खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

गल्फ कोपरेसन काउन्सिलमा आवद्ध रहेका मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमन र बहराइनले आगामी वर्ष घरेलु श्रम सम्वन्धि कानुन लागु गर्ने भएका छन् । यी क्षेत्रमा काम गर्ने करिब साढे दुई लाख नेपाली कामदार पनि घरेलु श्रम कानुनबाट लाभान्वित हुनेछन् । नयाँ घरेलु श्रम कानुनले घरेलु कामदारको पासपोर्ट जफत गर्ने काममा बन्देज लगाउनुका साथै तलव समयमा दिन मालिकलाई बाध्य पार्ने छ, स्थानिय समाचारपत्र गल्फ डेलीले जनाएको छ । ‘यो कानुनले हाउसमेड, क्लिनर, नानी, कुक, बल्टलर, ड्राइभर र मालीको रोजगारी कानुनको दायरामा ल्याउने छ,’ गल्फ डेलीले भनेको छ ।

Nepali_women-migrant-workerखाडीमा करिव ४५ लाख घरेलु श्रमिक हाउसमेड, क्लिनर, नानी, कुक, बल्टलर, ड्राइभर र माली छन, तर अहिले सम्म उनीहरु श्रम कानुनबाट संरक्षित छैनन् । घर भित्रमात्र काम गर्ने महिला घरेलु कामदार खाडीमा निकै शोषित र पिडित छन् । करिव दुईलाख ६० हजार नेपाली महिला खाडीमा घरेलु कामदारको रुपमा कार्यरत रहेको अनुमान छ ।

‘गल्फ कोपरेसन काउन्सिलले नयाँ श्रम ऐनको मस्यौदाको अन्तिमरुप दिने काम गरिरहेको छ,’ बहराइनका श्रम मन्त्रालयका उपसचिव सवाह अल दोसरीले भने, ‘खाडीका सबै देशमा लागु हुन सक्ने कानुन बनिरहेको छ । काउन्सिलका सदस्य राष्ट्रले आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी लागु गर्ने छन् ।’ नयाँ कानुनमा सबै देशले आधारभुत कुराहरु कामको करार, सातामा एक दिन बिदा, खानेबस्ने सुविधा, कपडा, भिसा शुल्क र विमानको टिकटमा समानता हुनेछ । तीन महिनाको परिक्षण कालमा कामदारले उचित कारण भएमा मालिक परिर्वतन गर्न सक्ने छन् ।

घरेलु श्रमिकको करार अवधी दुई वर्षको हुने छ र कुनै पनि पक्षबाट नटुंगाइएमा स्वतः नविकारण हुनेछ । करार अवधी टुंगाउन तीन दिन अगाडि सुचना दिनु पर्नेछ । तलवको रिसिप्ट दिने वा कामदारको बैक खातामा जम्मा गर्नु अनिवार्य हुनेछ । यो कानुन अनुसार, कामदारले काम गर्ने परिवारको गोप्यता कायम गर्नु अनिवार्य गरिएको छ ।