आज साँझ अमेरिका र बेल्जियमको भिडन्त हुँदैछ । प्रतियोगितामा प्रारम्भिक चरणका सबै खेल जिते पनि बेल्जियमले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन । उता अमेरिका रक्षात्मक खेल खेल्दै पोर्चुगल र घाना जस्ता सशक्त टीमलाइ पछाडि पारेर क्वालिफाइ हुन सफल भयो ।
अमेरिकाका प्रशिक्षक जुर्गेन क्लिन्सम्यानले मंगलबार विश्वकपको अन्तिम १६ मा बेल्जियमविरुद्ध हुने खेल अघि आफ्नो रणनीति खुलासा गरेका छन् । उनले आफ्नो टिम डिफेन्समा मात्र नरही बेल्जियमको एट्याकिङ फुटबलको काउन्टर दिइने बताएका छन् ।
फुटबलमा अमेरिकालाइ बलियो टीमका रूपमा लिइन्न तर नकआउट चरणमा टिमलाई पुर्याएर आलोचकहरूको मुखमा बुझो लागीसकेको छ । पछिल्ला वर्षहरूमा अमेरिका दरो टीमका रूपमा आएको छ । त्यसको जस अमेरिकी टीमका जर्मन पृष्ठभूमिका खेलाडिहरूलाइ दिइन्छ । त्यसबाहेक अमेरिकामा फुटबलप्रतिको आकर्षण बढ्दो छ । अमेरिकामा बास्केट बल पपुलर छ । तर यस पटकको फिफा वर्ल्ड कपमा अमेरिकाका खेलहरू एन.बी.ए. बास्केट बल फाइनलभन्दा ज्यादा मान्छेले टेलीभिजनमा हेरेका सँचार माध्यमले जनाएका छन् ।
अमेरिकी प्रशिक्षक क्लिन्सम्यान आफ्नो रक्षात्मक नीतिलाइ बेल्जियमविरुद्ध तोड्न चाहन्छन् र बढीभन्दा बढी आक्रमण गर्ने योजना बुनिरहेका छन् । उता, बेल्जियमलाई दुई राम्रा सेन्टर-ब्याक भिन्सेन्ट कोम्पनी (कप्तान) र थोमस भेर्माइलेनको चोटले सताएको छ । यी दुई खेलाडी खेल्ने वा नखेल्ने भन्ने अझै पक्का हुन सकेको छैन । बेल्जियम रक्षा पंक्तिका बायन मुन्चेन खेलाडि डेनियल भान बुइतन र चेल्सियाका गोल किपर थिमो कुर्त्वा विश्व कै उत्कृष्ट खेलाडिको सूचिमा राखिन्छन् । यी खेलाडिको आडमा एट्याकिङ फुटबललाइ बेल्जियमले मूर्त रूप दिन सके अमेरिकालाइ हम्मे हम्मे पर्नसक्छ ।
केही खेल पण्डितहरूले खेल ९० मिनेटमा नसकिएर ३० मिनेट थपिँदै पेनाल्टीमा पुग्ने र बेल्जियम हावी हुने आँकलन गरेका छन् ।