डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत

अमेरिकी संसदले डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ। अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी चिठ्ठा लगायतका चारवटा आप्रवासी सम्बन्धी विधेयक अस्वीकृत गरेको हो। सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयक अस्वीकृत भएको छ।

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले डीभी चिठ्ठा बन्द गर्ने विधेयक सिनेटमा दर्ता गराएका थिए। बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार नाम विधेयक सिनेटको बहुमतले अस्वीकृत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठा परेर गएकाहरुलाई काम नलाग्ने भन्दै आलोचना गर्दै आएका छन्। ट्रम्पले यो विधेयकमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन्।

उक्त विधेयक फेल भएपछि डीभी चिठ्ठा मार्फत अमेरिका जान चाहनेहरुलाई राहत भएको छ। डीभी चिठ्ठा मार्फत अमेरिकाले प्रति बर्ष ५० हजारका दरले आप्रवासी भित्रयाउदै आएको छ। सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन निर्माण भएयता अमेरिकाले डीभी चिठ्ठामार्फत आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ। एक तथ्यांक अनुसार अमेरिकाले पछिल्लो दश वर्षमा करिव ५ लाख आप्रवासीहरुलाई ग्रीनकार्ड दिएको छ।

एजेन्सीहरू