाभाविक चाहना र भविष्यबारे सोच्दासोच्दै उनको मन द्रविभूत भयो । उसका लागि के गर्न सक्छु ? भन्दै मनमनै घोत्लीरहिन | संयोगबश, उनले काठमाण्डौको आरुबारीस्थित ‘साँग्रीला होम’ नामक बेल्जियन संस्था भेटिन । जसले थुप्रै गरिब, अनाथ तथा असहाय बालबालिकाहरुलाई संरक्षण दिएर उनीहरुको शिक्षा, स्वास्थ्य र आवासमा सहयोग गरीरहेको थाहा पाईन| बेल्जियममा कस्मेटिक म्यानेजरको रुपमा कार्यरत रहेको बेला आफ्नो जागिर छोडेर तिनै बिधार्थीको लागि केहि गर्ने निधो गरीन| सन् २००९ मा जागिर छोडेर तिनै बालबालिकाको लागि बेल्जियममा रहेका आफ्ना साथीभाईहरुबाट बिभिन्न च्यारीटी कार्यक्रम गरेर सहयोग रकम संकलन गर्न शुरु गरीन| ति नेपाली बिधार्थिहरुलाई उनि सुखी र खुशी देख्न चाहन्छिन| त्यसैले बिधार्थीको सुखको लागि सन् २०११ मा ‘सुखी होम’ नामक संस्था खोलिन । त्यसपछि त झन् उनले आफ्नो दायीत्व बढेको ठान्न थालिन् । उनीहरुकै सुख र खुशीको लागी लागीपरेकी छिन सहयोग संकलनमा| उनलाई २ बर्षमा भवन निर्माणको चुनौती आएको छ, तर उनि निश्चिन्त भन्छिन- ‘भलाईको काममा पक्कै पनि सबैको साथ र सहयोग रहन्छ |’

सुखी घरको परिकल्पीत नमूना
सुखी घरको परिकल्पीत नमूना
सहयोग संकलनको लागी उनले बिभिन्न किसिमका कार्यक्रम संचालन गर्दै अईरहेकी छिन| बेल्जियममा आयोजना गरेका उनका बिभिन्न कार्यक्रमले सहयोग संकलनको साथै बेल्जियन नागरिकहरुमाझ नेपाली खाना, हस्तकलाको साथै पर्यटन प्रवर्द्वन समेत भएको छ| नेपालबाट हस्तकलाका सामान ल्याउने गरेकी क्याथरिनले हासल्ट, वेस्तर्लो र लुभेन सहरमा समेत गरी तिन पटक नेपाल महोत्सव आयोजना गरी सकिन् | यस्ता महोत्सवमा उनले नेपाली खाना र हस्तकलाका सामानको बिक्रीवितरण मात्र होईन प्रोजेक्टरको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरताको बयान र वर्णन गर्न पनि छुटाउँदिनन् | यस्ता कतिपय कार्यक्रममा नेपालबारे राम्रो जानकारी राख्ने बेल्जियन पत्रकार निकले समेत क्याथरिनलाई सहयोग गर्ने गरेका छन् | गत बर्ष स्टुडियो ब्रसेल्सको ‘म्युजिक फर लाईफ’ कार्यक्रम अन्तर्गत लुभेनमा समेत नेपाल महोत्सवको आयोजना गरी भव्य रुपमा सम्पन्न गरीयो |
विद्यार्थीहरूको साथमा क्याथरिन
विद्यार्थीहरूको साथमा क्याथरिन

उनले करिब २०० बिद्यार्थीहरूलाई संरक्षण दिइरहेकी छन् । तिनमा दुई-तिन बर्षका नानीदेखि २५ बसन्त बिताएका युवा वर्ष बिद्यार्थी पनि छन् । एक जना बिधार्थीको लागि मासिक ९० युरो खर्च जुटाउन समेत धौ धौ परिरहेको बेला ७ करोड रुपैयाँ संकलन गर्न प्रयास निकै चुनौतीपूर्ण रहेको उनी स्वीकार्छिन् । उनि भन्छिन्- ‘सहयोग गर्नेहरु बढेका छन्। मलाई ७ करोड मानिसले यौटा ईटा दिए पुग्छ |’
पत्रकार निक सहयोग जुटाउने अभियानमा
पत्रकार निक सहयोग जुटाउने अभियानमा

नेपालीहरुका प्रायःजसो कार्यक्रममा पुग्ने उनि नेपालीहरुलाई असल साथीको रुपमा लिन्छिन| नेपालीहरुलाई आवश्यक परेको बेला राय-सल्लाह र सुझाब समेत दिने गरेकी क्याथरिनले नेपालीहरु पनि यस प्रोजेक्टमा सहभागी भैदिए हुन्थ्यो भन्ने ठान्छिन् | भावानात्मक रुपमा नेपालीहरुसँग अत्यन्तै नजिक रहेकी क्याथरिन नेपालीहरुसँग बसेर आफ्ना कुरा बाँड्न चाहन्छिन| यसको लागि आउँदो जुलाई ६ आईतवारका दिन ओन्स हाउस लुभेनमा एक भेटघाट कार्यक्रमको आयोजना गरेकी छन् । भेटघाट कार्यक्रमबारे उनले खुलस्त भनिन्- ‘ मलाई सबैको साथ चाहिएको छ । त्यसमा पनि नेपाली बिधार्थीको लागी गरीने परोपकारी कार्यमा यहाँका नेपालीहरुको सहयोग निकै महत्वपूर्ण हुनेछ|
’नेपालका बिधार्थिले बेल्जियममा रहेका नेपालीहरुले पनि हामीलाई सहयोग गरे भन्ने कुरा सुन्दा ति नेपाली कति खुशी होलान’, मुस्कुराउँदै उनले थपिन् ।

(दीपकज्योति पौडेलसँग गरीएको कुराकानीको आधारमा )