आठ सय वर्ष पुराना नेपाली ग्रन्थ अमेरिकाबाट नेपाल फिर्ता

Geeta-stolen book backनेपालमा चोरी भएर अमेरिका पुगेका आठ सय वर्ष पुराना ऐतिहासिक पुस्तकहरू नेपालमा फर्काइने भएको छ । अमेरिकामा लिलाम बढाबढमा बिक्री गर्न लागिएका १२औं शताब्दीताकाको ऐतिहासिक एबं धार्मिक ग्रन्थहरू विशेष पहलमा नेपालले फिर्ता पाएको छ । संयुक्तराज्य अमेरिकाको न्युयोर्कमा गत बुधबार आयोजित कार्यक्रममा ऐतिहासिक वस्तुकला प्रदर्शनी एवं बिक्री गर्ने कम्पनी ‘क्रिस्टी’ ले झन्डै आठ सय वर्ष पुराना हिन्दु धर्मसम्बन्धी कलात्मक गाताहरू नेपाली राजदूतावासलाई सुम्पियो । संयुक्तराज्य अमेरिकाको नेपाली दूतावासका डेपुटी चिफ अर्जुनकान्त मैनाली र काउन्सुलर लेखनाथ गौतमलाई क्रिस्टीका अधिकारीद्वय हुगो विही र सन्ध्या जैन पटेलले हस्तलिखित ग्रन्थहरू शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मसम्बन्धी ६ वटा काठे कृति फिर्ता गरे ।
केही समयअघि क्रिस्टीले नेपालका यी पौराणिक कलाअंकित वस्तु बिक्रीका लागि खुला गरेको समाचार प्रकाशित भएपछि यस बिषयमा डिसीस्थित नेपाली दूतावासले सामग्री फिर्ताका लागि चासो राखेको थियो । ती पुस्तकको गाताको मोल एक लाख २५ हजार अमेरिकी डलर अर्थात् झन्डै एक करोड १२ लाख नेपाली रुपैयाँ बराबर तोकिएको थियो । यी कलात्मक वस्तु नेपालको राष्ट्रिय अभिलेखालयबाट करिब ३ दशकअघि नै चोरिएको क्रिस्टीले जनाएको छ । क्रिस्टीका अनुसार सन् १९८९ मै यी गाता नेपालबाट पेरिस पुर्‍याइएको थियो । गत वर्ष यी गाता बिक्रीका लागि न्युयोर्कमा ल्याइएको थियो । नेपाली दूतावासले सामग्री फिर्ताका लागि पत्र लेख पछि क्रिस्टीले प्रमाण मागेको थियो । यसै विषयमा अध्ययन गरिरहेका प्राध्यापक हारुनागा इसाक्सनले सम्बन्धित निकायलाई पत्र लेखेर प्रष्ट पारेपछि हस्तलिखित ग्रन्थहरू नेपाललाई फिर्ता गर्न क्रिस्टी सहमत भएको थियो ।