एन.आर.एन. सँघले सृजनात्मक र सहभागीतामूलक कार्यक्रममा जोड दिनु पर्छ: अर्जुनकुमार श्रेष्ठ, संयोजक एन.आर.एन. युरोप

arjunनेपालको पर्वत जिल्ला स्थायी घर भै हाल बेल्जियममा बसोवास गर्दै आउनु भएका अर्जुनकुमार श्रेष्ठ एनआरएन सँघका युरोप संयोजक हुनुहुन्छ । नेपाल औषधी व्यवसायी संघ धौलागिरी शाखा, पर्वत जेसिसका साथै नेपाल उद्योग बाणिज्य महासंघ पर्वतको समेत महासचिब भै कार्य सम्पादन गरि सक्नु भएका श्रेष्ठ बेल्जियमको बसाईँको क्रममा बिभिन्न सामाजिक कार्यमा संलग्न रहँदै एनआरएन बेल्जियमको आइसिसी सदस्यमा लगातार दुई पटक समेत निर्वाचित भै काम गरी सक्नु भएको छ| बेल्जियमका सफल व्यवसायीका रूपमा चिनिएका श्रेष्ठ नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष हुनुहुन्छ | गत वर्ष बेल्जियमको गेन्टमा सम्पन्न ५६ औँ अन्तर्राष्ट्रिय व्यापार मेला (आसेन्ता) मा अतिथि राष्ट्र नेपालको तर्फबाट संयोजकको रुपमा रही सफलतापूर्वक मेलाको समापन गर्न समेत महत्वपूर्ण भूमिका खेल्नु भएको थियो| इन्फोमालासँग एनआरएन अभियानका बिषयमा गरिएको कुराकानी:

१) एनआरएन युरोप संयोजकको रुपमा आगामी जुनमा ७ र ८ मा हुन गैरहेको छैटौँ क्षेत्रिय सम्मेलनमा कसरी अगाडी बढ्दै हुनुहुन्छ?                

-एनआरएनका उद्देश्यलाई नै केन्द्रबिन्दुमा राखेर सम्मेलन अगाडी बढ्ने छ| स्थापनाकाल देखि नै नेपालको आर्थिक समृद्वीको साथै प्रवासी नेपालीहरुको हक र हितको निम्ति लागि काम गर्दै आईरहेको अवस्थामा यस पटक पनि यिनै बिषयमा सम्मेलन केन्द्रित हुनेछ| प्रवासको बसाईको क्रममा भए गरेका तिता मिठा अनुभव बाट केहि सिक्दै समय सापेक्ष विभिन्न योजनाका साथ हामि आगाडी बढ्दै छौ|बिशेष गरी नेपालको पर्यटन पवर्द्वनको लागी नेपाली दूतावास फ्रान्स,अनरेली कन्सुल स्पेन,एनआरएन स्पेन र सम्पूर्ण युरोपबासी नेपालीको सक्रियतामा जुन ६ मा युरोपियन नागरिकको लागी नेपाललाई पर्यटकीय गन्तब्य स्थलको रुपमा स्थापित गर्नको निम्ति गैरआवासीय नेपालीहरुको भूमिका बिषयमा छलफल गर्दै छौ| त्यसैगरी जुन ७ मा एनआरएन युरोपलाई दरिलो बनाउने विषयका साथै अन्तिम दिन महिला हकहितका कुराहरु सगै सम्मेलनको समापन गर्दै छौ| यस सम्मेलनमा सबै गैर आवासीय नेपालीहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दै तपाइहरुको सहयोगले एनआरएन अझै बलियो हुने छ भन्ने आशा समेत राख्न चाहन्छु|

२ ) एनआरएन परोपकारी कोष स्थापना बारे केहि बताउनुहुन्छ कि ?  

-भर्खरै मात्र बेल्जियमबाट शुरुवात गरीएको परोपकारी कोष निर्माण अभियानले युरोपमा पनि सार्थकता पाएको छ| बिशेष गरेर यो कोष स्थापना गर्नुको मुख्य उद्वेश्य भनेको प्रवासमा रहेका नेपालीलाई आपत बिपतमा सहयोग गर्नु नै हो| आकस्मिक रुपमा नेपालीहरुमा घट्ने घटनामा तत्काल सहयोग गर्नु पर्ने अवस्था सिर्जना भएमा सहजै रुपमा सहयोग उपलब्ध गराई कोष पूर्तिको लागि हरेक नेपालीबाट पुन सहयोग आब्हान गर्न सकिन्छ| जसले गर्दा नेपालीहरुमा सहयोग गर्ने भावानको बृद्वी भै एनआरएन प्रतिको जिम्बेवारीको पनि महशुस हुन्छ|

३) भर्खरै विभिन्न राजनैतिक दलका नेताबाट नागरिकताको निरन्तरताको मागका सम्वन्धमा आएका अभिव्यक्तिलाई कसरी लिनु भएको छ?

-केहि समय यता केहि जिम्वेवार नेताहरुबाट दोहोरो नागरिकता सम्वन्धमा आएका अभिब्यक्तिले एनआरएनमा एक किसिमको तरंग नै फैलिएको छ| नेपाल सरकार यस बिषयमा स्पष्ट हुन नसकेको कारण बेलाबखत कुरा उठ्नु स्वाभाविकै हो| जहाँ जसरी बसे पनि नेपालसँगको नेपालीको भावानात्मक सम्वन्ध कहिलै टुट्दैन| त्यसैले ‘एक पटकको नेपाली सधैको लागी नेपाली ’ भन्ने एनआरएन मागलाई नेपाल सरकारले संबैधानिक रुपमा सम्बोधन गरिनु पर्छ जस्तो लाग्छ मलाई | नेपाल मै जाउँ, नेपाल मै लगानी गरौँ, अन्ततः नेपाल मै मरौँ, नेपालभन्दा बाहिर रहेका प्रत्येक नेपालीको मनमा सधै आईरहने कुरा हुन् यी| यी कुराहरुलाई आगामी संबिधानमा सम्बोधन गरिनेछ भन्ने आशा लिएको छु|

४ ) दुइ/दुइ पटक एनआरएन बेल्जियमको आइसीसीको रुपमा एनआरएनप्रति तपाइको भूमिका कस्तो रह्यो?

– एनआरएनका लक्ष्य र उद्वेश्य नै मेरा एजेन्डा भएका कारण यिनै कुराहरुलाई परिपूर्ति गर्ने सम्वन्धमा आफ्नो भूमिका निर्वाह गरे| नेपालमा आर्थिक लगानी गर्ने कुरा हुन् वा प्रवासमा भाषा संस्कृतिको संरक्षण, सम्वर्धनका साथै प्रचारप्रसार गर्ने कुरा हुन् सबैमा मैले जिम्वेवारी पूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छु| गत सेप्टेम्वरमा बेल्जियमको गेन्टमा सम्पन्न ५६ औ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा नेपाल अतिथि राष्ट्रको रुपमा रहेको थियो| ६० राष्ट्रका ७०० प्रतिनिधि माझ बेल्जियमका उप-प्रधानमन्त्री पेटर द क्रिमले समुद्घाटन गरेको सभामा नेपाल सरकारका अर्थमंत्री शंकरप्रसाद कोईराला पनि सहभागी हुनुहुन्थ्यो| ३३ वटा स्टलका साथ सजाईएको नेपाली मण्डपलाई लाखौले अवलोकन गरेका थिए भने नौ दिन सम्म अबलोकनकर्तालाई नेपाली गीत र नृत्यले स्वागत गरीएको थियो| यो नेपालको पर्यटन पर्वर्द्वनका साथै नेपाली उत्पादनलाई युरोपमा चिनाउने सुनौलो मौका बन्यो| यसका अलावा समय समयमा विभिन्न किसिमका कार्यक्रमको साथै प्रत्येक बर्ष युरोपियन नागरिकलाई आव्हान गर्दै नेपाल फेस्टिवल समेत मनाउदै आएका छौ|

५ ) एनआरएन प्रति तपाइको रुची बढ्नुका कारण के हो ? प्रवासमा एनआरएनले  के गर्नु पर्छ जस्तो लाग्छ?

-नेपाल बाहिर रहँदा नेपालप्रतिको माया ममता झन् बढेर जाने रहेछ| नेपाल जाने आउने क्रममा बढेर गएका भावनाले नेपाल र नेपालीको लागी केहि गरौ भन्ने सोच सबै नेपालीमा सिर्जना भएको छ| नेपालको आर्थिक उन्नतिको साथै परोपकार पनि  हाम्रो साझा लक्ष्य हो| सबै मिलौ भने यो उपलब्धि पनि सजिलै हासिल गर्न सक्छौ| गैर आवासीय नेपाली सग सबै नेपाली हरुको साझा र स्थापित सस्था भएको कारण मेरो यस सस्था प्रति रुची बढेर गयो| हाल सम्म गर्दै आएका गतिविधिबाट एनआरएन अझै आगाडी बढ्नु पर्छ| यसले अझै सृजनात्मक र सहभागीतामूलक कार्य योजना अगाडी बढाउदै एनआरएनलाई समाबेशी र एकतामा बाध्नु पर्छ|

भर्खरै शुरु गरिएको परोपकारी कोष निर्माण अभियानले संसार भारी मूर्त रुप पाउनु पर्छ|बिदेशमा नेपाली भाषा र सस्कृति संरक्षणको क्षेत्रमा युवाहरुलाई सक्रिय बनाउनु पर्छ| सामाजिक कार्यमा सक्रिय बनाई दोश्रो पुस्तालाई नेपाल सगको भावानात्मक सम्वन्ध बलियो बनाउने दिशामा लाग्नु पर्छ| कतिपय अवस्थामा युवाहरु कुलतमा लागेका तथ्यहरु सार्वजनिक भएका छन्| यसका कारणहरु खोज्दै निराकरण गर्ने दिशा तर्फ बढ्नु पर्छ| नेपाली कुटनैतिक नियोग स्थापना नभएका कतिपय देशका नेपालीहरुमा पर्ने समस्याका साथै सुरक्षित बैदेशिक रोजगारका बिषयमा समेत एनआरएन अगाडी बढ्नु पर्छ|