एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ र बहालवाला सल्लाहकार रहेका हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् ।

बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

प्रवासी नेपालीलाई संगठित गर्दै अभियानको रुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ । एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा १४–१७ अक्टोबरमा हुँदैछ ।

पर्वत मूल घर भएका श्रेष्ठ २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् । उनी बेल्जियमको प्रतिनिधित्व गर्दै आईसीसी सदस्य, यूरोप संयोजक र हाल आईसीसी सचिव छन् । उनलाइ बेल्जियमका सफल ब्यापारी मानिन्छ ।

महासचिवका अर्का उमेदवार गुरूङले एनआरएनएले सञ्चालन गरिरहेका परियोजनालाई सफल पार्न र ‘भिजन २०२०’लाई साकार पार्न आफू नेतृत्वमा पुग्नु पर्छ भन्ने मान्यता रहेको उल्लेख गरेका थिए ।
उनी हङकङ राष्ट्रिय समितिका अध्यक्ष दुई कार्यकाल र एक कार्यकाल एशिया-प्यासफिक क्षेत्रीय संयोजक रहिसकेका छन् । अघिल्लो महाधिवेशनमा उनी कोषाध्यक्षका प्रत्यासी रहेका थिए, तर पराजित भएका थिए ।