किराती मिथकमाथि निर्माण गरिएको फिल्म बिनायोको सोमबार विशेष प्रदर्शन गरियो।फिल्ममा किरात राईहरूको सभ्यता प्रस्तुत गर्न खोजिएको छ। पूर्वी नेपालमा मूल बसोबास गर्ने यस जातिको सभ्यता र संघर्षलाई बिम्बित गर्ने मिथक हेत्छाकुप्पा (किरात राईहरूमा विभिन्न फरक भाषा हुने भएकाले हेत्छाकुप्पालाई विभिन्न नामले चिनिन्छ) लाई फिल्मको प्रमुख विषय बनाइएको छ।
फिल्म किराती सभ्यतासँग मात्रै जोडिएको छैन, सिंगो मानव सभ्यतासँग पनि जोडिएको छ। पहिलो या दोस्रो पटक फिल्म हेर्नेलाई यो उत्कृष्ट लागे पनि फिल्मका पारखी र यसको कथाका बारेमा अभ्यस्त दर्शकको चित्त बुझाउन सक्षम देखिँदैन।
फिल्म हेत्छाकुप्पाको पारिवारिक जीवनबाट शुरू हुन्छ। सानै उमेरका दुई छोरी र एक छोरालाई छाडेर केही समयान्तरमा आमाबुबाँसंसारलाई छाडेर जान्छन्। त्यसपश्चात् शुरू हुन्छ तीन चेली माइतीको संघर्ष। आहाराको अभावमा हेत्छाकुप्पा पनि एक बिहान बेहोस हुन्छ। तायामा र खियामा (हेत्छाकुप्पाका दिदीहरू) ले भाइलाई मरेको भन्ठान्छन्। उक्त घटनापश्चात् उनीहरू पनि आफ्नो भाइ र घर छोडेर टाढा जाने निर्णयमा पुग्छन्। यत्तिसम्म कथा अघि बढिसक्दा त्यहाँको समाजलाई भने मृतप्रायः प्रस्तुत गरिएको छ। हेत्छाकुप्पाको बुबाँबिरामी हुँदा झारफुक गर्ने पात्रबाट के स्पष्ट हुन्छ भने त्यहाँ उनीहरूको अरू छिमेकी पनि छन्। तर मृत्युको समयमा त्यो घर शून्य हुन्छ। अन्य पक्षलाई ओझेलमा पारेर आमाबुबाका फरक दुई चिहान देखाइए पनि समाज र मृत्यु संस्कारलाई भने एकै चिहानमा पुरिएको छ।