राष्ट्रसंघीय उपमहासचिवको प्रस्तावित भ्रमणमा सरकारको नामंजुरी

नेपालको तीन दिने  भ्रमणमा आउने तयारीमा रहेका राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव जेफरी फेल्टम्यानलाई तत्काल नेपाल नआउन सरकारले आग्रह गरेको छ ।

नेपाल सरकार र न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि कार्यालयसँग समन्वय नगरी एकतर्फी रूपमा भ्रमण तालिका निर्धारित गरी नेपाल सरकारलाई सूचित गरेपछि उपप्रधान तथा विदेश मामिलामन्त्री कृष्णबहादुर महराको स्तरबाट तत्काल भ्रमण ‘उत्पादक’ नहुने निर्णय लिइ नेपालस्थित राष्ट्रसंघीय कार्यालयलाई त्यसबारे जानकारी गराइएको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ ।

साउन ७ गतेदेखि तीन दिने भ्रमणमा नेपाल आउने फेल्टम्यानको तयारीबारे जानकारी प्राप्त भएलगत्तै नेपाल सरकारले हाल मुलुकमा स्थानीय तहको निर्वाचन क्रमबद्ध रूपमा भइरहेको र ७ माघभित्र प्रान्तीय र संघीय संसद्को निर्वाचनको तयारी हुँदै गरेकाले त्यो अवधिपछि मात्र यस्ता भ्रमण बढी उपयोगी हुने मन्तव्य राष्ट्रसंघको आवासीय कार्यालयलाई दिएको हो ।

केही समययता नेपाल सरकार र स्थानीय आवासीय कार्यालयबीचको सम्बन्ध चिसिएको र राष्ट्रसंघले एकतर्फी रूपमा उच्चस्तरीय भ्रमण निर्धारण गरेकोमा नेपाल खिन्न रहेको संकेतका रूपमा यो पछिल्लो कदमलाई हेरिएको छ । हालै सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा राष्ट्रसंघलाई उसले चाहेका बुथ स्वतन्त्र रूपमा ‘अब्जर्भेसन’ (अवलोकन) को अनुमति दिन सरकारले अस्वीकार गरेको थियो ।

स्मरणिय ट, नेपालमा राष्ट्रसंघअन्तर्गतका केही कार्यालय र व्यक्तिले ‘अलगाववाद’ लगायत पक्षमा खुला र गोप्य सहयोग प्रदान गरेको आरोप पनि लाग्ने गरेको छ ।