इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर पत्रकारहरूलाई छक्क बनाइदिए ।

ब्रसेल्समा स्लोभाकियन प्रधानमन्त्रीसँग भएको संयुक्त पत्रकार सम्मेलनका बेला उनलाई मेर्केलको कल आएको थियो । उनले श्रीमतिको होला भन्दै स्क्रिनमा हेरे र ‘ए, मेर्केलको रहेछ’ भनेर काटीदिए । कार्यक्रम सकिएपछि मात्र उनले कलब्याक गरे ।

जंकरलाई बोल्नमा निडर नेताका रूपमा लिइन्छ ।

पछि सो बारे आएको समाचारअनुसार लन्डनमा भएको ब्रेक्जिट डिनरको समाचार जर्मन प्रेसमा चुहिएकोमा मेर्केलले आपत्ति जनाएकी थिइन् ।

गत महिना जंकरले आफूले स्मार्टफोन प्रयोग नगर्ने बताउँदा धेरै मान्छेहरू आश्चर्यचकित भएका थिए ।