ओलीको उदयपछि कांग्रेसमा हलचल

नेपाली कांग्रेसले शनिबार बोलाएको सर्वदलीय बैठकमा एमाले, एमाओवादीलगायत कुनै पनि पार्टीका प्रभावशाली नेताहरू सहभागी नभएपछि कांग्रेस नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चर्चा सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइराला सर्वसम्मत संसदीय दलको नेता नबनेको र एमालेभित्र केपी ओली बलवान बन्दै गएपछि काँग्रेसी वृत्तमा हलचल गएको छ ।
kp-oliबहुमतको सरकार बनाउन राष्ट्रपति डा.रामवरण यादवले दोस्रो चरणमा दिएको म्याद पनि यसैगरी गुजि्रयो भने एमाले नेता केपी शर्मा ओली दलको नेतामा निर्वाचित भए उनैको नाममा सहमति हुने चर्चा सहरमा चल्न थालेको छ। यद्यपि सुशीलको पक्षमा खुलेर लबिङ गरिरहेका रमष्ट्रपति यादवले ठूलो दलको आधारमा सरकार बनाउने तेस्रो पत्र पठाउने अनुमान पनि गरिएको छ। राष्ट्रपति पदको नयाँ निर्वाचन गर्ने आफ्नो पार्टीको प्रस्तावबारे वार्ता गर्न नेपाली कांग्रेस तयार नभएको भन्दै संसद्को दोस्रो ठूलो दल नेकपा एमाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भित्री तयारीमा जुटेको छ। सहमतिद्वारा सरकार गठन गर्ने म्याद सकिएपछि बहुमतद्वारा सरकार गठन गर्ने प्रक्रियामा मुलुक प्रवेश गरिसकेको छ। बहुमतीय सरकार गठनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता सुशील कोइरालाले गरेको प्रयास कमजोर हुँदै गएपछि दोस्रो ठूलो दल एमाले निकै उत्साहित भएको छ। ८० सिट भएको तेस्रो शक्ति एमाओवादी र २४ सिटसहितको चौथो शक्ति राप्रपा नेपालले आफूहरू सरकारमा नगई प्रतिपक्षमै बस्ने स्पष्ट जनाउ दिएका छन् भने एक सय ७५ सिटसहितको दोस्रो पार्टी नेकपा एमालेले शक्ति बाँडफाँटसम्बन्धी प्याकेजमा सहमति हुनुपर्ने प्रस्ताव दुई महिनाअघिदेखि सार्दै आएको छ।
राष्ट्रपति र प्रधानमन्त्री पदमध्ये एउटा पाउनुपर्ने एमालेको प्रस्तावमाथि वार्तासमेत हुन नसक्ने अडानमा कांग्रेस संसदीय दलका नेता कोइराला यथावत् छन्। कोइरालाले यो अडान छाड्न सक्ने सम्भावना छैन। कांग्रेसले राष्ट्रपति पद नछाडिन्जेल एमालेले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका उम्मेदवार कोइरालालाई समर्थन गर्ने सम्भावना छैन। संसद्को दोस्रो ठूलो दल एमाले, तेस्रो दल एमाओवादी र चौथो दल राप्रपा नेपाल खिलापमा लागिसकेका कारण नेपाली कांग्रेसका उम्मेदवार कोइराला कमजोर देखिएका छन्। तीन सय एक पुर्या्उन कोइरालालाई कम्तीमा एक सय सात सिटको आवश्यकता पर्दछ। तर दोस्रो, तेस्रो र चौथो शक्तिको समर्थन नपाउँदा कोइरालाले बहुमत सिद्ध गर्ने अवस्था रहन्न। त्यसबाहेक तमलोपा, फोरम नेपाललगायत केही मझौला दलहरू पनि कांग्रेस उम्मेदवार कोइरालाको पक्षमा देखापरेका छैनन्। कांग्रेस उम्मेदवार कोइराला अत्यन्त कमजोर देखिए पनि अर्को बलियो उम्मेदवार भने अहिलेसम्म देखिएका छैनन्। यही मौकामा एमालेले खेल सुरु गरेको छ। मंगलबार हुने एमालेको संसदीय दलको निर्वाचन परिणामपछि मात्रै एमालेले खेलिरहेको भित्री खेल सतहमा आउने दाबी समाचार स्रोतको छ। स्रोतका अनुसार एमाले संसदीय दलमा केपी ओली विजयी भए कांग्रेस उम्मेदवार कोइराला प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका बन्द हुनेछ भने खनालले चुनाव जिते भने कांग्रेस उम्मेदवार कोइराला प्रधानमन्त्री निर्वाचित हुने सम्भावना बढेर जाने छ।
नेपाली कांग्रेसमाथि देशी तथा विदेशी तत्वद्वारा ठूलो षड्यन्त्र भइरहेका कारण संसद्मा बहुमत पुर्याोउन सक्ने अवस्थामा एमाले छ। तर एमालेबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अध्यक्ष खनाल खडा भए भने चाहिँ देशी तथा विदेशी शक्तिकेन्द्रहरूले कांग्रेस उम्मेदवार कोइरालालाई नै साथ दिने बताइन्छ। एमाले संसदीय दलको निर्वाचनमा खनालले चुनाव जित्ने अनुमान गर्दै कांग्रेसका उम्मेदवार कोइराला ढुक्क छन्। उनले साना दलको समर्थन लिन त्यति रुचि नदेखाउनुको कारण पनि यही हो। मलाई छाडेर झलनाथलाई शक्तिकेन्द्रले प्रधानमन्त्री बनाउँदैन भन्ने कुरामा ढुक्क भएको कांग्रेस उम्मेदवार कोइराला अन्तिम अवस्थामा चिप्लने त होइनन्? भन्ने आशंका बढेको छ। उपाध्यक्ष गौतम खुलेरै लागेका कारण आइतबार रातिदेखि एमालेभित्र केपी ओली बलिया देखिएका छन्। उनले संसदीय दलमा चुनाव जित्ने सम्भावना बढेको छ। एमाले संसदीय दलमा ओली एक्लैका करिब ८० सभासद् छन् भने उपाध्यक्ष गौतमका २० जना सभासद् छन्। ओलीको पक्षमा पल्ला भारी हुनासाथ माधव नेपालले झलनाथको साथ छोड्न सक्ने अवस्था छ।
झलनाथबाट निकै ठूलो धोका पाएका खनाल मौका पाउना साथ बदला लिने मनस्थितिमा भएका कारण एमाले संसदीय दलमा ओलीले बाजी मार्ने सम्भावना बढेर गएको छ। ओली एमालेबाट प्रधानमन्त्री पदको उम्मेदवार हुनेवित्तिकै एमाओवादीले समेत कांगे्रसविरुद्ध मोर्चाबन्दीका लागि साथ दिनेगरी परिस्थिति विकास हुँदै गएको छ। गच्छदारबाहेकको मधेसी मोर्चाका ३५, एमाओवादीका ८०, राप्रपाका १३, साना कम्युनिस्ट पार्टीका ११ र आफ्ना एक सय ७३ गरी तीन सय १२ सभासद् आफ्नो पक्षमा जुट्नेमा ओली ढुक्क छन्। एमाले वरिष्ठ नेता नेपालको भारत भ्रमण कांग्रेसलाई प्रधानमन्त्री बन्न नदिने डिजाइनअन्तर्गत भन्दा पनि राष्ट्रपतिका लागि लबिङ गर्न भएको बताइन्छ। राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको बन्न नहुने सुझाव छिमेकी मित्रराष्ट्र भारतले दिँदै आएका कारण पनि एमाले नेता ओलीलाई चुनाव जित्न सजिलो हुने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।