डा. विनय श्रेष्ठ, गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको कार्यावधिमा आफ्नो अभियानका माध्यमबाट ‘गैरआवासीय नेपाली’लाई आधिकारीक तवरले परिभाषित गराउने, नेपालको संसदबाट ‘गैरआवासीय नेपाली ऐन’ पारित गराउने र अन्ततः सीमित राजनीतिक अधिकारसहितकै भएपनि ‘नेपालको संविधान २०७२’मा एन.आर.एन. नागरिकताको व्यवस्था गर्न सफलता हासिल गरेको छ ।
संस्थागत रुपमा हेर्दा ७३ देशहरुमा संघका राष्ट्रिय समिति गठन भएका छन् र संघले परोपकारी एवं नेपालमा गैरआवासीय नेपालीहरुको लगानी बृद्धि गर्ने परियोजनाहरुमा आफूलाई केन्दि्रत गरेको छ । यस परिप्रेक्ष्यमा सन् २०१५ को विनाशकारी भूकम्पका बखत संघले भूकम्पपीडितहरुको लागि सञ्चालन गरेको प्रभावकारी हेरकुलियन उद्धार कार्यलाई स्वदेश र प्रवासमा उच्च महत्वका साथ चर्चा गर्ने गरिन्छ ।
भूकम्पपीडित क्षेत्रको पुनर्निर्माणका लागि संघले अघि सारेको एकहाजर घर योजनालाई गैरआवासीय नेपालीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको पाइन्छ । गैरआवासीय नेपाली संघले कार्यगत, संस्थागत, कार्यनीतिगत र लक्ष्यगत विषयहरुमा देखाएको निरन्तरता र उपलब्धिहरुले प्रवासमा प्रवासी नेपालीहरुको पहिचान सृजना गर्दै प्रवासी नेपालीहरुको ज्ञान, सीप र पूँजिलाई नेपाल र नेपालीहरुको बृहत हितमा प्रयोग गर्न संघले नेतृत्वकारी भूमिका खेल्नु पर्छ भन्ने सर्वपक्षीय आकांक्षा रहेको पाइन्छ ।
गैरआवासीय नेपाली संघले आफ्नो संस्थागत संरचनालाई मजबुत बनाउँदै आफ्ना उद्देश्य र लक्ष्यहरु हासिल गर्न नियमित रुपमा विविध संस्थागत बैठक, सभा र सम्मेलनहरु सञ्चालन गर्ने गरेको छ । संघको विश्व सम्मेलन, अन्तर्राष्ट्रिय महाधिवेशन र क्षेत्रीय सम्मेलनहरु प्रत्येक २ वर्षमा र क्षेत्रीय बैठकहरु हरेक वर्ष आयोजना गर्ने गरिएको छ ।
यसै सन्दर्भमा डेनमार्कको कोपनहेनमा यहि जुलाई ३० र ३१ मा आयोजना हुने नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं महिला भेला नियमित आयोजना हुँदै आएका भेलाहरुको श्रृंखला नै हो । नियमित रूपमा चल्दै आएको यूरोपेली क्षेत्रीय बैठकहरू यस क्षेत्रका एनआरएनएहरुको एक कुम्भ भेलाका रुपमा स्थापित भएको छ । बैठकका प्रतिवेदन र घोषणापत्रहरुको अध्ययन गर्दा आरम्भका दिनहरुमा ति बैठकहरुमा हुने छलफलका विषयवस्तु र पछिल्ला वर्षहरुमा प्रस्तुत हुने मुद्दाहरुमा ब्यापक भिन्नता देख्न पाइन्छ । यी बैठकहरुमा प्रस्तुत हुने विषयवस्तुका घनत्व र त्यसले पार्ने प्रभावमा बृद्धि भएको छ ।
यस वर्षको एनआरएन युरोपेली क्षेत्रीय बैठक र महिला भेला गैरआवासीय नेपाली संघको विकासको एक विशेष अवस्था र नेपालको सामाजिक राजनीतिक विशेष परिस्थितिमा सम्पन्न हुन गैरहेको छ ।
बैठकले सदा झैं एक कार्यविधि अपनाउँदै समसामयीक कार्यसूचिहरूमा गहन छलफल गर्ने नै छ । यसै सन्दर्भमा केही ज्वलन्त मुद्दाहरुमा बैठकले सन्देश बाहकको कार्य गर्न सके गैरआवासीय नेपाली संघको यूरोप क्षेत्र र समुच्चमा सम्पूर्ण संघलाई नै हितकार हुने हुँदा यहाँ चर्चा गर्नु सान्दर्भिक ठानेको छु ।
एकताको सन्देश
विचार संस्थाको आत्मा हो । विधान संस्थाको मेरूदण्ड । संस्थाका विविध इकाइहरु यसका अंग प्रत्यंगहरु हुन् । विचार, विधान र संस्थागत संरचनाविहीन संस्था गतिशील र प्रभावकारी हुन सक्दैन । त्यसैगरी कुनै पनि संस्थाको लक्ष्य सदैव जड हुँदैन । कुनैपनि संस्थाको वैचारिक र लक्ष्यगत परिमार्जन कार्यगत अनुभव, विचारहरुको आदानप्रदान र छलफलबाट प्राप्त हुन्छ । संस्थाका आन्तरिक विवादहरु समुचित समाधान हुन सकेमा कार्यगत एवं वैचारिक रुपमा संस्थाले विकासको छलाङ नै मार्न सक्दछ ।
यस सन्दर्भमा गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनपश्चात् अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यालय पदाधिकारीहरूबीच देखा परेको कार्यशैलीगत भिन्नता (मतभिन्नता वा असमझदारी जे भनौं) का कारण देखापरेको विवादको चर्चा गर्नु सान्दर्भिक हुन्छ । विवाद उल्झाउने हेतु नभई यहाँ उद्देश्यमूलक विश्लेषणका लागि चर्चा गर्न लागिएको हो । उक्त विवादको सफल निराकरणले कुनैपनि संस्थागत समस्याको समाधान वार्ता र संगठनात्मक प्रतिबद्धताका माध्यमबाट मात्र सम्भव छ भन्ने प्रष्ट्याएको छ ।
यसका साथै यसले गैरआवासीय नेपाली संघका वर्तमान नेतृत्वमा रहेका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त र महासचिव डा. बद्रि केसी लगायतका गैरआवासीय नेपाली संघका अन्य अभियन्ताहरु संस्थाप्रति प्रतिबद्ध रहेको र संस्थाका कुनै पनि विवादहरु वार्ताका माध्यमबाट सुल्झाउन सक्ने अनुभव र छवि भएका व्यक्तित्वहरु हुन् भन्ने देखाउँछ ।
संघका अभियन्ताहरुको विवेकशील विचारका कारण समुचित निकास पाउन सफल यो विवादले संस्थालाई अझ बलियो बनाएको छ । कोपनहेगनमा आयोजना हुने यूरोपेली बैठक र महिला भेलाले उल्लेखित निकासले ल्याएको संस्थागत एकताको सन्देशलाई प्रभावकारी एवं विश्वासपूर्ण ढंगले आफ्ना संस्थागत इकाइहरुमा सम्प्रेषण गर्न सके सुनमा सुगन्ध हुने देखिन्छ ।
समान विकासक्रम
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रमा २७ वटा राष्ट्रिय समन्वय परिषदहरु छन् । यूरोप क्षेत्र संघकै सबैभन्दा अधिक राष्ट्रिय समन्वय परिषदहरु भएको क्षेत्र हो । त्यसबाहेक, संघको स्थापनाको पहल नै यूरोप क्षेत्रमा भएको ऐतिहासिक तथ्य हो । स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रले संघको विकास र प्रभावकारीतामा निरन्तर महत्वपूर्ण भूमिका खेलेको छ र खेल्दै छ ।
संघको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेको यस क्षेत्रकै राष्ट्रिय समन्वय परिषदहरुको संस्थागत सक्रियता र विकासक्रममा भने एकबाट अर्को राष्ट्रमा ब्यापक भिन्नता रहेको पाइन्छ । सबै परिषदहरुको सक्रियता समान हुनैपर्छ भन्ने मेरो मान्यता होइन । तथापी संघको कार्यनीति, योजना र अभियानका फाइलहरुका बारेमा यूरोपका राष्ट्रिय समन्वय परिषदहरुको समानस्तरको ज्ञान हुन सके यूरोप क्षेत्रले संघमा अझ बढी प्रभावकारी भूमिका खेल्न सक्नेमा दुई मत नहोला । त्यसकालागि यूरोपेली बैठकले एक निर्देशक भूमिका खेल्नुपर्ने देखिन्छ ।
स्थानीय नेपाली समाजलाई प्ल्याटफर्म
संघका क्षेत्रीय बैठक र भेलाहरु आयोजना गर्ने आतिथ्य राष्ट्रको नेपाली समुदायलाई अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली समुदायबीच अन्तर्क्रिया गर्ने र परिचित गराउने एक सुवर्ण अवसर पनि हो । चारित्रिक हिसाबले एक क्षेत्र र राष्ट्रको डायस्पोरिक समाज अर्को क्षेत्र र राष्ट्रको डायस्पोरिक समाजभन्दा भिन्न हुनसक्छ ।
प्रवासको हरेक नेपाली समाजको विकासक्रम र आकृति फरक हुन सक्छ । भिन्न अनुभव र विकासक्रम भएका समाजहरु बीचको वैचारिक आदानप्रदान र अनुभवहरुको आदानप्रदानले ति समाजमा अन्तरनिहित नकारात्मक पक्षहरुको त्याग र सकारात्मक पक्षहरुको सशक्तिकरणमा औषधिको काम गर्न सक्दछ ।
प्रवासी नेपाली समाजको विकास र सशक्तिकरणले दिर्घकालिन रुपमा अन्ततोगत्वा गैरआवासीय नेपाली संघलाई नै लाभ पुग्नेछ । यूरोप क्षेत्रको एक राष्ट्रको नेपाली समाजका लेखक, कलाकार, शिक्षाविद, विविध पेशामा कार्यरत व्यक्तित्व, महिला, समाजसेवी, पत्रकार, संघसंस्थाहरु आदिलाई मञ्च (प्ल्याटफर्म) प्रदान गर्दा क्षेत्रीय बैठकको गरिमा र प्रभावमा अभिबृद्धि हुने कुरामा शंका छैन ।
अन्त्यमा, जुलाई ३० र ३१ मा डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं क्षेत्रीय महिला भेला भव्यरुपमा सफल बनाउनु हामी सबैको कर्तव्य हो । जसले गर्दा यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरु र आइसीसी सदस्यहरु बीच एकता, सहकार्य र समन्वय अभिवृद्धि गर्दै यूरोपको नेपाली समाज र नेपालको बृहत्तर हितमा संघले अझै बढी प्रभावकारी कार्य गर्न सक्नेछ ।
(लेखक गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक र्याडिएसन अंकोलोजिष्ट हुन्)