एन.आर.एन. बेल्जियमका बारेमा अन्तर्कृया

एन.आर.एन. सँघको निर्वाचनमा राजनीतिकरण नभइकन सक्षम व्यक्तिको सहमतिय नेतृत्व बनोस् भन्ने कुरामा बेल्जियमका अगुवाहरूमा मतैक्यता देखिएको छ । बुधवार आन्त्वर्पेनमा एन.आर.एन. बेल्जियमका बारेमा भएको अन्तर्कृयाका सहभागीहरूले यस्तो चाहना व्यक्त गरेका हुन् । एन.आर.एन. सँघको यस अघिको निर्वाचनमा राजनीतिक पार्टीको आधारमा समूह-समूहको प्रतिस्पर्धा भएता पनि निर्वाचनमा मिश्रित परिणाम आएको थियो ।

सरोकार संचार समूहको आयोजना र पत्रकार गोविन्द सुवेदीको सभापतित्वमा भएको सो कार्यक्रममा एन.आर.एन. अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष जीवा लामिछानेले स्काइप (श्रव्यदृश्य माध्यम) मार्फत सम्बोधन गर्दै राष्ट्रिय कमिटीको कामबाट नै एन.आर.एन. को प्रतिष्ठा बढ्ने भएकोले नेतृत्व छनौटमा ध्यान पुर्याउन आग्रह गरेका थिए । त्यस्तै, प्रवक्ता हेमराज शर्माले एन.आर.एन. अन्तर्राष्ट्रिय कमिटिका अध्यक्षका लागि एक कार्यकाल प्रमुख पदमा रहेर काम गरेको हुनुपर्ने तर राष्ट्रिय कमिटिका अध्यक्षका लागि त्यस्तो कुनै नियम नरहेको प्रष्ट पारेका थिए । एन.आर.एन. आइ. सी. सी. सदस्य अर्जुन श्रेष्ठले आउँदो नेतृत्व आर्थिक, समय व्यवस्थापन र दृष्टिकोण सबै पक्षले सबल हुनुपर्ने बताएका थिए ।

Media concern group program
अन्तर्कृया कार्यक्रममा बेल्जियमस्थित जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च, एन. डि. एफ., राप्रपा प्रवासी सँघ लगायत सामाजिक सँघसँस्थाका नेतृत्वमा रहेर काम गरीरहेकाहरूको बाक्लो उपस्थिति थियो । अन्तर्कृया कार्यक्रममा सीता सापकोटा, दीपकज्योति पौडेल, उज्ज्वल के. सी., सचा कार्की, साइमन आले, कृष्ण तिवारी, चित्र सुवेदी, दीपेन्द्र के. सी., प्रेम गुरूङ्ग, अर्जुन गुरूङ्ग, डिल्लीराम अम्माई, युवराज गुरूङ्ग, पंचम अधिकारी, हरी थपलिया, पदम गुरूङ्ग, रवीन्द्रमान श्रेष्ठ लगायतले विचार व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमको अन्तमा एन.आर.एन. बेल्जियमकी अध्यक्ष जानकी गुरूङ्ग र महासचिव शिवकुमार बरुवालले एन.आर.एन. बेल्जियमका सवालमा उठेका जिज्ञासाहरूबारे जवाफ दिएका थिए । कार्यक्रमको संचालन सोफिया र पत्रकार ओम शर्माले गरेका थिए ।