नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा दाेस्राे भएर केन्द्रीय सदस्य निर्वाचित भएका काग्रेस भित्रका शक्तिशाली नेता अर्जुननरसिंह देउवा पक्षबाट निर्वाचित महामन्त्रीको उम्मेदवार बनाउने लगभग निश्चित भएको देउवा पक्षीय नेताहरुले बताएका छन ।
महामन्त्रीको उम्मेदवार बन्नेबारे पटक–पटक भएको छलफलपछि टुंगो लागेको बताउदै युवा नेता रामहरी खतिवडाले केहिदिन भित्र घोषणा हुने बताए । संस्थापन पक्षका नेताहरु तान्ने प्रयत्नमा लागेका देउवाले केही समयदेखि केसीसँग छलफल अघि बढाएका थिए ।
कोइराला परिवारबाटै महामन्त्री बनाउने प्रयत्न गरेका देउवाले त्यसका लागि शशांक कोइराला उपयुक्त पात्र भएको देखेका थिए । तर, शंशाक पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापनपक्षलाई मिलाउनतिरै व्यस्त रहँदा देउवा केसीतिर अघि बढेका हुन् ।यसअघि देउवाले रामशरण महतलाई आफ्नो पक्षमा तान्ने प्रयत्न गरेका थिए ।
महतभन्दा केसी बलियो रहेको देउवा पक्षको मूल्याङ्कनपछि केसीलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगेको देउवा निकट नेता बताउँछन् । दुई पटक सभापति पदमा पराजित भइसकेका देउवाले आफूलाई समर्थन जनाउने नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्कालगायतलाई मनाएरै केसीलाई निर्वाचित महामन्त्री बनाउने प्रयत्न गरेका हुन् ।
संस्थापन पक्षबाट पदाधिकारीमा धेरैले आकांक्षा देखाइरहेका बेला देउवा अझै केही नेतालाई आफूतिर तान्ने रणनीतिमा छन् भने संस्थापन पक्ष पनि विधान संशोधन गरेर भएपनि आकांक्षीहरुलाई समेट्ने प्रयत्नमा छ ।