प्रकाशन संसारमा बारम्बार उठ्ने प्रसङ्ग हो- व्यावसायिक र साहित्यिक रचना बीचको भिन्नता कसरी खुट्याउन सकिन्छ ? रमाइलोका निम्ति पढिने पुस्तक र गहन पुस्तक हुनमा केले फरक पार्छ ?
हरेक वर्ष प्रशस्त पुस्तक छापिन्छन् । कुनै राम्रा त कुनै फितला । पुस्तक पढेपछि थाहा भैहाल्छ कुन राम्रो र कुन फितलो साहित्य हो । तर गहन र फितलो साहित्य भन्ने मापदण्ड के हो ? मान्छेपिच्छेका मत सुनिन्छन् ।
के कुराले राम्रा साहित्यिक रचना बन्छ र के कुराले फितलो बिकाउ साहित्य बन्छ भन्ने बारेमा सबैको एउटै बुझाई नहुन सक्छ । हालै एक अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागी बन्दा मैले थरिथरिका विचार सुनेँ । कतिपयले त जसले धेरै कृति छपायो, ऊ त्यति नै धेरै गहन भन्ने सम्मका अर्थ लगाएको पाएँ ।
तर यहाँ चर्चा गर्न खोजेको कुरा ती संख्यामा विश्वास गर्ने विद्वानहरूको होइन ।
उसो त कुनैलाई गहन मान्ने वा नमान्ने भन्ने कुरा व्यक्तिपरक पनि हुन्छ । र इतिहासमा कहिलेकाहीँ उस्तै स्तरका दुई राम्रा पुस्तकमा एउटाको स्वीकारोक्ति बढी र अर्कोको कम हुन पनि सक्छ । कुनै निश्चित रचनालाई केही उल्लेखनीय व्यक्तिहरूले उत्कृष्ट भनेर स्वागत गर्दा केही हदसम्म त्यहाँ ‘स्नो-बलिङ प्रभाव’ हुन सक्छ । अनि त्यस्तो रचना पाठ्यक्रममा समावेश भयो भने पुस्ता-पुस्तासम्म थप प्रभाव पार्ने हुनसक्छ । जस्तो की ‘शिरीषको फूल’ को सफलतासँग शंकर लामिछानेको नाम जोडिन आइपुग्छ । ‘शिरीषको फूल’ जत्तिकै अर्को राम्रो पुस्तक अपेक्षाकृत छायामा परेको हुनसक्छ । तर, यो होइन की कमसल पुस्तकलाई प्रशंसाको तुलले वैतरणी पार गराउन सक्छ ।
त्यसो भए, पुस्तकलाई महान् बनाउन कुन विशेषताहरू आवश्यक छन् भन्ने बारेमा विभेद छुट्टाउने प्रयत्न गरौं ।
भनिन्छ कि व्यावसायिक रचनाले कथाका प्लटहरूलाई जोड दिन्छ भने साहित्यिक रचनाले पात्रहरू र भाषाको प्रस्तुतिलाई जोड दिन्छ । उनीहरू भन्छन्- साहित्यिक कथाले विशिष्ट गद्य र उपमाहरूलाई जोड दिन्छ जबकि व्यावसायिक कथामा सिधासादा वर्णन हुन्छ ।
अनि एक थरि यस्ता पनि हुन्छन्- कसैको अमूर्त र नबिकेका पुस्तकहरूलाई उच्चतम साहित्यिक कलेवर दिन्छन् । कसैले नपढ्ने पुस्तकको नाममा उनीहरूको तर्क हुन्छ- पढे पो थाहा हुन्छ !
त्यसैगरी, कतिपय कृतिहरूमा व्यावसायिकता र साहित्यिक मर्मको मिश्रण हुन्छ र कस्तो खालको रचना हो भनी चित्रण गर्न गारो हुन्छ ।
हामी कुनै पनि कथा पढौं वा उपन्यास पढौं वा महाकाव्य, कथानायक सांसारिक चुनौती खेप्छ । र, या त विजयी हुन्छ वा पराजित वा उद्देश्यका निम्ति सङ्घर्षरत । चाहे त्यो प्रेम कथा होस्, जासुसी होस् वा साइन्स फिक्सन । व्यावसायिक रचना घटनाप्रधान हुन्छ । त्यहाँ एक्सन, प्रेम प्रसङ्ग, कुनै उद्देश्यका निम्ति पीछा वा दंगाफसाद हुन्छ । र, पाठकले यी घटनाहरूलाई सर्सती दृश्यावलोकन गर्छ । कुनै कुनै व्यावसायिक पुस्तकहरू राम्रा पनि हुन्छन् तर ती गहिराइमा नपुगी मनोरञ्जन मै टर्छन् ।
साहित्यिक कृतिमा पनि स्वभावतः कथानक हुन्छ । त्यस्तो कथा खुलेको वा गूढ पनि हुनसक्छ । तर कथाभन्दा महत्त्वपूर्ण हुन्छ- त्यसको लेखन शैली, प्रस्तुति, पात्रहरूको मनोविज्ञानको चित्रण र शब्दहरूको मनमोहक खेती । जहाँ कल्पनाको गतिशीलता हुन्छ ।
त्यसैले ध्रुवचन्द्र गौतमको उपन्यास पढ्नुस् र युधीर थापाको उपन्यास पढ्नुस् । लेखन कला फ्याट्टै चिनिन्छ । यहाँ वकालत गर्न खोजेको कुरा यो होइन की रमाइलोका लागि व्यवसायिक पुस्तक पढ्ने की बुद्धि विलासका निम्ति गहन पुस्तक ? त्यो व्यक्तिगत छनौटको कुरा हो ।
हामीले पढ्ने हरेक कथा/उपन्यास मास्टरपिस नै हुनुपर्छ भन्ने छैन । कहिलेकाहीँ मिठा र सरल शब्द संयोजनहरूले लेखिएका घटनाप्रधान पुस्तकहरू पढ्न पनि मजा आउँछ । मनोरञ्जन हुन्छ । धेरै दिमाग खियाउन पनि नपरोस् र फोस्रो विद्वता छाँटिएको पनि नहोस् । खासगरी कलेज जीवनताका युधीर थापाका करिब सबै उपन्यासहरू पढेको थिएँ मैले । तर युधीर थापाका दर्जन उपन्यास पढ्दाभन्दा दर्जन गुना बढी रोमाञ्चित भएको थिएँ म- ध्रुवचन्द्र गौतमको ‘अलिखित’ पढ्दा । गहन साहित्य अलिकति अबोद्य, अल्ली बढी आलोचनात्मक र अझ धेरै दार्शनिक हुन्छ । तिनीहरूले हामीलाई जीवनका कठिन प्रश्नहरूको बारेमा मनोविनोद र अन्तर्क्रिया गर्न आमन्त्रित गर्छन् । यी महान् कृतिहरूले हामीलाई हाम्रो जीवन र जगतबारे घोत्लिन उत्प्रेरित गर्छन्, यद्यपि यी प्रश्नहरूको जवाफ पाउन जीवनभर लाग्न सक्छ ।
विशिष्ट गद्यमा मर्मस्पर्शी कथा भयो भने त्यसले पाठकको मन जित्छ । तिनै कथा कालान्तरमा ‘क्लासिक’ मानिन्छन् । मैले मेरो बुबालाई सारा जिन्दगीमा एकचोटी मात्र रोएको देखेको थिएँ । त्यो हो- गुरुप्रसाद मैनालीको कथा ‘नासो’ वाचन गर्दा । त्यसमा कति शक्ति रहेछ ? मेरो दृढ हृदयका पिताश्रीलाई रुवाउन सक्ने ! हो त्यस्तो कथा जसका पात्रहरू सजीव छन् र ती पात्रहरूको चित्रण सजीव रूपमा गरिएको छ, ती कथा हुन्छन् महान् । मेरो विचारमा नासो नेपाली आख्यान साहित्यको कालजयी कथा हो ।
आख्यान कालजयी हुन समयको परीक्षामा उत्तीर्ण हुनुपर्छ र त्यसका निम्ति पाठकको जीवनमा राम्रो प्रभाव पारेको हुनुपर्छ ।
राम्रा र फितला पुस्तक हरेक वर्ष छापिन्छन् । पढेपछि थाहा भैहाल्छ कुन राम्रो र कुन फितलो साहित्य हो । तर कालजयी हुनलाई राम्रो साहित्य मात्र भएर पुग्दैन । राम्रो साहित्य हो भन्ने मानिएर कालखण्ड बिताउनु पर्छ ।